बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न मानव अधिकार आयोगको सरकारसँग आग्रह – Nepal Press

बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न मानव अधिकार आयोगको सरकारसँग आग्रह

काठमाडौं । कोभिड–१९ बाट उत्पन्न वर्तमान परिस्थितिमा आम नागरिकको स्वास्थ्योपचारको उपलब्धता तथा जीवनको अधिकारबाट वञ्चित हुनुपरेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय अस्पतालमा शैया र अक्सिजनको अभावमा सैयौँ व्यक्तिले मृत्युवरण गर्नुपरेको आयोगलाई विभिन्न माध्यमबाट जानकारी प्राप्त भएको जनाएको हो ।

अक्सिजनको अभावमा गत बुधबार मात्रै रुपन्देहीमा ९ जना तथा नेपालगञ्जमा ६ जनाको र विहीबार काठमाडौँका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएकोे सञ्चार अनुगमनबाट पाइएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टिकाराम पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उनका अनुसार उपत्यकाका मेडिकेयर, मेडिसिटी, ओम, हेल्पिङ ह्याण्डस, दिर्घायु, करुणा, बयोधा, मध्यपुर ठिमी, स्टारलगायतका अस्पताल तथा रुपन्देहीको युनिभर्सल अस्पतालले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने बताएको बुझिएको छ ।

महामारी शुरु भएको एक वर्ष बितिसक्दा समेत अक्सिजन आपूर्ति बढाउन नेपाल सरकारबाट सार्थक पहल नहुँदा आम नागरिकले अक्सिजनको अभावमा जीवन गुमाउन बाध्य भएको आयोगको ठहर छ । औषधि आपूर्तिको अभावमा कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा रोकिएको, भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियु), संक्रमितलाई आवश्यक पर्ने औषधि रेम्डिसिभर लगायत मेडिकल सामग्रीको अभाव हुँदै गएको र उपलब्ध औषधि तथा मेडिकल सामग्रीको पनि बिरामीले महँगो मूल्य तिर्नु परेको आयोगले अनुगमनबाट पाएको जनाएको छ ।

निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरी खाने श्रमिक पनि भोकै बस्न बाध्य भएको समाचार सञ्चारमाध्यममा प्रकाशन भइरहेको प्रति पनि आयोगको ध्यानाकर्षण भएको जनाइउको छ । यस विषयमा आयोगका सदस्य लिली थापा नेतृत्वको टोलीले नेपाल सरकारका उपप्रधानमन्त्री एवम् कोभिड–१९ संकट व्यवस्थापन केन्द्र उच्चस्तरीय समिति (सिसिएमसी) संयोजक ईश्वर पोखरेललाई भेटी ध्यानाकर्षण गराइसकेको प्रवक्ता पोखरेलले बताए ।

अहिलेको जटिल परिस्थितिमा कोभिड–१९ लगायत सबै गम्भीर प्रकारका बिरामीको स्वास्थ्योपचारको व्यवस्था मिलाउन, अस्पतालमा अक्सिजन सहितका थप शैयाको व्यवस्था मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ । यस्तै बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजनको उत्पादन तथा आपूर्ति बढाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न, कोभिड विरुद्धको दोस्रो चरणको खोपको तत्काल व्यवस्था गर्न, भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियु) लगायत मेडिकल सामग्री, खाद्यान्न तथा अत्यावश्यक सेवा र वस्तुकोे सहज आपूर्तिको व्यवस्था मिलाउन पनि आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

साथै, अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोवल उच्च राख्न, न्यून आर्जन भएका श्रमिक तथा ज्यालामजदुरी गरी जीवनयापन गर्ने वर्गको लागि जिविकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न गराउन आयोगले विज्ञप्तीमार्फत नै सरकारसँग आग्रह समेत गरेको छ ।


प्रतिक्रिया

One thought on “बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न मानव अधिकार आयोगको सरकारसँग आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर