‘ईद उल फित्र’ शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने मुख्यमन्त्री पोखरेलको भनाइ – Nepal Press

‘ईद उल फित्र’ शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणा दिने मुख्यमन्त्री पोखरेलको भनाइ

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएको बताएका छन् ।

शुक्रबार इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद)को अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले ईद पर्वले पनि समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

ईद पर्व मनाउँदा पनि कोरोनाविरुद्धको लडाइका लागि सरकारले जारी गरेका आदेश पालना गर्दै मनाउन उनले अपील गरेका छन् ।

महामारी नियन्त्रणमा सबै संयन्त्र प्रयोग

यसैबीच लुम्बिनी प्रदेशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको संघर्षमा रहेको भन्दै मुख्यमन्त्री पोखरेलले नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन र संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारको सबै संयन्त्र प्रयोग भइरहेको पोखरेलले बताए ।

‘महामारी तीव्र फैलिएकोले त्यसको नियन्त्रणका लागि सबैको सार्थक सहयोग आवश्यक छ । तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेका छन्, ’उनले भने ।

कोभिड–१९ को जोखिम न्युनिकरणका लागि यतिखेर निषेधाज्ञा र लकडाउन घोषणा गरिएको र लडकडाउनको पालना गरी कोरोनाविरुद्धको संघर्षमा नागरिकले दिएको साथ प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

‘कोभिड–१९ नियन्त्रण र उपचारमा अहोरात्र खटिएका चिकित्सकसहितका स्वास्थ्यकर्मी अग्रमोर्चामा खटिएका सबैलाई यस अवसरमा म उच्च सम्मान व्यक्त गर्दछु, ’उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर