१० दिन बाँकी हुँदा पदमुक्त भए दुई मन्त्री, सांसद नभएका को-को दोहोरिएलान् ? – Nepal Press

१० दिन बाँकी हुँदा पदमुक्त भए दुई मन्त्री, सांसद नभएका को-को दोहोरिएलान् ?

संविधानविद भट्टराई भन्छन्- संंविधानले रोक्दैन त्योभन्दा माथि संवैधानिक नैतिकता रहन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएको भए अथवा पहिलेकै सरकार निरन्तर रहेको थियो भने ओली सरकारका दुई मन्त्री जेठ १० गतेबाट स्वतः पदमुक्त हुने थिए ।

खानेपानी मन्त्री मणि थापा र युवा तथा खेलकुद मन्त्री दावा तामाङ संघीय संसदको सदस्य नभएका कारण ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाउने संवैधानिक प्रावधानका कारण पदमुक्त हुँदै थिए ।

तर, त्यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत लिन गएको र अहिले पुनःनियुक्त भएको अवस्थामा सबै मन्त्री स्वतः पदमुक्त भइसकेका छन् ।

त्यसो त माओवादीले सांसद पदबाट कारवाही गरेपछि रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पनि ६ महिनामात्र मन्त्री बन्न पाउने थिए । यद्यपी उनीहरु सांसद पदबाट मुक्त भएको अवधि अझै ५ महिना बाँकी थियो ।

अब विहीवारसम्म ओली क्याबिनेटमा रहेका ६ जना माओवादी नेताहरुको हैसियत समान भएको छ । बादल राष्ट्रियसभा सदस्यको जेठ ६ गते हुने उप-चुनावमा एमालेको उम्मेदवार छन् । एमाले एकजुट हुँदा उनी सांसद बन्ने निश्चित छ ।

संकटमा आफूलाई साथ दिएका पूर्व माओवादीलाई अलपत्र नपार्ने ओलीको नीति बमोजिम यसअघि क्याबिनेटमा रहेका सबैलाई पुनः ६ महिनाका लागि मन्त्री बनाउलान् ? यसका लागि ओली आन्तरिक छलफलमा छन् ।

टोपवहादुर, लेखराज, प्रभु साह र गौरीशंकर चौधरी ६ महिनाभित्रै हुने उप-चुनावमा एमोबाट उम्मेदवार बन्ने निश्चित छ । तर मणि थापा र दावा तामाङको हकमा भने उप-चुनावबाट आउने क्षेत्र दुवै सदनमा खाली छैन ।

दश दिनपछि मन्त्रीबाट पदमुक्त हुन लागेका मणि र दावा पुनः ६ महिनाका लागि मन्त्री बन्न संविधानले अब छेक्दैन । किनकि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बनेको यो नयाँ सरकार हो ।

संविधानविद् टीकाराम भट्टराई संविधानले मन्त्री बन्न नछेके पनि संवैधानिक नैतिकताको पश्न महत्वपूर्ण हुने बताउँछन् ।

‘संविधानले उहाँहरुलाई मन्त्री बन्न छेक्दैन तर त्यो भन्दा माथि संवैधानिक नैतिकता हुन्छ । सत्तारुढ दलसँग प्रतिनिधिसभाका पर्याप्त सदस्य भएको ठाउँमा अपवाद बाहेक बाहिरका मान्छेलाई मन्त्री बनाउनु संविधानको परिकल्पना होइन,’  भट्टराईले नेपाल प्रेससँग भने ।

प्रधानमन्त्री अहिले आन्तरिक छलफलमै छन् तर उप-चुनावबाट आउने बाहेक अरुले निरन्तरता नपाउने सम्भावना नरहेको निकट स्रोतले जनाएको छ । त्यसमा सम्बन्धित व्यक्तिहरु समेत ‘कन्भिन्स’ भएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर