सय वर्ष अगाडिको अमेरिकी नारा-  ‘मास्क लगाऊ नत्र जेल जाऊ’ – Nepal Press

सय वर्ष अगाडिको अमेरिकी नारा-  ‘मास्क लगाऊ नत्र जेल जाऊ’

१९१८ मा स्पेनिस फ्लूले अमेरिकामा ल्याएको थियो मास्क ट्रेन्ड

काठमाडौं । कोभिड–१९ विश्वव्यापी आएपछि मास्क प्रयोगको प्रचलनमा व्यापकता आयो । चीन, जापान, दक्षिण कोरिया, सिंगापुर लगायतका एसियाली देशमा मास्क लगाउने आम बानी नै छ । अमेरिकी र युरोपेलीले भने मास्क लगाउन उतीसारो मन पराउँदैनन् । कतिसम्म भने थुप्रै शहरमा मास्क बिरोधी प्रदर्शन समेत भए ।

अमेरिकी राष्ट्रपति ट्रम्पदेखि ब्राजिलका राष्ट्रपति जे बोल्सोनारोले त सार्वजनिक रुपमै मास्कको ‘काम छैन’ भन्ने आशयका उत्तेजक अभिव्यक्ति थिए । यद्यपि, कार्यकालका अन्तिम हप्तामा ट्रम्पले मास्क लगाए । बोल्सोनारोले अहिले मास्क लाएरै सार्वजनिक रुपमा उपस्थित हुन थालेका छन् ।

खास गरी मास्क लगाउने कामको नेतृत्वकर्ता अहिले पनि एसिया नै भएको तर्क अमेरिकामा छ । गत वर्ष कोरोना भाइरस आएपछि मास्क लगाएर भाइरस रोकिँदैन भन्ने तर्क केही स्वाथ्यविदले समेत गरे । पश्चिमा मिडियामा यस्तै भावका समाचार पनि आए । मास्क लगाएका एसियाली मुलका अमेरिकीमा रंगभेदी हिंसाका समाचार व्यापक सार्वजनिक भए ।

पछि त्यसलाई चिर्ने समाचार आए । जस्तै २०२० को अप्रिल २३ मा सीएनएनले लेख्यो, ‘एसिया मे ह्याब बिन राइट अबाउट कोरोनाभाइरस एन्ड फेस मास्क एन्ड दि रेस्ट अफ दि वोल्ड इज कमिङ अराउन्ड’ अर्थात ‘मास्क लगाउने र कोरोना भाइरस बारेमा एसिया सहि हुनसक्छ र बाँकी विश्व पनि सँगै आउँदैछ ।’

सीएनएनको त्यो हेडलाइनले एसियाली आमजनमानसको मास्क लगाउने बानीलाई सार्वजनिक रुपमा केहि सहज बनाइदियो । अहिले अमेरिकादेखि दक्षिण अमेरिकासम्म मास्क लगाउने प्रचलन सामान्य बनिसकेको छ ।

एसियन र एसियाली दैनिकीसँग जोडिएको मास्कको प्रयोग अमेरिका आफैंले पनि गरेको थियो । सन् १९१८ मा स्पेनिस फ्लूको विश्वव्यापी महामारीपछि यस्तो भएको थियो ।

सय वर्ष अगाडिको अमेरिकि नाराः ‘कि मास्क लाऊ नत्र जेल जाऊ’

सय वर्ष अगाडि सन् १९१८ र १९१९ मा विश्वभर महामारीका रुपमा फैलिएको थियो–इन्फ्लुइन्जा ।  यसलाई धेरैले स्पेनिस फ्लू भनेर चिन्छन । हिस्ट्री डटकमका अनुसार उक्त विश्वव्याधिमा ५ करोड मान्छेको ज्यान गएको थियो भने अमेरिकामा मात्रै ६ लाख ७५ हजारले मृत्युवरण गरेका थिए ।

फ्लूबाट जोगिन अमेरिकाले धेरै हदसम्म सचेतना अपनाएको थियो । हातमा पञ्जा लगाउने, सार्वजनिक स्थानमा नथुक्नेदेखि सार्वजनिक भेला सम्मेलन बन्द गरिएको थियो । मास्क लगाउने अनिवार्य नियम त्यहि बेला आएको हो ।

अधिकांशले सरकारले जारी गरेको नियम माने पनि विरोधीले भने मास्क लगाउने नियम पालन नगरेको हिस्ट्री डटकमले बताएको छ । कतिपयले चुरोट पिउन सहजताका लागि मास्कलाई दूलो पारेर लगाएको दि न्यु योर्क टाइम्सले उल्लेख गरेको छ । धेरैले मास्क विरोधी भेला समेत आयोजना गर्ने गरेका थिए ।

सन् १९१८ को मार्च ४ मा अमेरिकी राज्य कान्ससको फोर्ट रिलेमा रहेका १ सय अमेरिकी सैनिकमा फ्लू देखिएको दि न्यू योर्क टाइम्ले लेखेको छ ।

त्यो बेला मास्कलाई मुजल, जर्म शिल्ड र डर्ट ट्रयाप भन्ने गरिएको टाइम्ले लेखेको छ । मास्क लाउन प्रेरित गर्न विभिन्न यात्रुहरुले आफै नारा लेखेर यात्रा गर्ने गरेका थिए । जसमा क्यालिफोर्नियाको रेलयात्रुको दि न्यू योर्क टाइम्सले प्रकाशन गरेको एक तस्बिर अहिले नेपाली सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा मास्क लगाएका सात यात्रुमध्ये एकले छातीमा एक पोस्टर टाँसेकी छन् । जसमा लेखिएको छ – ‘वेयर मास्क अर गो टु जेल’ अर्थात कि मास्क लाऊ नत्र जेल जाऊ ।

मास्क नलगाउनेलाई ५ देखि १० डलरसम्म जरिवाना र १० दिनसम्मको जेल सजाय भएको दि न्यु योर्क टाइम्सकी पत्रकार क्रिस्टिन हाउसरले सन २०२० को अगस्टमा एक लामो फिचरमार्फत उल्लेख गरेकी छन् । उनका अनुसार सबैभन्दा धेरै सन् १९१८ नोभेम्बर ९ मा एक हजार जनालाई मास्क नलगाएकोमा अदालतमा हाजिर गराइएको थियो । तत्कालीन न्यायाधीश म्याथ्यु ब्राडीले उनीहरुलाई ५ डलर जरिवाना र ८ देखि १० घन्टा जेल सजाय सुनाएको समाचार तत्कालीन सनफ्रान्सिस्को क्रेनिकलले लेखेको थियो भने ५ डलर तिर्न नसक्नेलाई ४८ घन्टा जेलमा राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर