अक्सिजनको उत्पादन बढाउने सीसीएमसी निर्देशक समितिको निर्णय – Nepal Press

अक्सिजनको उत्पादन बढाउने सीसीएमसी निर्देशक समितिको निर्णय

काठमाडौं । अक्सिजनको उत्पादन बढाउने कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी) को निर्देशक समितिले निर्णय गरेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको निर्देशक समितिको मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको हो ।

अक्सिजन उद्योगमा बिना व्यवधान २४ सै घण्टा विद्युत र पानीको सुविधा सुनिश्चत गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने पनि निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता समेत रहेका सहसचिव किरणराज शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्त भएमा तत्काल अस्थायी कर्मचारी वा प्राविधिकमार्फत उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने, विदेशबाट अक्सिजन ट्यांकर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने, प्रमुख अस्पतालमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने निणर्य पनि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसीयू, एचडीयू, भेन्टिलेटर र विरामीको संख्याको तथ्यांक प्रकाशन गर्ने, उद्योगलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले तोक्ने, यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सीसीएमसीले गर्ने पनि निर्णय भएको छ । यस्तै सम्बद्ध उद्योग २४ सै घण्टा सूचारु गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाबाट काठमाडौं उपत्यका बाहिरका अक्सिजन उद्योगबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रवन्ध गर्ने, औषधी उपकरण लगायतका मानवीय सहायता हावाईमार्गबाट ल्याउने व्यवस्था मिलाउने लगायतका निर्णय पनि भएका प्रवक्ता शर्माले बताए ।

उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा बसेको बैठका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, उद्योग सचिव, औषधी व्यवस्था विभागका महानिर्देशक, स्वास्थ्य सेवा विभागका महानिर्देशक बैठकमा सहभागि थिए ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, चेम्बर अफ कमर्शका अध्यक्ष, नेपाल  उद्योग परिसंघका अध्यक्ष, अक्सिजन उत्पादक संघका महासचिव, ललितपुर महानगरपालिकाका प्रमुख, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख, मेडीसिटी अस्पतलामा निर्देशक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशकसहित चिकित्सिक एवम पदाधिकारी र वीर अस्पतालका निर्देशकसहित अन्य पदाधिकारी पनि सहभागि भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर