कोरोना नियन्त्रण र रोकथाममा पछिल्लो २४ घण्टामा सरकारले के गर्‍यो ? (सूचीसहित) – Nepal Press

कोरोना नियन्त्रण र रोकथाममा पछिल्लो २४ घण्टामा सरकारले के गर्‍यो ? (सूचीसहित)

३ हजार भन्दा बढी नेपाल भारतीय सिमानाबाट स्वदेश प्रवेश, ७२ जिल्लामा निषेधाज्ञा

काठमाडौं । गृह मन्त्रालयका अनुसार संक्रमणदर बढेसंगै देशैभरका अधिकांश प्रमुख जिल्ला अधिकारीले ६३ जिल्लामा पूर्ण निषेधाज्ञा र ९ जिल्लामा आंशिक गरेर ७२ जिल्लामा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा पालना गराउनका लागि नियमित अनुगमन भइरहेका, सुरक्षा निकायबाट चेकजाँच भइरहेको र निषेधाज्ञाका बीच अत्यावश्यक सेवा नियमित रुपमा सञ्चालन भइरहेको गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव जनकराज दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

३ हजार भन्दा बढी नेपाल प्रवेश

मंगलबार मात्र देशभरका अन्तराष्ट्रिय सिमानाकाबाट ३ हजार ८ सय १ नेपाली नागरिक नेपाल प्रवेश गरेका छन् । तर १ जना मात्र विदेशी नागरिक नेपाल प्रवेश गरेको मन्त्रालयले जनाएको हो । सोमबार विभिन्न नाकाबाट ४ हजार २ सय १९ नेपाली नागरिक र ९ जना विदेशी नागरिक नेपाल प्रवेश गरेका प्रवक्ता दाहालले बताए । मन्त्रालयका अनुसार मुलुकभर ३ हजार १ सय १९ क्वारेन्टाइन बेड संख्याको व्यवस्था गरिएकोमा पछिल्लो २४ घण्टाको अवधिमा २ सय १५ बेड मात्र प्रयोगमा आएका छन् । त्यसैगरी होटेल क्वारेन्टाइनतर्फ ५ सय ७ बेडको व्यवस्था गरिएकोमा ३ वटा बेड मात्र प्रयोगमा आएका जनाइएको छ ।

१४ जनालाई कारवाही

क्वारेन्टाइनको नियम पालना नगर्ने १४ जनालाई पनि कारवाही गरिएको छ । जसमा १३ जना सुदूरपश्चिम प्रदेशका र १ जन कर्णाली प्रदेशका रहेका छन् । कर्णाली प्रदेशमा क्वारेन्टाइन नियम पालना नगर्नेलाई जरीवानासमेत गरिएको छ ।

१६ करोड भन्दा बढीको औषधि आयात

कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि मंगलबार मात्र ५३ लाख १६ हजार ५ सय १८ रुपैयाँ बराबरको ५ लाख १६ हजार ७ सय ४५ मेडिकल उपकरण र १६ करोड ६० लाख १३ हजार ९ सय ८२ रुपैयाँ बराबरको औषधि आयात भएको भन्सार विभागले जनाएको छ । आयात गरिएका मेडिकल उपकरणमा ६० थान डिजिटल इन्फ्रारेड थर्मोमिटर, ५ लाख १६ हजार २ सय ८० फेस मास्क, १० अक्सिजन सिलिण्डर एवम ३ सय ९५ मेडिकल अर्थात सर्जिकल फर्निचर रहेका विभागका महानिर्देशक यामलाल भुसालले नेपाल प्रेसलाई जानकारी दिए ।

१४ अर्ब ४६ करोडको सहमति प्रदान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड प्रयोजनका लागि कोभिड–१९ स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजना (२०७७ फागुन–२०७८ असार) कार्यान्वयन गर्न १४ अर्ब ४६ करोडको सहमति प्रदान भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका करार कर्मचारीको तलब स्वरुप ५० लाख रुपैयाँ पनि निकासा भएको मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

९३ आन्तरिक उडान, जसबाट १ सय ४४ यात्रुको उद्धार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विभिन्न वायुसेवाले ९३ आन्तरिक उडान गरेका छन् । जसबाट १ सय ४४ यात्रुको उद्धार भएको छ । ९३ उडानमध्ये मेडिकल उद्धारको उडान संख्या भने ४१ रहेको मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव तारानाथ अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

निगमको कार्गो उडान फर्कियो

चीनबाट प्राप्त भएको अक्सिजन सिलिण्डर, भेन्टिलेटर र अक्सिजन कन्सन्ट्रेटरको पहिलो लट लिई नेपाल वायूसेवा निगमको कार्गो उडान मंगलबार दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अत्यावश्यक खाद्यान्न, औषधि एवम दैनिक उपभोगका वस्तु तथा सेवाको आपूर्ति, मौज्दाता अवस्था र त्यसको वितरण प्रणालीको नियमित अनुगमन भइरहेको जनाइको छ ।

भ्रामक सूचना सम्प्रेषण

अहिले कायम निषेधाज्ञा जारी भएपछि गलत एवम भ्रामक सूचना सम्प्रेषण गर्ने ४१ संस्थाको अनुगमन गरी लिखित जवाफ मागिएको र ध्यानाकर्षण गराइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

चीनले एक सातापछि थप सहयोग

चीन सरकारले उपलब्ध गराउने ५ करोड युआन अनुदान सहायता अन्तरगत ३ हजार ५ सय थान अक्सिजन सिलिण्डर र १० थान भेण्टिलेटर मध्ये ४ सय थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरमध्ये दोस्रो लटको १ हजार ६ सय थान अक्सिजन सिलिण्डर मे १८ तारिखमा चिनियाँ पक्षले उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी नेपाल बायु सेवा निगमको चार्टर्ड फ्लाईट उडान सम्बन्धमा चीनीयाँ पक्षलाई प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाललाई सहायता स्वरुप प्रदान गर्ने लिक्वीड अक्सिजन यथाशीघ्र काठमाडौं ल्याउन चीनियाँ दूतावाससँग समन्वय गरिएको पनि मन्त्रालयी प्रवक्ता सेवा लम्सालले नेपाल प्रेसलाई जानकारी दिइन् । उनका अनुसार चिनीयाँ पक्षले २ सय लिटर लिक्वीड अक्सिजन सहितको १ सय ५० कन्टेनर तातोपानी नाकामा यथासक्य चाडो हस्तान्तरण गर्ने जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर