तत्काल वैकल्पिक व्यवस्था नगरे अक्सिजनको ठूलो संकट देखा पर्छ: अक्सिजन उत्पादक – Nepal Press

तत्काल वैकल्पिक व्यवस्था नगरे अक्सिजनको ठूलो संकट देखा पर्छ: अक्सिजन उत्पादक

काठमाडौं । अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखा पर्ने चेतावनी दिएका छन् ।

कोभिड १९ संक्रमितको संख्या बढे संगै अक्सिजन अभावमा विरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर संञ्चालनमा समस्या भएको समाचार आईरहदा अक्सिजन उत्पादकहरुले भविश्यमा अझै ठूलो समस्या आईपर्ने चेतावनी दिएका हुन् ।

अक्सिजन उत्पादक संघका महासचिव नारायण तिमिल्सिनाले बजारमा अक्सिजनको असाध्यै ठूलो अभाव भएकाले २४ सै घण्टा प्लाण्ट चलेको अवस्थामा पनि थेग्न सक्ने अवस्था नरहेको बताए ।

उनले तत्काल सरकारले अक्सिजन आपूर्तिका लागि वैकल्पिक व्यवस्था नगर्ने हो भने यो समस्या चौगुणले वृद्धि हुने चेतावनी दिए ।

तिमिल्सिनाले सरकारले अक्सिजन आपुर्ति सहज बनाउ बाहिरबाट आयात गर्ने कि स्वदेशी उत्पादनको क्षमता वृद्धि गर्ने भन्ने बारेमा छिटो निष्कर्षमा पुग्नुपर्ने बताए ।

उनले अहिले काठमाण्डौ उपत्यकामा मात्रै ८ वटा प्लान्ट संञ्चालनमा रहेको र २ वटा प्लाण्टहरु मर्मतको क्रममा रहेको जानकारी दिदै सबै प्लाण्ट पुर्ण क्षमतामा सञ्चालन गर्दा पनि वर्तमान अवस्थामा अक्सिजनको माग थेग्न नसकिने बताए । अहिले दैनिक झण्डै ९ हजार ग्यास सिलिण्डर उत्पादन भइरहेको छ ।

सगरमाथा अक्सिजन नेपाल प्रालिका अध्यक्ष समेत रहेका तिमिल्सनाले घरमा अनावश्यक अक्सिजन स्टक नराख्न तथा घर, अस्पताल, इन्डस्ट्रिजमा भएका खालि सिलिण्डर उद्योगमा फिर्ता गरेर सर्वसाधरणको जीवन रक्षाका लागि सहयोग गर्न आव्हान पनि गरे ।

‘समयमै सबैलाई समेटेर आपुर्ति व्यवस्थापन गर्नु जरुरी देखिन्छ । हाम्रो आकलन र अहिले र्यापिड्ली बढेको कोभिड संक्रमणको अवस्थाले हाम्रो उत्पादनले थेग्ला जस्तो लाग्दैन । किनभने हरेक क्षेत्रबाट देशै भरीबाट अक्सिजनको अभावका, अस्पतालका विरामीले अक्सिजन पाएनन् भन्ने सूचनाहरु प्राप्त भईरहेको छ । यो अवस्थामा सरकारले, उद्योगीहरुले चनाखो भएर, सचेत भएर यसको व्यवस्थापन गर्नु जरुरी देखिन्छ ।’ उनले भने ।

अक्सिजन अभावमा अस्पतालमा उपचार हुन नसकेपछि सर्वसाधरण अहिले आफन्तको उपचारका लागि आफै अक्सिजन उत्पादन कम्पनिमा पुग्ने गरेका छन् । सर्वसाधरण अक्सिजनको सिलिण्डर बोकेर उद्योगमा नै जान थालेपछि अहिले उद्योगको सुरक्षार्थ सुरक्षाकर्मी नै परिचालन गरिएको छ ।

ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन नेपाल प्रालिमा दुई दिन देखि सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष गरेर सरकारले सम्बन्धीत निकायको सिफारिसमा मात्रै अक्सिजन उपलब्ध गराउन उद्योगहरुलाई परिपत्र जारी गरेपछि सर्वधारण उद्योग घेराउमा निस्किएका छन् ।

मन्त्रालयले अस्पताल बाहेक घरघरमा बसेका दीर्घरोगी, कोभिड भएर घरमै बसेर उपचार गराईरहेका विरामीको आवश्यकतालाई वेवास्ता गरेको भन्दै सर्वसाधरणहरु आक्रोशित भई अक्सिजन उद्योग घेराउमा पुगेपछि अहिले अक्सिजन उद्योगहरुमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *