पियारीको पत्रबारे दलका नेता भन्छन्– ह्वीपबारे थाहा छैन, अब पढ्नुपर्ला – Nepal Press

पियारीको पत्रबारे दलका नेता भन्छन्– ह्वीपबारे थाहा छैन, अब पढ्नुपर्ला

पोखरा । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धनलाई सघाउन जनमोर्चा सचेतक पियारी थापाले जारी गरेको ह्वीप पत्रबारे आफूहरुलाई केही जानकारी नभएको संसदीय दलका नेता कृष्ण थापाले प्रतिक्रिया दिएका छन् । थापाले आफूहरुसमक्ष ह्वीप पत्र नआइसकेको र आइसकेपछि त्यसलाई ‘पढ्ने’ बताए ।

‘आएको होला ! मलाई थाहा छैन् । आएको भए पढ्नुपर्ला,’ उनले नेपाल प्रेससँग भने । उनले ह्वीप पत्र पढिसकेपछि बल्ल मान्ने या नमान्ने थाहा हुने प्रतिक्रिया दिए ।

थापाले सोमबार संसदीय दलको बैठक बस्ने भनिएको भए पनि नबसेको जानकारी दिए । सचेतक पियारी थापाले ह्वीप जारी गरेका अर्का सांसद खिमविक्रम शाही भने सम्पर्कमा आएका छैनन् ।

यसअघि बैशाख १५ गते हुने भनिएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको मतदानमासमेत सांसद शाही ‘गायब’ भएका थिए । आफ्ना सांसद सम्पर्कविहीन भएकाले ‘खोजी गरी पाऊँ’ भन्दै सचेतक थापाले प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । उनकै निवदेनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले सदन स्थगन गरेका थिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि विपक्षी दल गठबन्धन गरेर नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् । कांगे्रस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनेगरी माओवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेका छन् ।

तर, नयाँ सरकारका लागि बनेको गठबन्धनमा जनमोर्चाका सांसदको मत बाँझिएको छ । दलका नेता कृष्ण थापा र सांसद खिमविक्रम शाही कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न तयार छैनन् । उनीहरु सुरुदेखि नै मुख्यमन्त्री गुरुङ सरकारको पक्षमा थिए । तर, सचेतक पियारी थापा विपक्षमा खुलेर लागेकी थिइन् ।

३ सदस्यीय प्रदेश सभामा जनमोर्चा निर्णायक भूमिकामा छ । जनमोर्चाले जसलाई साथ दियो उसैको सरकार बन्ने निश्चित छ । गण्डकीमा प्रदेश सरकार गठन गर्नका लागि ३१ मत आवश्यक पर्छ ।

विपक्षी गठबन्धन ३१ मत पुर्याएर नयाँ सरकार बनाउने तयारीमा जुटेको छ । प्रदेश प्रमखु सीता पौडेलले आइतबार मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

कांग्रेस–माओवादी गठबन्धन जतिसक्दो चाँडो समयसीमाभित्रै नयाँ सरकारका लागि ३१ मत पु¥याएर दाबी पेश गर्न चाहन्छ । स्रोतका अनुसार जनमोर्चाले पत्रमा हस्ताक्षर नगरेका कारण उनीहरु बहुमत पेश गर्न सकिरहेका छैनन् ।

जनमोर्चा स्रोतका अनुसार सांसद कृष्ण थापा र खिमविक्रम शाहीले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्न रुची नदेखाएपछि सचेतक पियारीले ह्विप जारी गरेकी हुन् । बागलुङ जनमोर्चाको क्षेत्र मानिन्छ । तर, त्यहाँ पनि जनमोर्चाले एक्लै जित्न सक्ने अवस्था छैन् ।

जनमोर्चाले त्यहाँ नेकपा एमालेसँग २०४८ सालदेखि गठबन्धन गर्दै आइरहेको छ । स्रोतका अनुसार सांसद कृष्ण थापा र खिमविक्रम शाही जिल्लाको राजनीतिक भविष्य हेर्न चाहन्छन् भने सचेतक पियारी थापा केन्द्रको निर्देशन मान्ने पक्षमा छिन् ।

बहुमतको सरकार बनाउन मंगलबारसम्म मात्रै समयसीमा तोकिएको छ । तोकिएको समयसीमाभित्र जुनसुकै दलले पनि आफ्नो बहुमत पेश गर्नुपर्ने हुन्छ । तर, जनमोर्चाले हालसम्म निर्णय नभएकाले विपक्षी संसकित छन् । जनमोर्चाका २ सांसदले साथ नदिएमा गठबन्धनको सरकार नबन्ने र पुनः एमाले नेतृत्वकै सरकार बन्ने सम्भावना छ ।

गण्डकी प्रदेशमा एमालेको २७, कांग्रेसको १५, माओवादी केन्द्र सभामुखसहित १२, जनमोर्चा ३, जसपा २ र स्वतन्त्र सांसद १ जना छन् । स्वतन्त्र सांसदको हैसियतमा रहेका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले एमाले सरकारलाई नै समर्थन गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर