सुनको कारोबार ठप्प, महासंघलाई २ लाख व्यवसायीको चिन्ता – Nepal Press

सुनको कारोबार ठप्प, महासंघलाई २ लाख व्यवसायीको चिन्ता

काठमाडौं । यो समय नेपाली समाजमा विहेबारीको मुख्य सिजन नै हो । पूर्वीय संस्कृतिमा विवाहलगायतका सामाजिक कार्यमा गहनाको उच्च प्रयोग हुने गरेको छ । कोरोना महामारीका कारण गत वर्ष पनि यही समयमा कोरोनाको पहिलो लहरले सुनचाँदी व्यवसाय ठप्प भयो । दोस्रो लहरका कारण देशका अधिकांश स्थानमा निषेधाज्ञा लागू हुँदा सुनचाँदी कारोबारीलाई प्रत्यक्ष असर परेको छ ।

कोभिड– १९ का कारण सुन बजार ठप्प भएपछि २ लाखभन्दा बढी व्यवसायी र कामदारको रोजगारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बताए । उनका अनुसार अहिले नेपालमा रहेका सबै सुन व्यवसायीको रोजगार गुमेको छ । साथै, व्यवसाय नभएपछि र कर्मचारीलाई कोभिडबाट जोगाउनु पर्ने चुनौती थपिएका कारण डिजाइन गर्ने कारखाना समेत बन्द भएका छन् ।

५४ वटा जिल्लामा निषेधाज्ञा भएकाले सुनका कुनै पनि पसल खुल्न सकेका छैनन् । यसैगरी, खुलेका केही हिमाली र पहाडी जिल्लाका सुन पसलमा कारोबार अत्यन्त न्यून मात्रमा हुने गरेको छ ।

निषेधाज्ञा अघि नेपालमा दैनिक २० केजी सुनको खपत हुँदै आएको थियो । यसबाट दैनिक १५ देखि १६ करोड रुपैयाँ बराबरको कारोबार हुने गरेको थियो ।

गत हप्तादेखि नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै विदेशबाट सुनको आयात पनि भएको छैन । अध्यक्ष शाक्यका अनुसार सुन आयात गर्दा सुरक्षा र बिमा गरेर ल्याइन्थ्यो । अन्तर्राष्ट्रिय हवाई सेवा बन्द भएपछि सुन आयात भएको छैन । ‘निषेधाज्ञाको समय लम्बिँदै गयो भने सुन व्यवसायीलाई पनि ठूलो समस्या पर्नेछ,’ शाक्यले भने ।

गत वर्ष कोभिडका कारण सुनको कारोबार राम्रोसँग हुन नसकेपछि राष्ट्र बैंकले सुन व्यावसायीलाई राहत प्याकेज दिएको अध्यक्ष शाक्यको भनाइ छ । उनका अनुसार राष्ट्र बैंकले सुन व्यावसायीलाई सौलियत दरमा कर्जा उपलव्ध गराएको र व्याजमा पनि छुट दिएको थियो ।

जसका कारण सुन व्यवसायीले राहत महसुस गरेको उनले बताए । गत वर्षको कोभिडको पहिलो लहरमा महासंघले देशव्यापी रुपमा सुन व्यावसायमा संलग्न नभएका व्याक्तिहरुलाई २ करोड रुपैयाँ बराबरको राहत बाँढेको पनि बताएको छ । यो वर्ष भने तत्काल राहत बाँढ्न नसकिने महासंघको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर