९ महिनामा भित्रियो २८ अर्बको तरकारी, आलु मात्र २३ करोड केजी – Nepal Press

९ महिनामा भित्रियो २८ अर्बको तरकारी, आलु मात्र २३ करोड केजी

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को गएको ९ महिनामा विभिन्न देशबाट २८ अर्ब रूपैयाँ बराबरको तरकारी नेपाल भित्रिएको छ । सोही समयमा नेपालबाट भने ५० करोड रूपैयाँ बराबरको मात्र तरकारी अन्य मुलुक निर्यात भएको छ ।

यो नौं महिनामा तरकारी आयातमा मात्र २७ अर्ब ५६ करोड ३७ लाख ११ हजार रूपैयाँ व्यापार घाटा भएको छ । नेपाली भान्सामा दैनिक पाक्ने आलु आयातको आकडा धेरै छ । भारतलगायत मुलुकबाट करिब २३ करोड केजी आलु नेपाल भित्रिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागको आँकडा अनुसार नौ महिनामा भारतबाट मात्रै २१ करोड ४२ लाख ४६ हजार ६९९ केजी आलु नेपाल भित्रिएको छ । यस्तै बंगलादेशबाट पनि १ करोड ३५ लाख ७५ हजार केजी आलु नेपाल भित्रिएको छ । चीन, इन्डोनिसियाबाट पनि आलु आयात भएको छ । आलुमा नेपालबाट करिब ७ अर्ब रूपैयाँ बाहिरिएको छ । आलु आयातमा ५४ करोड १३ लाख ९४ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।

यसैगरी, यो ९ महिनामा भारतलगायतका देशबाट ८ करोड ८८ लाख ८६ हजार ८८३ किलो प्याज नेपाल भित्रिएको छ । सबैभन्दा बढी भारतबाट प्याज आयात हुन्छ भने इजिप्ट, चीन, टर्कीबाट पनि ल्याउने गरिन्छ ।

प्याज खरिदमा ३ अर्ब ४३ करोड ३२ लाख २१ हजार रूपैयाँ बाहिरिएको छ । जसमा ३१ करोड ४६ लाख राजश्व संकलन भएको छ ।

सोही अवधिमा चीन र भारतबाट हरियो र सुकेको लसुन एक करोड १७ लाख केजी आयात भएको छ । लसुन भने भारतको तुलनामा चीनबाट बढी भित्रिन्छ । लसुनका लागि नेपालले नौं महिनामा एक अर्ब २८ करोड रुपैयाँ खर्चिएको छ ।

हरियो तरकारी ९ महिनामा सबैभन्दा धेरै फूलकोपी (काउली) नेपाल भित्रिएको छ । सो अवधिमा काउलीमात्र २१ लाख केजी आयात भएको छ । भेडे खुर्सानी २० लाख केजी, फर्सी १८ लाख केजी, सुख्खा खालका तरकारी सरदरमा ७२ लाख केजी नौं महिनामा नेपाल भित्रिएको छ । यसैगरी, गाजर, मुला, सलगम, बन्दाकोपी, मुला, काक्रो १७ लाख ११ हजार १८७ केजी, हरियो केराउ ८ लाख ८० हजार केजी आयात भएको छ ।

५ लाख केजी च्याउ भित्रिँदा भारतमा ८ करोड ६० लाख ३४ हजार रूपैयाँ बाहिरिएको छ । नेपाल कृषि प्रधान देश भनिएपनि तरकारीमा परनिर्भर हुनु दु:खद भएको अर्थविद् विमल कोइरालाको टिप्पणी छ ।

‘कृषि प्रधान देश भनेको छ । तरकारीमा नै वर्षमा अर्बौं रूपैयाँ बाहिर पठाइरहेका छौं । हाम्रो राज्यले आफ्नो प्राथमिकता ठम्याउन नै सकेन । नौं महिनामा २८ अर्ब रूपैयाँ बाहिरियो हामीले ५० करोडको पनि तरकारी पनि पठाउन नसक्नु कत्ति लज्जासपद छ,’ उनी भन्छन् ‘यस्तै हुँदे जाने हो भने कुनै दिन भारतले तरकारी र चामल नै पठाएन भने हामी भोकभोकै हुने छौं । खानेकुरा जो आफैं उत्पादन गर्न सक्छौं त्यसका लागि पनि हामी परनिर्भर हुँदै गएका छौं ।’

सरकारले आयात रोक्ने र बाँझो जमिनको प्रयोग गरेर देशमा नै उत्पादन बढाउने भन्दा पनि राजश्वमा मात्र ध्यान केन्द्रित गरेको उनको भनाइ छ । पछिल्लो समय झापामा चक्लाबन्दीमा कृषि खेती गरिने केही प्रयास भएपनि प्रशस्त तरकारी उत्पादन हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर