कोभिडबाट शंखरापुरका वडाध्यक्ष तामाङको निधन – Nepal Press

कोभिडबाट शंखरापुरका वडाध्यक्ष तामाङको निधन

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९) का कारण शंखरापुर नगरपालिका वडा नं-४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि शंखरापुर नगरपालिका वडा नं-८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए । उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं-७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ४३ वर्षीय तामाङ मधुमेह रोगबाट पीडित थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । साविकको लप्सेफेदी गाविसको वडा नं-३ निवासी तामाङ वि.सं २०७४ को निर्वाचनमा हालको शंखरापुर वडा नं-४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी काँग्रेसको वडा सभापतिसमेत थिए ।

नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना संक्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले नेपाल प्रेसलाई जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर