बिहेको बहानामा निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढ्यो (तस्विरहरु) – Nepal Press

बिहेको बहानामा निषेधाज्ञा उल्लंघन गर्ने क्रम बढ्यो (तस्विरहरु)

जनकपुरधाम । कोरोनाभाइरस संक्रमण रोकथामका लागि जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञा पालना नगर्नेविरुद्ध धनुषा प्रहरीले कारबाही अभियान चलाएको छ ।

निषेधाज्ञा अवज्ञा गर्दै घरबाट बाहिर निस्किनेको संख्या बढ्न थालेपछि यहाँको ठाउँ-ठाउँमा प्रहरीले कारबाही सुरु गरेको हो ।

सर्वसाधारणले विभिन्न बहानामा निषेधाज्ञा अवज्ञा गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीका अनुसार सर्वसाधारण कोही विहे र कोही बिरामी भएको बहानामा सडकमा निस्कने गरेका छन् ।

स्थानीय भानु चोकमा शनिबार विहान प्रहरीले बिहेको व्यानर झुण्ड्याएर भाडा कमाउने दुई चारपाङ्ग्रे गाडीलाई नियन्त्रणमा लियो, जसमध्ये एउटा कार एक चिकित्सकको छ ।

कारका चालकले ‘डाक्टरको गाडी हो’ भन्दै छाड्न प्रहरीसँग आग्रह गरे । तर, प्रहरीले विहेको व्यानर किन लगाएको भनेर सोध्दा चालकले कुनै जवाफ दिन सकेनन् । त्यसपछि प्रहरीले कारलाई होल्डमा राखे ।

त्यहाँ लगत्तै विवाहको व्यानर झुण्ड्याएको अर्को गाडी आइपुग्यो । तर, गाडीमा न जन्ती थियो न बेहुला–बेहुली । बिहेको ब्यानर राखेको उक्क्त गाडीलाई प्रहरीले जन्ती, बेहुला र बेहुलीबारे सोधेका थियो ।

तर, चालकले आफूहरु राति बिहेमा गएको र अहिले फर्केको भन्दै बहानाबाजी गरे । तर, प्रहरीले गाडी चालकको भनाईलाई पत्याएन र नियन्त्रणमा लियो ।
निषेधाज्ञापछि यहाँका उद्योग, शैक्षिक संस्था,सरकारी तथा गैरसरकारी संस्था पूर्णरुपमा बन्द छन् । समय र कोटा तोकेरै बैंक तथा वित्तिय संस्था सञ्चालन गर्न आदेश दिइएको छ ।

अत्यावश्यक बाहेकको कामको लागि सडकमा हिँड्डुल गर्न रोक लगाइएको छ । प्रदेश–२ को पर्सापछि धनुषा कोरोना संक्रमणको हटस्पट बनेको छ । केहि दिनदेखि दैनिकरुपमा सयौं संक्रमित जनकपुरमै भेटिएका छन् ।

संक्रमितको संख्या बढ्न थालेपछि आठै जिल्लामा निषेधाज्ञा लागिसकेको छ । सर्वसाधारणले भने स्वास्थ्य मापदण्ड पालना गर्न अझै आनकानी गरिरहेका छन् ।

अहिलेसम्म प्रदेशमा ४ हजार ८१० संक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमध्ये अधिकांश होम आइसोलेसनमै उपचाररत छन् ।

कतै संस्थागत आइसोलेसनको अभाव छ त कतै भर्ना नै नलिने गरेको गुनासो संक्रमितले गरिरहेका छन् । कोरोनाभाइरसबाट यस प्रदेशमा २४८ जनाको ज्यान गइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर