बुटवलमा जनप्रतिनिधि नै कोरोना संक्रमित, नियन्त्रणका लागि सहकार्य गर्न अपील – Nepal Press

बुटवलमा जनप्रतिनिधि नै कोरोना संक्रमित, नियन्त्रणका लागि सहकार्य गर्न अपील

रूपन्देही । सक्रिय संक्रमित बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले कोभिड-१९ को विश्वव्यापी महामारी विरुद्धको लडाइँमा सहकार्य गर्न र स्वास्थ्य मापदण्ड अपनाउन सार्वजनिक अपील गरेको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी उपप्रमुख  गाेमादेवी आचार्यलगायत जनप्रतिनिधि, कर्मचारी संक्रमित हुन पुगेपछि उपमहानगरले सार्वजनिक अपिलमार्फत स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेको हो ।

प्रवक्ता रामप्रसाद रेग्मीले सार्वजनिक अपील जारी गर्दै महामारी विरुद्धको लडाइँमा सहकार्य गर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् । विभिन्न वडामा जिम्मेवारीमा रहनुभएका जनप्रतिनिभि तथा कर्मचारीहरूलाई काममै दौरानमा भाइरसको संक्रमण भएको छ ।

संक्रमणको पुष्टि भएकाहरु अलग्गै आइसोलेट छ्न भने उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पनि परीक्षण सुरु भएको उपमहानगरले जनाएको छ । अरु जनप्रतिनिधि, कर्मचारीहरू अत्यावश्यक कामका लागि निरन्तर सेवाप्रवाहमा सक्रिय छन् ।

‘कोरोनाको लक्षण देखिएपछि प्रमुख शिवराज सुवेदी होमआइसोलेसनमा बस्नुभएको छ र उहाँको स्वाबको परीक्षण भइरहेको छ । उपप्रमुख गुमादेवी आचार्य संक्रमित भएर केही दिनदेखि घरमै आइसोलेशनमा हुनुहुन्छ र स्वास्थ्यकर्मीसंगको परामर्शमा स्वास्थ्यलाभ गरिरहनुभएको छ । यो भाइरसमा संक्रमणमा पर्नुभएका नगरका जनप्रतिनिधि, कर्मचारी, नागरिकहरु सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं’ अपीलमा भनिएको छ ।

अहिलेको यो विषम परिस्थितिमा संयमित हुन, स्वास्थ्य मापदण्डको पालना गर्न र आत्मबल बलियो बनाउन समस्त नगरबासीहरुसमक्ष अपिल गरिएको छ । महामारीका विरुद्ध गरिएको निषेधाज्ञाको पालना गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर स्वनियममा बस्न पनि उपमहानगरले सम्पूर्ण नगरबासीहरुमा अनुरोध गरेको छ । स्वास्थ्य समस्या उत्पन्न भएमा उपमहानगरमा रहेका स्वास्थ्य संस्थामा उपलव्ध सेवा लिनुहुन र स्वास्थ्यसंग सम्बन्धित आवश्यक निर्देशनहरुको पालना गर्न उपमहानगरले आग्रह गरेको छ ।

महामारीका विरुद्ध साझा लडाइँको र उच्च आत्मबलको खाँचो छ ।

संक्रमित र उपचारमा खटिरहेका स्वास्थ्यकर्मीहरुको आत्मबल बढाउने खालका सूचना प्रवाहमा केन्द्रित हुँदै महामारी विरुद्धको लडाइँलाई सफल बनाउने काममा हातेमालो गर्न उपमहानगरले सार्वजनिक अपिलमार्फत् नगरबासीहरुमा आग्रह गरेको छ ।

कोरोना संक्रमणकै कारण बुटवल वडा नं. ७ का वडा सदस्य नवीन थापाको शुक्रबार बिहान निधन भएको छ । उपमहानगरमा करिब २५ सय सकृय संक्रमित पुगेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर