जनताको जीवनभन्दा ठूलो राजनीति हुँदैन – Nepal Press

जनताको जीवनभन्दा ठूलो राजनीति हुँदैन

‘मेरा पिताजीका डायलासिस कराना हे, लेकिन अस्पताल नही कर रहा है, मेरी मा कोभिड पोजेटिभ हे, वो अक्सिजन के लिए लडप रही हे, लेकिन अक्सिजन नही मिल रहा हे, मे अठार सालकी अकेली लड्की हु, मे क्या करु ?’

‘मेरे पिताका अस्पातलमे अक्सिजन नपाने से देहान्त होगया, अगर एक सिलिण्डर भी अक्सिजन मिलता तो वो जिन्दा रह सक्ता था ।’

‘मेरे पति स्वास लेनेके लिए अस्पतालमे तडप रहा हे । लेकिन वहां उनके लिए अक्सिजन नही है । मै क्या करु ?’

‘मेरी बुढी माँ और बाप दोनो मे कोभिड पोजेटिभ हे, वो दोनो उपचार के लिए लडप रहे हे, लेकिन किसि भि अस्पताल उनको भर्ना लेनेके लिए तैयार नही है । मै क्या करु ?’

यी माथिका पंक्ति भारतीय टेलिभिजनका चर्चित हस्ती रजत शर्माले पढेर सुनाएका केही प्रतिनिधि सन्देश मात्रै हुन् । उनले यी र यस्ता दुःख र दर्दले भरिएका हजारौ म्यासेजहरू दिन प्रतिदिन प्राप्त गरिरहेका छन् । उनले समाचारमा भनेका यी सन्देश र देखाएका हृदय विदारक दृश्यहरुले भारतमा कोरोनाले कुन हद सम्मको दुर्दशा निम्ताईरहेको छ भन्ने कुराको सहज अनुमान गर्न सकिन्छ ।

चाहे एउटा श्रीमतीले अक्सिजनको अभावले आफैंले मुखबाट श्वास दिदै गरेको तर उनको श्रीमानको मृत्यु भएको दृश्य होस् । अक्सिजन अभावमा जीवन र मरणको दोसाँधमा संघर्ष गरिरहेको बिरामी होस् वा परिवारका प्यारो सदस्य गुमाएको पीडाले छाति पिटेर रोइरहेको दृश्य होस् । यी सबै भावविव्हल र स्तब्ध बनाउने खालका छन् । परिवारका सम्पूर्ण सदस्यहरुको मृत्यु भएर दाहसंस्कार गर्ने एकजना पनि जीवित नभएको खबर पनि आफैमा एउटा मनै रुवाउने परिघटना हो । वास्तवमा म ती दुःखद समाचारहरु टेलिभिजनमा हेरेर म सुत्नको निम्ती बिछ्यौनमा त गए, तर निदाउन सकिन ।

मेरा मन मस्तिष्कमा अनन्त कुराहरु खेले र म धेरै बेरसम्म भावनाको अथाह सागरमा टोलाईरहे । मैले सोचें, भोलिका दिनमा नेपालमा पनि भारतमा जस्तै परिस्थिति भए के होला ? कसरी हाम्रो देशले त्यस्तो महासंकटको सामना गर्ला ? हाम्रो देशको अस्पताल, स्वास्थ्यकर्मी, अक्सिजन, औषधी तथा अन्य साधन स्रोतले त्यो भयावह अवस्थालाई थेग्न सक्ला ? कि कतै नेपालमा पनि भारतमा जस्तै अस्पतालमा शैया, अक्सिजन, औषधी नपाएर मानिसहरुकले अकाल मृत्युवरण गर्न पर्ने त होईन ? भन्ने अनेकन प्रश्नहरुले मलाई लगातार घोचिरहे ।

मैले नेपालमा रहेका आफ्ना परिवार, नातागोता, ईष्टमित्र र समग्र नेपाली आमा बुवा, दाजु भाई, दिदी बहिनी र बाल बालिकाहरुलाई सम्झे । निकट भविश्यमा आउन सक्ने विकराल परिस्थितिको कल्पनाले भित्रभित्रै निकै चिन्तित बने ।

म सबैलाई यो कुरा गहिरोसँग मनन गर्न अनुरोध पनि गर्दछु । हामी सबै नागरिकले स्वास्थ्य नियम पालना गर्यौ भने सरकारलाई पनि यस रोग नियन्त्रणको लागि सहयोग पुग्छ ।

जीवनको उत्तरार्द्धमा बाचिरहेका बुवाआमाको अनुहार लगातार मानसपटलमा नाचिरह्यो र कथं कदाचित उहाँहरुलाई कोरोना भयो भने उपचार गर्न लैजाने परिस्थिति पनि नबन्ने हो कि भन्ने चिन्ताले ठूलो तनाव दियो । छोराछोरी सबैजसो विदेशमा भएको र नेपालमा भएका आफन्तजन तथा छर छिमेकले चाहेर पनि केहि गर्न नसकि कतै बृद्ध बुवा आमाको बेहाल त हुने होईन भन्ने डरले असाध्यै पीडाबोध भयो । अन्तर्राष्ट्रिय उडानको समस्याले तत्काल नेपाल आउजाउ गर्न पनि सम्भव नहुने कुराले त झन् पर्नुसम्म पीर पर्‍यो ।

मेरो मात्र होइन हजारौ वृद्ध बुवा आमाहरू,उनीहरूका छोराछोरीहरू विदेशिएकोले नेपालमा एक्लै बस्न बाध्य छन् । यो हाम्रो अहिलेको नेपाली समाजको तितो यथार्थ हो । छोराछोरीहरु पनि नेपालमा उपयुक्त अवसरको अभावले गर्दा जीवनयापन र परिवारको सुख र समृद्धिको लागि विदेशिनु परेको कुरा पनि कटु सत्य हो । सामान्य अवस्थामा संसारको कुनैपनि कुनाबाट बढीमा २४ घण्टाभित्रै आफ्नो देशमा पुगेर जस्तोपनि सहयोग गर्न सक्ने प्रवासी नेपालीहरु अहिले चाहेर पनि स्वदेश फर्कन सक्दैनन् । उनीहरू केबल आफन्तहरुलाई स्वास्थ्य लाभको कामना गर्दै कठिक दिनहरु व्यतित गर्न विवश भएका छन् ।

हालमा विश्व मानव जीवनले भोग्नु परिरहेको कोरोनाको त्रासदी वास्तवमै अत्यन्त दुःखदायी छ । संसारभर लाखौं मानिसको ज्यान लिईरहेको यो महामारीले हामीलाई कहिले सम्म सताई रहने हो ? केही ठेगान छैन । ठूला-ठूला स्वास्थ्य विज्ञहरुले पनि यो रोग कसरी र कहिले पूर्णरुपमा हराएर जान्छ, भन्न सक्ने अवस्था छैन । वास्तवमा यो समय हामी सबैको लागि अत्यन्त चुनौतिपूर्ण र कठिन समय हो । यसमा हामी सबैले साहस र धैर्यका साथ अगाडि बढ्नुको विकल्प छैन । सबैले स्वास्थ्य सम्बन्धी नियम पालना गर्दै यस रोगबाट बच्नको निम्ति हरसम्भव उपाय अपनाउनु नै आजको आवश्यकता हो । सकेसम्म रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमत्तापूर्ण काम हो ।

म सबैलाई यो कुरा गहिरोसँग मनन गर्न अनुरोध पनि गर्दछु । हामी सबै नागरिकले स्वास्थ्य नियम पालना गर्यौ भने सरकारलाई पनि यस रोग नियन्त्रणको लागि सहयोग पुग्छ । सरकारले पनि यस कोभिडको नियन्त्रण, रोकथाम र बिरामीको उपचारको लागि यथाशिघ्र बढी भन्दा बढी पहल गर्नुपर्दछ । नागरिकलाई सचेत गराउने, आईशोलेशन र क्वारेन्टीनलाई व्यवस्थित गर्ने, बढी भन्दा बढी कोभिड जाँच गर्ने, संभावित औषधी र अक्सिजन अभाव हुन नदिन उपायहरु खोज्ने, अस्पातालमा आवश्यक शैयाहरुको व्यवस्था मिलाउने, खोप दिने कामलाई अझै प्रभावकारी बनाउने कुरामा सम्पूर्ण रुपमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।

यी सबै कुराको मुख्य नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्दछ । उहाँको कुशल नेतृत्व र निर्णय क्षमताबाट नै यो रोगको महामारी नियन्त्रणमा तात्विक योगदान पुग्न सक्दछ । आवश्यकता अनुसार अन्तर्राष्ट्रिय समुदायसँग संयोजन र आवश्यक सरसहयोग जुटाउने कुरामा पनि उहाँ स्वयंको अग्रसरता नै बढी लाभदायी र परिणाममुखी हुन सक्दछ । देश र जनतालाई अप्ठेरो परेको बेलामा कुशल नेतृत्व दिन सक्नु नै नेताको क्षमता हो । मलाई आशा छ यस कुरामा हाम्रा प्रधानमन्त्रीज्यू खरो उत्रनुहुनेछ । कतै यसमा चुक्नुभयो भने र सयौं नेपालीले अकालमा उपचारबिना मर्नुपर्ने भारतको नियति दोहोरियो भने यसले उहाँको नेतृत्व क्षमतामा ठुलो प्रश्न चिन्ह खडा गर्ने नै छ ।

अन्त्यमा, देशमा जनताको जीवन रहेमात्रै राजनीति रहन्छ । जनता र जीवन नै नरहे के को राजनीति र कस्को लागि राजनीति ? त्यसैले अहिले कुनैपनि पार्टीका नेता तथा कार्यकर्ता जुनसुकै सिद्धान्त र वादमा विश्वास गरेपनि त्यो सबैकुरा भन्दा धेरै माथि उठेर सम्पूर्ण रुपमा मानवीय सम्वेदनालाई बोकेर यस रोगसँग लड्नको निम्ति एकताबद्ध हुनुपर्छ । अनेक प्रकारका राजनितिक चलखेललाई बन्द गर्ने, राजनितिक असहमति र विवादलाई थाति राख्दै व्यक्तिगत स्वार्थ भन्दा धेरै माथि उठी यो मानवीय संकटबाट पार पाउन सबैले आ-आफ्नो तर्फबाट हातेमालो गरौं । यसैमा सबैको कल्याण छ, चेतना भया ।

(लेखक अष्ट्रेलियाको क्यनबेरा कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी, क्यानबेराका प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत  हुन् । )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *