राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ? (सूचीसहित) – Nepal Press

राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ? (सूचीसहित)

कांग्रेस, माओवादी र माधव पक्ष मिल्दा एमालेको बहुमत खण्डित

काठमाडौं । वैशाख १० गते बसेको नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए- ‘राष्ट्रियसभाको जेठ ६ गते हुने वागमतीको उपचुनावमा रामबहादुर थापा ‘बादल’ नै हाम्रो उम्मेदवार हो ।’

दुई साता नबित्दै बिहीबार बसेको स्थायी कमिटी बैठकमा मत विश्लेषण गरेरमात्र उम्मेदवारका रूपमा बादललाई अघि बढाउने छलफल भयो । माधव नेपाल पक्षले कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको उपेन्द्र बाबुराम पक्षसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवार खडा गरेपछि एमालेले आफ्नो मत विश्लेषण गर्न लागेको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन् । त्यस हिसाबले वागमतीमा एमालेको एकल बहुमत रहे पनि माधव पक्षले विपक्षी पार्टीसँग गठबन्धन गरेर अलग उम्मेदवार खडा गरेपछि अब एमालेको संस्थापन पक्षमा उभिने जनप्रतिनिधिको टाउको गन्नु पर्ने अवस्था आएको छ ।

गोप्य मतदान भएकाले केही मत तलमाथि पनि हुनसक्छन् वागमती प्रदेशका १३ जिल्लामध्ये स्थानीय तहमा एमालेले बहुमत नै जितेको थियो । नेपाल प्रेसले केही दिन लगाएर सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिको एमालेभित्रको गुट आवद्धता छुट्याउँदा रसुवा र भक्तपुरबाहेक सबै जिल्लामा माधव पक्षको उपस्थिति छ ।

भक्तपुरमा चाँगुनारायणका मेयर सोम मिश्र समेत अघिल्लो महिनादेखि संस्थापन पक्षमा लागेपछि माधव पक्षका मेयर उपमेयर छैनन् । रसुवामा पनि केही दिनअघिमात्र उत्तरगयाकी उपाध्यक्ष चमेली गुरुङ संस्थापन पक्षको बैठकमा उपस्थित भएपछि माधव पक्ष निल भएको छ ।

प्रत्येक प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान रहेको छ । प्रत्येक स्थानीय तहका प्रमुख वा उपप्रमुखको मत बराबर १८ मतभार गणना हुन्छ ।

ती बाहेक दोलखामा सबैभन्दा एकजना उपाध्यक्षमात्र माधव पक्षमा देखिएकी छन् भने माधव पक्षका सबैभन्दा बढी जनप्रतिनिधि सिन्धुपाल्चोकमा छन् । त्यस्तै धादिङ र मकवानपुरमा पनि माधव पक्षको उल्लेख्य संख्या छ भने चितवन लगायत केही जिल्लाका कतिपय स्थानीय तहका जनप्रतिनिधि दुवै पक्षमा खुलेका छैनन् ।

यसबीचमा एमालेले जिल्ला कमिटीहरूलाई स्थानीय तहका जनप्रतिनिधिको भेला गर्न दिएको निर्देशन बमोजिम जनप्रतिनिधिलाई संस्थापन पक्षमा खुलाउने प्रयास भइरहेको नेताहरू बताउँछन् । काठमाडौंमा मंगलबार भएको भेलामा माधव नेपाल पक्षमा र वामदेवको एकता अभियानमा संलग्न रहेका जनप्रतिनिधि पनि संस्थापन पक्षमा खुलेका छन् ।

एमाले नेता तथा प्रदेशभा सदस्य नारायण सिलवालले भने, ‘अब द्विविधा छैन सूर्य चिन्हधारी एमाले हुने कि, गोलाकारभित्रको हँसिया हथौडाधारी एमाले हुने भन्ने रोजाइमात्र बाँकी रहेको छ । केही साथीहरू हिजो प्रचण्ड-माधव पक्षमा लागे पनि अहिले सूर्यको पक्षमा उभिनुभएको छ, थप संख्या बढ्दैछ ।’

एमालेका दुवै पक्षले स्थानीय तहका जनप्रतिनिधिलाई आ-आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । एकाध बाहेक अन्य एउटा एउटा गुटमा खुलिसकेका कारण एमालेको हिसाब लगभग प्रष्टै छ । प्रदेशसभाका सदस्यहरू यसअघि नै आ-आफ्नो कित्तामा उभिइसकेका छन् ।

कतिपय स्थानीय तहका एमालेका जनप्रतिनिधि भने सूर्य चिन्ह जता हुन्छ त्यतै लाग्ने भन्दै बसेका थिए । उनीहरूले अब सूर्यचिन्हधारी उम्मेदवारलाई नै भोट हाल्नेछन् । संस्थापन पक्षले माधव नेपाल पक्षका जनप्रतिनिधिसँग संवाद सघन बनाएको महासचिव ईश्वर पोखरेलले स्वीकार गरेका छन् ।

पोखरेलले भने, ‘हामी हाम्रो पार्टीबाट जितेका सबै तहका जनप्रतिनिधिहरूसँग संवाद र छलफल गर्दैछौं । पार्टीको उम्मेदवार जिताउनु सबैको कर्तव्य हो । एमालेका उम्मेदवारलाई भोट नदिएर माओवादीको चुनाव चिन्हमा भोट हाल्ने कुरा कल्पना गर्न सकिन्न । सबै जनप्रतिनिधिहरू पार्टीको पक्षमा उभिनेछन्, त्यस अनुसार पार्टीले आवश्यक निर्णय गर्नेछ ।

यो पनि पढ्नुहोस् : राष्ट्रियसभा उपचुनाव बजेटअघि नै, कुन पार्टीका कति छन् मतदाता ? (सूचीसहित)

माधव नेपाल पक्षका नेता समेत रहेका वागमती प्रदेश सभा सदस्य समेत रहेका अरुण नेपाल भने पार्टी माथिबाटै नमिलेसम्म तलका जनप्रतिनिधिलाई कन्भिन्स गर्नुको अर्थ नहुने बताउँछन् । अध्यक्ष केपी ओलीले पहल गरेमा अझै पनि मिलनविन्दु कायमै रहेको उनको भनाइ छ ।

नेता नेपालले नेपाल प्रेससँग भने, ‘अहिलेकै अवस्थामा केपी कमरेडले उठाएका उम्मेवार हार्छन् । पार्टीलाई माथिबाटै नमिलाएसमम तलबाट केही हुन्न । एमालेको एकता बचाउने अवसरका रूपमा पनि यो चुनावलाई प्रयोग गरौं, एउटा बैठक २०७५ जेठ २ अघिको एमालेको राखौं, त्यसपछि नयाँ कमरेडहरूलाई थपेर आयोजक कमिटी बनाए हुन्छ ।

यस्तो छ दलगत मतभार

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख एवं उपप्रमुख मतदाताका रूपमा रहने व्यवस्था छ । यद्यपि सबै मतदाताको मतभार समान भने छैन ।

प्रत्येक प्रदेशसभा सदस्यको मत बराबर ४८ मतभार गणना हुन्छ । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख दुवैको मतभार समान रहेको छ । प्रत्येक स्थानीय तहका प्रमुख वा उपप्रमुखको मत बराबर १८ मतभार गणना हुन्छ ।

वागमती प्रदेशमा नेकपा एमाले मतभारका आधारमा पहिलो पार्टीका रूपमा रहेको छ । एमालेसँग प्रदेशसभाका ५७ जनाको २ हजार ८ सय ३६ र स्थानीय तहका १ सय ३३ जनाको २ हजार ३ सय ९४ मतभार रहेको छ । दुवै जोड्दा एमालेसँग कुल ५ हजार १ सय ३० मतभार रहेको छ ।

नेपाली कांग्रेससँग प्रदेशसभातर्फ १ हजार ५६ र स्थानीय तहतर्फ १ हजार २ सय २४ गरी कुल २ हजार २ सय ८० मतभार रहेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रसँग प्रदेशसभातर्फ १ हजार १ सय ४ र स्थानीय तहतर्फ ५ सय ९४ गरी कुल १ हजार ६ सय ९८ मतभार छ ।

वागमती प्रदेशमा विवेकशील साझासँग १ सय ४४, नेपाल मजदूर किसान पार्टीसंग १ सय ३२ , राष्ट्रिय प्रजातन्त्र पाटीसँग १ सय ३२ र जनता समाजवादी पाटीसंग ६६ मतभार रहेको छ ।

शतप्रतिशत मत खसेको र राजनीतिक दलभित्र ‘फ्लोर क्रस’ नभएको अवस्थामा नेकपा एमालेको एकल बहुमत रहेको छ । एमाले एक्लैको मतभार ५ हजार १ सय ३० हुँदा अरु सबै एकातिर हुँदा पनि विपक्षमा ४ हजार ४ सय ५२ मतभार रहेको छ ।

एमालेको माधव नेपाल पक्षले उम्मेदवार नै अर्को उठाइसकेको अवस्थामा ती सबै मत एकै ठाउँमा नखस्ने निश्चित छ । एमाले एकजुट हुँदा सबै दलको भन्दा एमालेको मतभार ६ सय ७८ ले बढी हुन्छ । तर, अब त्यो सम्भावना टर्दै गएको छ,र माधव नेपाल पक्ष एमालेका उम्मेदवार हराउन सक्ने मतभार बोकेर बसेको छ ।

माधव नेपाल पक्षको मतभार

नेपाल प्रेसले विभिन्न जिल्लाबाट प्राप्त गरेको तथ्य र सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँगको कुराकानीका आधारमा एमालेका १३३ जना स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये ३८ जना प्रमुख तथा उपप्रमुख माधव नेपाल पक्षमा खुलेका छन् । यो भनेका ६ सय ८४ मतभार हो ।

त्यस्तै ५७ जना प्रदेशसभा सदस्यमध्ये २२ जना माधव नेपाल पक्षमा प्रष्ट खुलेका छन् । यो भनेको १ हजार ५६ मतभार हो । जुन मतभार एमालेका आधिकारिक उम्मेदवारलाई हराउन पर्याप्त हुन्छ ।

माधव पक्षका यी मतदाता अर्को पक्षमा लाग्दा नेकपा एमालेको मतभार ५ हजार १ सय ३० बाट घटेर ३ हजार ३ सय ९० मा पुग्नेछ ।

स्थानीय तहका १० जना एमालेका प्रमुख उपप्रमुख यसबीचमा दुवै पक्षसँग समदूरीमा छन् । सिन्धुपाल्चोक र चितनवका केही जनप्रतिनिधि दुवैतिर सम्पर्कमा छन् । उनीहरूको मतभार १८० छ ।

माधव पक्षको प्रदेशसभातर्फको मतभार तथा स्थानीय तहतर्फको मतभार गरी कुल १ हजार ७ सय ४० मतभार हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर