लुम्बिनीका अस्पतालमा संक्रमितको चाप, उपचारका लागि पालो कुर्नुपर्ने – Nepal Press
कोरोना कहर

लुम्बिनीका अस्पतालमा संक्रमितको चाप, उपचारका लागि पालो कुर्नुपर्ने

रूपन्देही । वैशाखको शुरूआतदेखि बढेको कोरोना महामारीको दोस्रो लहर चौथो सातासम्म आइपुग्दा रुपन्देहीमा भयावह देखिन थालेको छ । दिनप्रतिदिन संक्रमितको चापले अस्पतालको क्षमताले बिरामी थेग्न छाडेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट बुधबार मात्र १३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । सक्रिय संक्रमित ४ हजार ९ ५५ पुगेको छ । बढी जनघनत्व भएको बुटवल, तिलोत्तमा, भैरहवा, सैनामैनामा बढी संक्रमित देखिएका छन् र मृत्युदर पनि त्यो क्षेत्रमा बढी छ । स्वास्थ्य कार्यालय रूपन्देहीले विभिन्न अस्पतालमा २०७ जना गम्भीर अवस्थाका संक्रमितहरू उपचाररत रहेको जनाएको छ ।

संक्रमितका लागि बनाइएका बुटवल र भैरहवाका दुई कोरोना विशेष अस्पतालमा क्षमताभन्दा दोब्बर बिरामीको उपचार भइरहेको छ भने निजी अस्पताल पनि भरिएका छन् । शय्या अभावमा सिकिस्त बिरामीलाई समेत भुइँमै राखेर उपचार गर्न बाध्य भएको अस्पतालका अधिकारीहरू बताउँछन् ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भीम अस्पतालमा विरामीहरूको अत्यधिक चाप बढेपछि बिरामीले नै ल्याएका लत्ताकपडा ओछ्याएर उपचार भइरहेको छ ।

भीम अस्पतालमा बिरामी चाप थेग्नै नसक्ने अवस्था आएपछि संक्रमित अस्पतालको पिँढीमै छट्पटाइरहेका छन् । आफन्तको हारगुहारपछि स्वास्थ्यकर्मीले भुइँमा र अस्पतालको पिँढीमा राखेर जेनतन अक्सिजन त दिएका छन् तर रेखदेख गर्ने स्वास्थ्यकर्मी छैनन् ।

अस्पतालमा कोभिडका लागि छुट्याइएका आईसीयू, भेन्टिलेटर र एचडियू बेड मात्रै होइन, इमरजेन्सी कक्षका बेडसमेत खाली छैनन् । संक्रमितले बेड पाउनै ३/४ दिन पालो कुर्नु पर्ने अवस्था छ ।

५ दिन कुरेपछि बल्ल एउटा बेड पाएको तिलोत्तमाका संक्रमित कमला मरासिनीका पति केशवले बताए । ‘सकेसम्म त अस्पताल कसैलाई आउन नपरोस् । बेड अभाव छ जनशक्ति केही छैन । हामीजस्ता कुरुवालाई समेत संक्रमणको खतरा छ’, उनले भने ।

रुपन्देहीमा अहिलेसम्म २३२ संक्रमितको मृत्यु भएको छ । बिरामीको चापका बीच अस्पतालको क्षमताले भ्याएसम्म उपचारमा कुनै कसर बाँकी नराखेको प्रवक्ता डाक्टर नारायण पोखरेल बताउँछन् ।

‘कोभिड कक्षमा संक्रमितको उपचार थेग्न नसकेपछि आकस्मिक कक्षमा उपचार शुरू गरेका थियौ, त्यो पनि भरिसकेको छ संक्रमित अस्पताल भर्नाको लागि आउने क्रम जारी रहेको छ ’, उनले नेपाल प्रेससँग भने ।

अस्पतालमा अहिले ४० जना कोभिडका बिरामी उपचार गराइरहेका छन् । कोभिड कक्षतर्फ ४, आईसीयूमा, १८ जना एचडीयूमा छन् भने बाँकी आकस्मिक कक्षमा उपचाररत् छन् । भएको जनशक्तिले कोभिडको उपचार गरेपनि अहिलेसम्म फिजिसियन आएका छैनन्, ८ जना मेडिकल अफिसर १४ जना सिस्टर र कार्यालय सहयोगीबाट उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

डा. पोखरेलले बेडमा रहेका ‘बिरामी संक्रमणमुक्त भएपछि वा मृत्यु भएपछि बल्ल अर्कोले बेड पाउने’ तीतो यथार्थ सुनाए । यहाँ २५ बेडको एचडीयू, ५ बेडको आईसीयू र ४ भेन्टिलेटर छन् । एचडीयू र आईसीयूका सबै बेड भरिएपछि ११ जनालाई भुइँमै उपचार थालिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवलस्थित कोरोना विशेष अस्पतालका सबै बेड भरिएका छन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना अस्पतालको ३६ बेडको एचडीयू, १५ बेडको आईसीयू र ७ बेडको फिवर क्लिनिक समेत भरिएर इमर्जेन्सीमा राखेर उपचार गरिएको बताए ।

निजी अस्पतालमा पनि उस्तै भीड

लुम्बिनी प्रादेशिक र भीम अस्पतालसंगै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस), मणिग्रामको क्रिमसन अस्पताल र देवदह मेडिकल कलेजले पनि कोरोना संक्रमितहरूको लागि बेड छुट्याएर नै उपचार शुरू गरेका छन् ।

यूसीएमएसमा अहिले पनि एचडीयूमा ५५, आईसीयूमा २ भेन्टिलेटरमा ७ जना संक्रमितको उपचार भईरहेको छ । त्यस्तै इमर्जेन्सी आइसोलेसनमा ३१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँ अक्सिजनसहितका १४७ बेड छुट्टयाएकोमा अक्सिजन अभाव हुन थालेपछि बिरामी भर्ना गर्न नसकिएको अस्पतालले जनाएको छ ।

मणिग्रामस्थित क्रिमसन अस्पतालले पनि कोभिडको लागि छुट्याएका सबै बेडमा संक्रमितले भरिएका छन् । अस्पतालले १० बेडको एचडीयू, ५ बेडको सीसीयू र एउटा भेन्टिलेटर कोभिडका विरामीको लागि छुट्याएको जनाएको छ । ती सबै बेडहरू विरामीले भरिएका छन् । त्यस्तै देवदह मेडिकल कलेजमा पनि चारजना संक्रमितको उपचार भइरहेको छ ।

संक्रमित बढ्दै जांदा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले कोभिडका विरामीहरूको उपचारको लागि अस्थायी अस्पताल बनाउने योजना अगाडि सारेको छ । बुधवारमात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेका भोजप्रसाद श्रेष्ठले कोभिड संचालनको लागि बुटवलका केही भौतिक संरचनाहरू हेरिएको र तत्काल सर्वपक्षीय छलफल राखिएको बताए ।

‘हाम्रो पहिलो काम नै कोभिड नियन्त्रण र बिरामीको उपचार हुनेछ, अहिले संचालनमा रहेका अस्पतालले चाप थेग्न नसक्ने भइसकेका छन्, छिट्टै अरु कुनै भौतिक संरचनामा भएपनि बिरामीहरूको उपचार गर्ने प्रबन्धमा जुट्ने छौं ’,

स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी वैशाख शुरूसँगै गाउँघरमा विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता गतिविधिले संक्रमण फैलिनुमा टेवा पुगेको अनुभव सुनाउँछन् ।

दैनिक ८०० सिलिण्डर अक्सिजन माग

रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले कम्तीमा पनि दैनिक ८०० अक्सिजन सिलिण्डर सहज आपूर्तिका लागि सहयोग र समन्वय गरिदिन अपिल गरेको छ । बिरामीको चापलाई थेग्न अस्पतालले तयारी अवस्थामा रहेको थप ६० वेडको एचडीयूसमेत सञ्चालन गर्न असमर्थ हुनुपरेकोले सहयोग र समन्वय गरिदिन संघीय, प्रदेश र स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारकर्मीलगायत सबै पक्षसंग युसीएमएसले अपिल गरेको हो ।

भारतमा कोरोनाको महामारी, स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा, अनपेक्षित अघोषित लोडसेडिङले अक्सिजनको उत्पादनमा कमी आएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर