उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोनाको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन – Nepal Press

उपप्रधानमन्त्री पोखरेलद्वारा कोरोनाको उपचार सहज बनाउन कैलालीका सीडीओलाई निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कैलालीमा कोरोना भाइरसका कारण उत्पन्न पछिल्लो परिस्थिति बारे जानकारी लिएका छन् ।

कैलालीमा कोरोनाका बिरामीहरुले उपचार नपाएको, शव व्यवस्थापन नभएको जस्ता गुनासो आएपछि उपप्रधानमन्त्री पोखरेलले आज कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई टेलिफोन गरी जानकारी लिएका हुन् ।

संकटको अवस्था रहेकाले जनताले अनुभुति गर्ने गरी राज्यको उपस्थिति जनाउन, जनताको राहतको महसुस गराउन र सरकारले गरेका निर्णयलाई कार्यान्वयनमा प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको पोखरेलको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई सदूरपश्चिमको समन्वय गर्नका लागि तोकेको जानकारी गराउँदै उपप्रधानमन्त्री पोखरेलले समस्या परे सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सम्पर्क गर्न निर्देशन पनि दिए ।

उपप्रधानमन्त्री पोखरेलले सिमा नाकाको व्यवस्थापन, गेटा मेडिकल कलेजमा निर्माण होल्डिङ सेन्टर र कोरोना विशेष अस्पताल निर्माणका विषयमा भएका प्रगतिका बारेमा पनि सिडियोसँग जानकारी लिएका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले गेटा मेडिकल कलेजमा करिब दुई हजार जना अट्ने होल्डिङ सेन्टर, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टर बनाइरहेको जानकारी दिए । त्यसका लागि धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई संयुक्त व्यवस्थापनको जिम्मा दिइएको जानकारी उनले गराए ।

उपप्रधानमन्त्री पोखरेलले अक्सिजन ग्यासको दुरुपयोग रोक्नुपर्ने भन्दै धनगढीको अक्सिजन प्लान्टको क्षमता बढाउन आवश्यक परे सीसीएमसीले सहयोग गर्ने बताए ।

खाद्यान्न तथा अत्यावश्यक सामाग्रीको ढुवानी बाहेक सिमामा आवातजावतमा कडाइ र निगरानी गर्न पनि उनले निर्देशन दिनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि टेलिफोन गरी कोरोनाका बिरामीको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर