लकडाउनमा दिइने सेवाबारे बैंकहरूको यस्तो छ तयारी – Nepal Press

लकडाउनमा दिइने सेवाबारे बैंकहरूको यस्तो छ तयारी

काठमाडौं । सरकारले कोभिड-१९ दोस्रो लहर शुरू भएको भन्दै बिहीबारबाट काठमाडौं उपत्यकासहित प्रभावित ठाउँमा लकडाउन घोषणा गरेको छ ।

अत्यावश्यक वस्तु तथा सेवा बाहेकका अन्य क्षेत्रहरूमा प्रतिबन्धात्मक बन्देज लगाएको छ । सरकारले वित्तीय सेवालाई अतिआवश्यक वस्तु तथा सेवाको सूचीमा राखेपनि निषेधाज्ञाको अवधिमा बैंकिङ सेवा कसरी सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बेंकर्स संघले जनाएको छ ।

बुधवार ९ बजे बस्ने बैंकर्स संघको बैठकले सञ्चालनको मोडालिटी तय गर्ने संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।

‘बैंक कसरी सञ्चालन गर्ने भन्ने बिषयमा सबैसंग सुझाव मागेका छौं । प्राप्त सुझावबारे भोली छलफल गरेर निर्णय लिन्छौं’ दाहालले नेपाल प्रेससँग भने । जिल्ला प्रशासन कार्यालयहरूको पत्र प्राप्त भएपनि सरकारको निर्णयको व्यहोरा प्राप्त नभएकाले आवश्यक निर्णय गर्न ढिलाई भएको उनले बताए । मन्त्रिपरिषदको निर्णय आज प्राप्त हुने भन्दै उनले बैंकिङ सेवा नरोकिने गरी लकडाउनमा पनि प्रभावकारी सेवा दिने प्रयास गरिने जानकारी दिए ।

‘अत्यावश्यक सेवा भएकोले बैंकिङ सेवा सुचारु राख्ने र लकडाउनमा पनि प्रभावकारी बनाउने गरी निर्णय लिन्छौं’, दाहालले भने ।

मन्त्रिपरिषद्ले बैकिङ क्षेत्र सञ्चालनका लागि विशेष व्यवस्था नगरेपनि न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर सेवा सुचारु गर्ने बैंकहरुको तयारी छ । कोभिड १९ का लागि आवश्यक स्वास्थ्य मापदण्डहरू कडाईका साथ लागू गर्न राष्ट्र बैंकले गत वैशाख ६ गते नै ९ बुँदे निर्देशन जारी गरिसकेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले राष्ट्र बैंकको निर्देशन पालना हुनेगरी बैंकहरुले सेवा सुचारु गर्नेबारे आफैं निर्णय लिनसक्ने बताए । सरकारले बैंकिङ सेवाबारे थप निर्णय गरे स्वतः कार्यान्वयनमा आउने ढकालले जानकारी दिए ।

वैशाख ६ को निर्देशनमा के थियो ?

नेपाल राष्ट्र बैंकले बैशाख ६ गते कोरोना महामारीको दोस्रो लहर बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूलाई ९ बुँदे स्वास्थ्य प्रोटोकल कडाइका साथ लागू गर्न निर्देशन जारी गरेको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न केन्द्रीय बैंकले निर्देशनमा उल्लेख गरिएको छ । निर्देशनमा बैंकमा ग्राहकको भौतिक उपस्थिति कम गराउन डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भनिएको छ । कोरोना संक्रमण फैलिन सक्ने भन्दै एटीएम बुथमा सेनिटाइजर र टिस्यूपेपर अनिवार्य राख्न भनिएको छ । गोष्ठी सेमिनारहरू भर्चुअल रूपमा गर्नपनि सूचित गरिएको छ ।

बैंकका कर्मचारीहरुमा कोभिड संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गरी संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन र ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका कर्मचारीलाई क्वारेन्टिनको व्यवस्था गर्न समेत राष्ट्र बैंकले निर्देश गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर