गण्डकीमा पनि अक्सिजन पर्याप्त, सिलिण्डर अभाव – Nepal Press

गण्डकीमा पनि अक्सिजन पर्याप्त, सिलिण्डर अभाव

जसरी पनि सिलिण्डर व्यवस्था गर्ने सरकारको प्रतिवद्धता

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचारका पर्याप्त मात्रामा अक्सिजन भए पनि सिलिण्डरको अभाव खड्किएको छ । यद्यपि, गण्डकी प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा कक्सिजनको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । प्रदेशमा पर्याप्त अक्सिजन भएको र सिलिण्डर थप्नका लागि पनि पहल भइरहेको भन्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालमा अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेको हो ।

गण्डकीका ११ वटै जिल्लामा अक्सिजन उत्पादन सुरु भइसकेको र यसले महामारीलाई थेग्न पुग्ने सामाजिक विकास मन्त्री नरदेवी पुनमगर बताउँछिन् ।

‘गण्डकीमा हामी अक्सिजनकै कारण क्षति व्यहोनुपर्ने अवस्था नआओस् भन्नेमा हामी सचेत छौं,’ सामाजिक विकासमन्त्री मगरले नेपालप्रेससँग भनिन्, ‘गण्डकीका ११ वटै जिल्लाका १२ वटा अस्पतालमा अक्सिजन पर्याप्तमात्रामा व्यवस्था भइसकेको छ ।’

गण्डकीका ११ वटा जिल्लामध्ये मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजाको मातृशिशु अस्पतालमा अक्सिजन उत्पादन सुरु भइसकेको छ । मध्यविन्दु, लमजुङ र गोरखाले पनि तयारी अवस्थामा छन् । जिल्ला अस्पताल मनाङले पनि आवश्यक सामान किनेको र तयारी गरिरहेको मन्त्री मगरले बताइन् ।

‘संक्रामक रोग अस्पताल पोखरामा पनि अक्सिजन उत्पादनका लागि १ करोड रुपैयाँ बजेट छुट्याएका थियौं । त्यो ९० लाख रुपैयाँमा टेन्डरमा गएको छ । त्यहाँ पनि आजभोलिमा काम सुरु गर्नुहुन्छ । त्यहाँ पनि खासमा पहिल्यै अक्सिजन उत्पादन सुरु भइसक्ने हो । तर, टेन्डर प्रक्रियामा गइसकेपछि ढिलाइ भएको हो’ उनी भन्छिन्, ‘हामीले आज (सोमबार) पनि बिहान छलफल गरेका थियौं । गण्डकीमा २ वटा निजी अक्सिजन प्लान्ट छन्, उनीहरुसँग कुरा गर्यौं । तयारी कस्तो छ ? सिलिन्डरको अवस्था के छ त्यसै विषयमा अनुगमन गर्यौं । अहिले हामीसँग अभाव भएको सिलिन्डरमात्रै हो । अहिले हामीसँग १ सय २५ केजीएफ सिलिन्डर छ । तर, यतिले हामीलाई पर्याप्त हुँदैन । हामी तप सिलिन्डर ल्याउने विषयमा कुराकानी गरिरहेका छौं । ’

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशमा पछिल्लो एकहप्तामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ । पछिल्लो एकहप्तामै ४ जना कोरोना संक्रमितले गुमाइसकेका छन् ।

कोभिडको नयाँ प्रजाति ‘युके भेरियन्ट’ प्रवेश सँगै अहिले देशमा कोरोना महामारी दोस्रो चरणमा प्रवेश गरेको छ । कोरोनाको बद्लिँदो लक्षणसँगै यसलाई थप जटिल रुपमा विज्ञहरुले अथ्र्याइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर