एउटै टि–२० इनिङमा नेपाली ब्याट्सम्यानले हाने १९ छक्का, विश्व रेकर्डमा छैटौं – Nepal Press

एउटै टि–२० इनिङमा नेपाली ब्याट्सम्यानले हाने १९ छक्का, विश्व रेकर्डमा छैटौं

काठमाडौं । त्रिकोणात्मक सिरिज अन्तरगत नेपाल र मलेसियाबीच आज जारी टि–२० म्याचमा नेपालले आक्रामक ब्याटिङका साथ १९ छक्का प्रहार गरेको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले लगातार दोस्रो म्याचमा २०० को आँकडा कटायो । नेपालको इनिङमा कुनै पनि ब्याट्सम्यानले अर्धसतक बनाएनन् ।

तर, सबैले खुलेर खेल्दै आ–आफ्नो तर्फबाट योगदान दिएका थिए । नेपाली ब्याट्सम्यानहरुबीच कसले धेरै छक्का हान्ने भन्ने प्रतिस्पर्धाजस्तै चलेको थियो । सबैभन्दा विष्फोटक इनिङ चाहिँ करण केसीले खेले ।

सातौं नम्बरमा क्रिजमा करण आउँदा नेपाल ५।२ ओभरमा १४८ रनमा खेलिरहेको थियो । उनले सुरुबाटै विपक्षी बलरमाथि धावा बोल्न थाले । आफूले सामना गरेको तेस्रो बलमा पहिलो छक्का हानेका करण त्यसपछि रोकिएनन् ।

४५ रनको इनिङ खेल्दा उनले ३ रन मात्रै दौडेर बनाएका थिए । साथै, उनले एउटा पनि चौका हानेनन् । १७ औं ओभरमा मात्रै करणले ४ वटा छक्का हानेका थिए ।

नेपालका अन्य ब्याट्सम्यानहरुले पनि आज छक्काको वर्षा नै गरे । ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले क्रमश २ र ३ छक्का हानेका थिए । तेस्रो नम्बरमा आएका कप्तान ज्ञानेन्द्र मल्ल पनि आक्रामक अन्दाजमा देखिए ।

उनले उनले ४ छक्का प्रहार गरे । यस्तै दिपेन्द्र सिंह ऐरीले १ र कुशल मल्लले २ छक्का हानेका छन् । नेपालले चौका भने ९ वटा मात्रै हानेको थियो ।

अन्तर्राष्ट्रिय टि–२० को रेकर्ड हेर्ने हो भने एउटै इनिङमा सर्वाधिक २२ छक्का प्रहार भएको छ । अफगानिस्तानले २०१९ मा भएको खेलमा आयरल्यान्डविरुद्ध सो रेकर्ड राखेको हो ।

वेस्ट इन्डिज, इन्डिया र अष्ट्रेलियाले २१ छक्काको रेकर्ड राखेका छन् । त्यसपछि स्कटल्यान्डको नाममा २० छक्का छ । १९ छक्कासहित छैटौंमा रहेको नेदरल्यान्ड्ससँग नेपालले बराबरी गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *