गोकर्ण विष्टसहित माधव पक्षधर ८ सांसदलाई किन सोधिएन स्पष्टीकरण ? – Nepal Press

गोकर्ण विष्टसहित माधव पक्षधर ८ सांसदलाई किन सोधिएन स्पष्टीकरण ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमवार मध्यराति २ बजेसम्म पनि बालुवाटारमा आफूनिकट नेताहरुसँग बसेर ‘फ्लोर क्रस’ गर्ने तयारीमा रहेका माधव नेपाल पक्षधर सांसदहरूको सूची बनाउँदै थिए ।

उनले केही दिनयता लगातार माधव नपाल पक्षका धेरैजसो सांसदसँग टेलिफोन र भेटेरै कुराकानी गरेका थिए । स्पष्टीकरण माग्ने सूची बनाउने बेलासम्म पनि उनी कतिपय सांसदहरुलाई कित्ता प्रष्ट पार्न टेलिफोनमै आग्रह गरिरहेका थिए ।

‘अब माधव नेपालले अलग्गै पार्टी बनाइसक्नुभयो, एमालेबाट जितेको हुनाले तपाईंलाई अन्तिम मौका छ कित्ता प्रष्ट पार्नुस् । पार्टीको पक्षमा उभिने हो भने आउनुस् होइन भने बाटो लाग्ने त छँदैछ । अब पार्टीले यो अवस्था धेरै समय सहँदैन । ’ ओलीको भनाइ उदृत गर्दै माधव नेपाल पक्षका एक सांसदले भने ।

प्रतिनिधिसभामा एमालेका १२१ सांसदमध्ये माधव नेपालको पक्षमा आइतवारसम्म ३५ जना थिए । कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवालीसहित ३८ जना सांसद एमाले ब्युँतिदासम्म माधव नेपाल पक्षमा थिए । नेपाल पक्षकै लालबाबु पण्डित र शेरवहादुर तामाङ त्यसअघि नै संस्थापन पक्षमा लागेका थिए ।

मंगलवार स्पष्टीकरण सोधिने सांसदहरुको सूचीमा नेपाल पक्षका ८ जना सांसदको नाम नदेखिएपछि सो समूहमै खैलाबैला मच्चिएको छ । त्यसमा प्रभावशाली नेता गोकर्ण विष्टको समेत नाम छैन ।

नेपाल पक्षमा प्रत्यक्ष निर्वाचित २३ जना सांसद रहेकोमा गुल्मीका गोकर्ण विष्ट, सुर्खेतका ध्रुव शाही र दैलेखका राजबहादुर बुढालाई स्पष्टीकरण माग्न आवश्यक नदेखिएको ओलीनिकट एक नेताले बताए । उनीहरूसँग प्रधानमन्त्रीले कुराकानी गरेपछि स्पष्टीकरण नमागिएको ती नेताको भनाइ छ ।

नेपाल पक्षमा १२ जना समानुपातिक सांसद रहेकोमा ५ जना स्पष्टीकरणबाट जोगिएका छन् । बिना बुढाथोकी मगर, गंगा चौधरी सतगौंवा, समिना हुसेन, कलिला खातुन र पार्वती बिसुंखेलाई स्पष्टीकरण सोध्न आवश्यक नदेखिएको एमाले स्रोतले जनाएको छ ।

पार्टीको पक्षमा उभिने अवस्थामा उनीहरूलाई उचित जिम्मेवारी दिइने ती नेताको भनाइ छ । स्पष्टीकरण सोधिएका अन्य सांसदले पनि एमालेको आधिकारिक निर्णयका पक्षमा उभिन आए उनीहरूलाई कारवाही नहुने मुख्य सचेतक विशाल भट्टराईले बताए ।

स्पष्टिकरण नसोधिएका सांसदले यसबीचमा माधव नेपाल पक्षका समानान्तर गतिबिधिमा सहभागिता जनाएको खण्डमा कारवाही प्रक्रिया कुनै पनि बेला अघि बढाउन सकिने एमाले स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर