त्रिकोणात्मक सिरिजः नेदरल्यान्ड्सलाई नेपालले दियो २०७ रनको विशाल लक्ष्य – Nepal Press

त्रिकोणात्मक सिरिजः नेदरल्यान्ड्सलाई नेपालले दियो २०७ रनको विशाल लक्ष्य

काठमाडौं । कुशल भूर्तेलको कीर्तिमानी अर्धशतकप्रेरित नेपालले ट्राई ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान टस जितेर ब्याटिङ रोजेको नेपालका लागि उत्कृष्ट फर्ममा रहेका कुशलले आक्रामक ब्याटिङ गर्दै लगातार तेस्रो खेलमा अर्धशतक बनाए ।

सिरिजमा जमेको ‌ओपनरद्वय आशिफ शेख र कुशलको साझेदारी सुरुआती दुई खेलमा जस्तो आज चल्न सकेको थिएन । शून्यमा अर्का ओपनर आशिफलाई गुमाएको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले कुशलसँग ७८ रनको साझेदारी गरेका थिए ।

आशिफको कमी महसुस हुन नदिएका दीपेन्द्रले पनि ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए । उनले ३० बलमा ३ चौका र ५ छक्कासमेत प्रहार गरेका थिए ।

यसअघिका दुई खेलमा (नेदरल्यान्ड्सँग ६१, मलेसियासँग ६१) अर्धशतक बनाएका कुशलले ४६ बलमा ८ चौका र १ छक्कासहित ६२ रनको इनिङ खेले ।

त्यस्तै, कुशल मल्लले ७ बलमा ३ छक्कासहित १८ तथा सोमपाल कामीले १३ रनको योगदान गरे । त्यसअघि कप्तान ज्ञानेन्द्र मल्लले १४ बलमा २ चौका र १ छक्कासहित २० रन बनाएर पेभेलियन फर्केका थिए । विकेटकिपर ब्याट्सम्यान ७ र सोमपाल कामी २१ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका लागि भिभियान किङ्मा र कप्तान पिटर सिलाले २/२ तथा बस दी लिड र आर्यन डटले १/१ विकेट लिए । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले पराजित गरेको नेपाल यो खेलमा जित हासिल गर्दै फाइनलमा पुग्न चाहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *