‘स्योरसट’ हुनेबित्तिकै ओली सरकार ढाल्छौं : देउवा – Nepal Press

‘स्योरसट’ हुनेबित्तिकै ओली सरकार ढाल्छौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्भावना सुनिश्चित हुनासाथ सरकार ढालिने बताएका छन् ।

नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले आफू ओली सरकार ढाल्न प्रयासरत रहेको बताए । ‘यो सरकार ढाल्ने नै हो । तर अझै सम्भावना सुनिश्चित भएको छैन । स्योरसट हुनासाथ सरकार ढाल्छौं । स्योरसट त हुनुपर्‍यो नि’, देउवाले भने ।

उनले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको र जसपा कोतिर उभिन्छ भन्ने प्रष्ट नभएकोले आफूले ‘स्टेप’ नलिएको बताए । ‘अहिले माओवादीले समर्थन गरिरा’छ । मधेशवादी दलको पनि भर छैन । राजनीतिक सम्भावनाको खेल हो । सरकार ढल्ने सम्भावना छ तर अझै स्योरसट भाछैन’, देउवाले भने ।

उनले नयाँ वर्षमा मुलुकले केपी ओली नेतृत्वको सरकार र कोरोनाबाट उन्मुक्ति पाउनैपर्ने बताए । ‘ यो वर्ष ओली सरकारको कुतन्त्र र कोरोनाको कहरबाट हामीले मुक्ति पाउनुपर्छ’, देउवाको भनाइ थियो ।

उनले निर्वाचनका बेला प्रधानमन्त्री ओलीले आफूलाई निकै राष्ट्रवादी देखाएर भोट बटुलेपनि अहिले भारतको ‘टाङमुनि’ छिरेको टिप्पणी समेत गरे ।

‘हिजो चुनावको बेलामा ओलीले भारतको विरोध गर्थे । तर अहिले भारतकै टाङमुनि छिरेका छन् । नक्कली राष्ट्रवाद अब धेरैदिन टिक्दैन’, देउवाले भने । उनले पार्टीभित्रका समस्या समाधान गर्न र सबैलाई मिलाएर लैजान आफू प्रयासरत रहेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर