क्यानले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा अवैध सट्टेबाजीको विज्ञापन – Nepal Press

क्यानले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा अवैध सट्टेबाजीको विज्ञापन

काठमाडौं । आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको ट्राई नेसन्स ट्वान्टी–२० सिरिजको दौरान नेपाल क्रिकेट संघ (क्यान)ले अवैध सट्टेबाजीको विज्ञापन तथा प्रोमोसन गरेको पाइएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र नेदरल्यान्ड्सबीचको खेल चहिलरहँदा मैदानमा र बाउन्ड्री लाइन वरिपरी नेपालको कानुनले पूर्ण रूपमा बर्जित गरेको अनलाइन सट्टेबाजी कम्पनी डाफा बेटको विज्ञापन गरिएको छ ।

नेपालको कानुनले सट्टेबाजी, ग्याम्बिल्ङि लगायतका कुरालाई पूर्ण रूपमा निषेध गरेको छ । तर, करिब डेढ वर्षपछि नेपालमा फर्किएको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजनाका दौरान क्यानले कानुन मिचेर अवैध धन्दाको विज्ञापन गर्नु कानुन विपरित भएको अभिवक्ता बाबुराम अर्याल बताउँछन् ।

‘नेपालको कानुनले सट्टेबाजी गर्न पूर्ण रूपमा निषेध गरेको छ । र, कानुनले निषेधक गरेका कुनै पनि कुराको कुनै पनि माध्यमबाट विज्ञापना तथा प्रोमोसन गर्नु कानुनको उल्लंघन गर्नु हो,’ अधिवक्ता अर्यालले नेपाल प्रेससँग भने ।

तर, क्यानले भने सट्टेबाजी अवैधानिक हो भन्ने जान्दा जान्दै पनि लापर्बाही गरेको सचिव अशोकनाथ प्याकुरेलको भनाइबाट प्रष्ट हुन्छ । अवैध धन्दाको विज्ञापनबारे प्रश्न गर्दा क्यानका सचिव प्याकुरेल यसबारे प्रतियोगिताको आयोजनाको जिम्मा पाएको कम्पनी ‘जोरा स्पोर्ट्स म्यानेजमेन्ट’ले नै विज्ञापन खोजेको र यसबारे उनीहरुसँग कुरा भइरहेको बताउँछन् ।

‘हामीले यसको वैधानिकताबारे जोरा स्पोर्ट्ससँग पनि कुरा गरेका छौं,’ सचिव प्याकुरेल भन्छन्, ‘हटाउनु पर्यो भने हामी तुरुन्तै हटाउँछौं ।’

काुननी रोकावट आए तुरुन्त विज्ञापन हटाउन तयार रहेको बताउने क्यान अवैध धन्दाको विज्ञापन गर्नु अगाडि यसबारे पुरै उदासहीन रहेको सचिव प्याकुरेलको भनाइबाट प्रष्ट हुन्छ ।

‘हामीले एक पटक जोरा स्पोर्ट्ससँग यसबारे कुरा गरेका पनि थियौं । तर, यो कम्पनीले गर्ने कार्य नेपालमा अवैध भए पनि यहाँबाट गर्न नसकिने भएकाले खासै फरक नपर्ला भन्ने कुरा आयो,’ प्याकुरेलले भने ।

क्यानका सचिव प्याकुरेलको कुरा सुन्दै अचम्म लाग्दो होइन र ? यदि कुनै कम्पनीले यहाँ विज्ञापन गरेर कुनै फाइदा छैन वा नेपाल उसको बजार होइन भने किन नेपालमा विज्ञापन गर्छ ?

हो, यो त आँखामा छारो हाल्ने बहाना मात्रै हो । पछिल्लो समय नेपालको सरोकारवाला निकाय निदाइरहँदा अवैध सट्टेबाजी मौलाइरहेको छ । वान् एक्स बेट, बेट ३६५, लगायतका कम्पनीले अवैध रूपमा नेपालमा बेटिङ सञ्चालन गरिरहेको र यसको प्रोमोसन पनि गरिरहेका घटना बाहिरिरहेका छन् । तर, यसबारे सरकारी निकायको उदासहीनताले मौन समर्थनको संकेत गर्छ । जसको फलस्वरुप दिनै पिच्छे नेपाललाई बेटिङको ‘फर्टाइल ल्यान्ड’ बनाउन नयाँ–नयाँ कम्पनी आइरहेका छन् ।

त्यसमाथि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताबाटै यस्ता कार्यको विज्ञापनले झन् यो अवैध कार्यलाई सघाउ पुग्ने अनुमान सजिलै गर्न सकिन्छ । त्यसमाथि विज्ञापनको मोहरा नै क्रिकेट जस्तो खेलको सर्वोच्च निकाय क्यान हुनुले यसलाई कुन हदसम्मको ‘पिक अप’ दिन्छ, त्यो आगामी दिनमा देखिने छ ।

तर, नेपालको कानुनले नै निषेध गरेको सट्टेबाजीको विज्ञापन गर्नु सरासर अपराध हुने नेपाल विज्ञापन संघका अध्यक्ष सोम धिताल बताउँछन् ।

‘नेपालको कानुनले नै सट्टेबाजी–बेटिङ वा ग्याम्ब्लिङलाई निषेध गरेको छ,’ उनले नेपाल प्रेससँग भने, ‘क्यान जस्तो निकायले यस्तो कुरालाई विज्ञापन गर्दा यस्ता धन्दाले अझै हौसला पाउँछन् । कानुनले नै बर्जित गरेको कार्य गर्न र त्यसाको प्रोमोसन गर्न नेपाल भित्र रहेको कुनै पनि नागरिक होस् वा संस्था कसैले पनि पाउँदैन । यदि त्यसो भयो भने, त्यसमा कानुन आकर्षित हुन्छ ।’

‘डाफा बेट’को विज्ञापन वैधानिक कि अवैधानिक बुझ्न एक कल फोन पर्याप्त हुने भए पनि क्यानले यसबारे कुरा भइरहेको भन्नु आफू पन्छिन खोज्नु हो भन्दा खासै फरक नपर्ला ।

यसबारे क्यान अनविज्ञ हो भनौं भने त्यो पनि होइन । ‘कुन कुराको विज्ञापन गर्ने, कुन कुराको नगर्ने भन्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को ‘कोड’ नै छ,’ क्यानका सचिव प्याकुरेल भन्छन्, ‘त्यसले नसमेटेका कुराहरु राष्ट्रको संविधानले पनि समेट्छ । जुन देशमा प्रतियोगिता हुने हो, त्यो देशको कानुन पनि पूर्ण रूपमा पालना गर्नुपर्छ ।’

के हो ‘डाफाबेट’ ?

डाफाबेट फिलिपिन्सको मकाती बेस्ड अनलाइन बेटिङ कम्पनी हो । यसले अनलाइन क्यासिनो तथा स्पोटर््स ग्याम्ब्लिङ गर्दै आएको छ ।

नेपालमा पछिल्लो समय धारा प्रवाह चलिरहेको वान् एक्स बेट जस्ता कम्पनीमाथि सरकारी निकाय मौन रहनुले यसलाई पनि नेपाल भित्रिन प्रेरित गरेको सहजै अनुमान लगाउन सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर