ब्राजिलको केस स्टडीः समयमा कोरोना पहिचान नहुँदा रित्तियो एक आमाको कोख – Nepal Press

ब्राजिलको केस स्टडीः समयमा कोरोना पहिचान नहुँदा रित्तियो एक आमाको कोख

विश्वमा कोरोना भाइरसको महामारी सुरु भएको १ वर्षभन्दा बढी समय व्यतित भइसक्यो । विभिन्न देशहरुमा अहिले कोरोनाको दोस्रो लहरले लपेटिरहँदा सबैभन्दा बढी क्षति दक्षिण अमेरिकी देश ब्राजिलले भोगिरहेको छ ।

कोरोनाबाट मृत्यु हुनेहरुको आँकडा अन्य देशहरुको तुलनामा ब्राजिलमा निकै उच्च छ । कोरोना भाइरसको संक्रमणले बालबालिकालाई धेरै असर नगर्ने प्रक्षेपणविपरीत यहाँ अहिलेसम्म कोरोनाकै कारण १ हजार ३ सयभन्दा बढी बालबालिकाले मृत्युवरण गरेका छन् ।

ब्राजिलकी जेसिका रिकर्तेको एक वर्षका छोरालाई कोरोना संक्रमण हुनसक्ने अनुमान त्यहाँको स्थानीय चिकित्सकले अस्वीकार गरिदिएका थिए । बच्चामा कोरोनासँग मिल्दोजुल्दो लक्षण नदेखिएको ती चिकित्सकको दावी थियो । तर, दुई महिनापछि उनले कोरोना संक्रमणकै कारण आफ्नो छोरा गुमाइन् ।

पेशाले शिक्षिका जेशिकाले लगातार दुई वर्ष आफ्नो प्रजनन क्षमताको उपचार गरे पनि असफल थिइन् । एकदिन अचानक उनी गर्भवती भइन् ।

‘उसको नाम प्रकाशसँग जोडिएको थियो । किनभने ऊ हाम्रो जीवनमा एक प्रकाशको रुपमा थियो । उसमा हामीले त्यो खुसी देखेका थियौं, जसको हामीलाई कल्पना नै थिएन,’ आफ्नो छोराबारे जेसिका भन्छिन् ।

उनले आफ्नो छोरा लुकसलाई भोक नलाग्ने समस्या थाहा पाइन् । लुकस पहिले राम्रोसँग खाना खान्थे । जेसिकाले सुरुमा दाँत आउने समय भएकाले त्यस्तो भएको हो कि भन्ने सोचिन् । तर नर्ससमेत रहेकी उनकी धाइआमाले घाँटीमा एलर्जी भएको हुनसक्ने आंकलन गरिन् । त्यसको केही समयपछि लुकसलाई ज्वरो आउन थाल्यो र स्वास लिन समस्या हुन लाग्यो ।

जेसिकाले छोरालाई अस्पताल लगिन् र कोरोना परीक्षण गर्न अनुरोध गरिन् । उनी भन्छिन्, ‘डाक्टरले अक्सिमिटर (रगतमा भएको अक्सिजनको मात्रा) मार्फत हेर्दा उसको स्तर ८६ प्रतिशत थियो । र मलाई थाहा छ कि त्यो साधारण नतिजा होइन ।’

तर ज्वरो धेरै नभएका कारण चिकित्सकले कोभिड परीक्षणको आवश्यकता नरहेको बताए । सायद घाँटीको एलर्जीका कारण समस्या भएको हुनसक्ने भन्दै चिन्ता नलिन भने ।

चिकित्सकले बच्चालाई कोरोना संक्रमण निकै दुर्लभ भएको भन्दै केही एन्टीबायोटिक दिएर घर फर्काइदिए । १० दिन औषधिको डोज पूरा गरेपछि बालकलाई निको हुँदै गयो । तर उसमा थकानको नयाँ समस्या देखियो । कोरोनाकै कारण यसो भएको भनेर फेरि चिन्ता हुन थाल्यो ।

उनी भन्छिन्, ‘मेरो छोराका भिडियो मैले नर्स, आफ्ना परिबारका सदस्यलाई पठाएँ । उनीहरुले उल्टै मलाई छोराको धेरै चिन्ता नलिन सुझाए । उनीहरुले सोचेका थिए कि टेलिभिजनमा धेरै समाचार हेरेर म भ्रममा परिरहेको छु । तर मलाई महसुस भइरहेको थियो, मेरो छोरोलाई स्वास फेर्न कठिन भइरहेको छ ।’

यो मे २०२० को कुरा हो । जतिबेला कोरोना भाइरसको महामारी लगातार फैलिरहेको थियो र उत्तर-पूर्वी ब्राजिलको तम्बोरिलको सिएरा शहरमा २ जनाको निधन भएको थियो । जेसिकाका पति इजरायल अर्को अस्पतालमा जाँदा आफैंलाई संक्रमण हुने चिन्तामा थिए । तर छोराको बिमारी घट्नुको सट्टा बढिरहेको थियो । ऊ धेरै समय सुत्न थाल्यो । जून महिनाको ३ तारिखमा उसले खाना खानेबित्तिकै वान्ता गर्‍यो । जेसिकाले तत्काल अस्पताल पुर्‍याइन् र उसको कोरोना परीक्षण भयो । उसको कोरोना नतिजा ‘पोजेटिभ’आयो ।

अधिकांश बालबालिकामा एमआईएसको अवस्था

जेसिकाकाअनुसार त्यतिबेला त्यस अस्पतालमा भेन्टिलेटर थिएनन् । लुकसलाई सोवरालको पेडिएट्रिक इन्सेन्टिभ केयर युनिट (आईसीयू) मा पठाइयो । जो त्यहाँबाट दुई घण्टाको दूरीमा थियो । त्यहाँ गएपछि थाहा भयो उनको छोरामा मल्टी सिस्टम इन्फ्लेमेन्ट्री सिन्ड्रोम (एमआईएस) को बिमारी रहेछ ।

यो यस्तो स्थिति हो जहाँ भाइरसको विरुद्धमा रोग प्रतिरोधात्मक क्षमता लगभग शून्यको अवस्थामा पुग्छ । जसका कारण शरीरका महत्वपूर्ण अंगहरुले काम गर्न असमर्थ हुन्छन् । विशेषज्ञका अनुसार यो अवस्था ६ साताभन्दा धेरै उमेरका बालबालिकामा कोरोना संक्रमण भएपछि आउनसक्छ । यद्यपि यो निकै दुर्लभ हो ।

तर साओपाउलो विश्वविद्यालयकी महामारी रोग विशेषज्ञ फातिमा मारिन्होका अनुसार उनले महामारीका क्रममा अहिलेसम्म एमआईएसबाट पीडित धेरै बिरामी देखेकी छन् । तर, सबै मृत्युमा यही अवस्था जिम्मेदार भने छैन ।

लुकसलाई जव अस्पताल भर्ना गरियो, त्यो कोठामा जेसिकालाई बस्ने अनुमति थिएन । उनले त्यहाँ आफ्नो नन्दलाई पनि बोलाइन् ।

‘हामी मेसिनको टूँट्-टूँट् आवाजमात्र सुन्न सक्थ्यौं । केहि समयपछि मेसिन बन्द हुन्थ्यो । केही मिनेटपछि फेरि बज्न सुरु हुन्थ्यो,’ उनले भनिन् ।

सोबरालको आईसीयूमा लुकसलाई एक महिनासम्म उपचार गरेकी बालरोग विशेषज्ञ म्यानुएला मोन्टेले आश्चर्य व्यक्त गर्दै भनिन्, ‘लुकसको स्थिति निकै नै चिन्ताजनक थियो । तर उसमा यस्तो गम्भीर लक्षण हुनुको कुनै कारण थिएन ।’

राज्यको राजधानी पोर्टालेजाको अलवर्ट सविन चिल्ड्रेन्स अस्पतालकी बालरोग विशेषज्ञ लोहोना तावारेसका अनुसार कोरोना संक्रमण देखिएका बालबालिकामध्ये अधिकांशमा मधुमेह, मुटु, मोटोपनजस्ता अन्य रोगहरु पनि थिए । तर लुकसको हकमा यस्ता कुनै पनि समस्या थिएन ।

लुकसलाई ३३ दिन आईसीयूमा राख्दा जेसिकाले ३ पल्टमात्र भेट्न पाइन् । लुकसको मुटुको समस्याका लागि इम्युनोग्लोबुलिन नामक औषधिको आवश्यकता थियो, जुन निकै नै महंगो थियो । सौभाग्यबस अस्पतालका एक अर्का बिरामीले त्यस औषधिको एक डोज उपलब्ध गराइदिए ।

लुकसलाई यो औषधिको एक डोजले मात्र पुगेन । उनको शरीरमा राता टाटाहरु देखिन थाले । लगातार ज्वरो आइरहेको थियो र स्वास लिनका लागि अक्सिजन मास्कको सहायता चाहिन्थ्यो ।

बिस्तारै उसको स्वास्थ्य अवस्था सुधार हुन थाल्यो । ऊ आफैं स्वास लिन सक्षम हुन थालेपछि चिकित्सकले नाटबाट ट्युव हटाइदिए । होसमा आउनेवित्तिकै बालकलाई एक्लोपनको महशुस हुन नदिनका लागि चिकित्सकहरुले भिडियो कलमार्फत जेसिका र इजरायलसँग कुरा गराए ।

जेसिका भन्छिन्, ‘हाम्रो आवाज सुनेपछि ऊ रोएको थियो ।’

यो अन्तिमपल्ट थियो जव छोरोले कुनै प्रतिक्रिया दिएको उनले देख्न पाइन् । अर्को भिडियो कलमा छोरोको हालत यस्तो भइसकेको थियो कि मानौं उसको शरीरमा प्राण बाँकी नै छैन । पछि अस्पतालले दिएको सूचनाअनुसार सिटी स्क्यान गरी हेर्दा उसलाई स्ट्रोक भएको थियो । त्यतिबेलासम्म पति-पत्नीलाई लुकस राम्रो तरिकाबाट ठीक भइरहेको भन्दै छिट्टै नै आईसीयूबाट निकालेर जनरल वार्डमा पठाउने आशा देखाइएको थियो । जेसिकाका अनुसार अस्पताल जाँदा उनीहरुलाई छोरा भेट्न भने दिइएन ।

उनले भनिन्, ‘त्यस रात मैले आफ्नो फोन साइलेन्ट गरेर सुतेँ । सपनामा लुकस म भएको ठाउँमा आयो र मेरो नाकमा चुम्बन गर्‍यो । यो सपना माया र समर्पणको एक ठूलो भावना थियो र म बिहान खुसी हुँदै उठेँ । त्यतिबेला मैले मोबाइल हेर्दा डाक्टरको १० वटा मिस्डकल थियो ।’

डाक्टरले जेसिकालाई लुकसको हार्ट रेट र अक्सिजन स्तर निकै तीव्र रुपमा घटिरहेका कारण विहान निधन भएको सुनाए ।

छोराको मृत्युपछि सचेतना अभियान सुरु

जेसिकालाई आज पनि लाग्छ, लुकसको समयमै कोरोना परीक्षण भएको भए ऊ आज जीवित हुने थियो ।

‘यदि डाक्टरले कोभिड होइन भने पनि त्यसको पुष्ट्याईंका लागि कोरोना परीक्षण गर्नुहोला,’ उनले भनेकी छन्, ‘एउटा बच्चाले आफूलाई कस्तो महशुस भइरहेको छ भनेर भन्न सक्दैन । त्यसैले हामी परीक्षणमै निर्भर रहनुपर्छ ।’

जेसिकाले स्वीकार गरेकी छन्, उचित उपचारमा भएको ढिलाईले नै उनले यो क्षति ब्यहोर्नुपरेको हो ।

‘लुकसको उपचार सुरु हुँदा ढिला भइसकेको थियो । उनको फोक्सोले ७० प्रतिशत काम गरेको थियो र मुटु ४० प्रतिशतसम्म सुन्निएको थियो । यस्तो स्थितिबाट पनि बचाउन भने सम्भव थियो ।’

डाक्टर मोन्टे भन्छिन्, ‘एमआईएस रोक्न त सकिँदैन तर सुरुवाति चरणमै उपचार प्रक्रिया सुरु भयो भने बिरामीलाई बचाउन सकिन्छ ।’

जेसिका अब ती मानिसहरुलाई आफ्नो कहानी सुनाएर सहयोग गर्न चाहन्छिन् जो गम्भीर लक्ष्यलाई नजरअन्दाज गरिरहेका छन् ।

बालबालिकालाई कोभिडको खतरा कम हुन्छ ?

डाक्टर फातिमा हारिन्हो भन्छिन्, ‘बालबालिकालाई कोरोना संक्रमणको खतरा कम हुन्छ भन्ने तर्क भ्रमपूर्ण छ ।’ उनले आफ्नो अनुसन्धानमा थुप्रै संक्रमित बालबालिका भेटेकी छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार २०२० को फेब्रुअरीदेखि २०२१ को मार्च १५ सम्म कोरोनाका कारण ९ वर्षमूनिका ८ सय ५२ र १ वर्षमूनि उमेरसमूहका ५ सय १८ बालबालिकाको निधन भएको छ ।

अहिलेको अवस्थामा यो संख्या दुई गुणा बढ्नसक्ने अनुमान डा. मारिन्होको छ । उनका अनुसार कोरोना परीक्षणको दायरा साँघुरो हुँदा समस्याले विकराल रुप लिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *