जसपाको कारण शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अलपत्र – Nepal Press

जसपाको कारण शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव अलपत्र

रुपन्देही । लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्तावका लागि तयार भएका विपक्षी दलहरू अंक गणित पुर्‍याउन नसकेर अन्योल बनेका छन् ।

जनता समाजवादी पार्टीका ६ सांसदहरू मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध एकमत हुन नसक्दा अविश्वासको प्रस्ताव अलपत्र परेको हो ।

लुम्बिनी प्रदेशसभामा रहेका कुल ८७ मध्ये नेकपा एमालेका ४१ सांसद छन् । नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका ६ र राजमोका १ जना सांसद रहेका छन् । माओवादीका २० मध्ये एमालेमा प्रवेश गरेका २ सांसदलाई कारवाही गरेपछि सो पार्टीका १८ सांसद बाँकी छन् । सभामुख पूर्णबहादुर घर्ती पनि माओवादीबाट प्रतिनिधित्व गरेका सांसद हुन् ।

दुई साताअघि नै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न भन्दै हस्ताक्षर संकलन शुरू गरेको खबर बाहिरिए पनि पूरै अंक गणित जुटाउन नसक्दा दलहरू अहिलेसम्म छलफलमै सीमित छन् ।

के भन्छ जसपा ?

जसपाका प्रमुख सचेतक सन्तोष पाण्डेले अविश्वासको प्रस्ताका विषयमा सबै दलबीच छलफल भएपनि कुनै निचोडमा नपुगेको नेपाल प्रेसलाई बताए । उनले आफ्नै दलभित्र पनि सबै सांसदको एउटै धारणा नभएकोले अंकगणित पूरा नभएको बताए । पाण्डेले भने, ‘ अश्विासको प्रस्ताव फेल हुनेगरी लैजाने कुरा भएन, हाम्रो दलका सबै माननीयहरू राजी हुनुभएको छैन, खासगरी एकजना तयार हुनुभएको छैन, तयारी भएपनि अंक गणित नपुगेर रोकिएको हो, केन्द्रको निर्णय नआउँदा पनि ढिला भएको हो । आज पनि हामी छलफल गर्छौँ ।’

राजपा र समाजवादी पार्टी एक भएर बनेको जसपाको प्रदेशमा समायोजन टुंगिएको छैन । लुम्बिनीमा जसपाका ६ सांसद छन् ।

जसपाकै सांसद कल्पना पाण्डेले संसदीय दलले केन्द्रीय पार्टीलाई हामीले कुन दललाई समर्थन गर्ने ? भनेर लिखित पठाएपनि औपचारिकरूपमा केही नआएकाले अहिले नै निर्णय दिन नसेकेको बताइन् ।

‘सबैले आफ्नो दलको औपचारिक निर्णय मान्ने हो, अरु माननीयले के गर्नुहुन्छ थाहा भएन, मेरो स्पष्ट धारणा केन्द्रले जे निर्णय गरेर पठाउँछ त्यही मान्ने हो, व्यक्तिले के भन्यो भन्ने विषयलाई अगाडि नबढाऔं, जसपाको प्रदेशमा कुनै कमिटी समायोजन भएको छैन त्यसैले हामीले आधिकारिक धारणा माग गर्दै केन्द्रमा लिखित पठाएका छौं, म काठमाडौंमा छु औपचारिक जानकारी केही आएको छैन’, उनले नेपाल प्रेससँग भनिन् ।

कांग्रेसको धारणा

प्रदेशसभामा नेपाली कांग्रेसका सचेतक फकरुद्दिन खानले जसपा अनिर्णित बन्दा सरकारविरुद्धको सबै काम प्रभावित भएको बताएका छन् ।

‘सबै पार्टी तयार भएपनि जसपाले निर्णय नदिएकाले रोकिएको हो, नयाँ सरकारका विषयमा छलफल भएपनि अविश्वासको प्रस्तावमा हरुताक्षर भएको अवस्था छैन, छिट्टै निचोडमा पुग्छौं’, उनले भने ।

सरकारको नेतृत्व लिन आफूहरू तयार भएको भन्दै उनले सहमति अनुसार अघि बढ्ने बताए ।

मुख्यमन्त्री बनाउने माओवादीको योजना

माओवादी केन्द्रका प्रमुख सचेतक तुलबहादुर घर्ती ‘वसन्त’ ले प्रदेश सरकारविरुद्ध सबै दलबीच छलफल भएपनि अविश्वासको प्रस्ताव तयारी भइनसकेको बताए । उनले भने, ‘अझै दुई दिन केही हुँदैन, गण्डकीमा भयो भनेर केही साथीहरुले सोध्नुभएको थियो हामी केही टुंगाएका छैनौ भनेर मैले सबैलाई भनेको छु ।’

माओवादी केन्द्रका प्रमुख सचेतक तुलबहादुर घर्तीले लुम्बिनी प्रदेशमा माओवादीका तर्फबाट कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताए । ‘सबै दलबीच औपचारिक प्रस्तावका रूपमा कुलप्रसाद केसीको नाम आएको हो तर निर्णय भएको छैन’, उनले भने ।

एमालेविरुद्ध आक्रामक जनमोर्चा

राष्ट्रिय जनमोर्चाका सांसद तारा जिसीले अविश्वासको प्रस्ताव जसले ल्याएपनि समर्थन गर्ने पार्टीको स्पष्ट नीति रहेको बताइन् ।

‘नेकपालाई दिएको समर्थनलाई सरकारले गलत ढंगले प्रयोग गरेकाले नीतिगत रूपमै एमालेलाई समर्थन नगर्ने केन्द्रको निर्देशन छ, मैले त्यो नीतिलाई पालना गर्छु ’, उनले भनिन् ।

अविश्वासको प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गर्न सुरु गरे पनि सरकार फेरबदलको निर्णायक मोडमा मुख्यमन्त्री शंकर पोखरेलले सत्ता साझेदारीको प्रस्ताव गरेपछि अल्मलिएको छ । उता जसपासँग छलफलमा रहेका पोखरेलले माओवादीबाट मन्त्री बनेकालाई हटाइहालेका छैनन् ।

जसपासँग गठबन्धनको टुंगो लागे माओवादीका मन्त्री हटाएर जसपाका २ जनालाई मन्त्री बनाउने पोखरेलको तयारी छ । लुम्बिनीमा माओवादीका तर्फबाट कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानुनमन्त्री र सुदर्शन बराल सामाजिक विकासमन्त्री छन् ।

नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले भने अब केही दिनमा सरकारले आधिकारिक निचोड दिने बताए ।

‘अहिले परिस्थिति धेरै अगाडि गएको देखिँदैन, अन्य दलका साथीहरू पनि छलफलमा जुटेको सुनेको छु, सरकारले पनि आफ्नो तयारी गरेको छ। आजलाई यो भन्दा धेरै नबोलौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर