बाँकेमा भिडभाड हुने व्यवसायमा रोक, जमुना नाका बन्द गर्ने निर्णय – Nepal Press

बाँकेमा भिडभाड हुने व्यवसायमा रोक, जमुना नाका बन्द गर्ने निर्णय

रुपन्देही । गम्भीर प्रकृतिका कोरोना संक्रमित दिनहुँ बढ्न थालेपछि लुम्बिनी प्रदेशको बाँकेमा मानिसहरूको जमघट र भिडभाड हुने सबै स्थान बन्द गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार साँझ बसेको बैठकले सिनेमा हल, जिम क्लब, स्वीमिङ पुललगायतका भिडभाड हुने स्थान बन्द गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना प्रभावित मुलुकका १४ जिल्लाहरुमा लुम्बिनी प्रदेशका बाँके, दाङ र रुपन्देहीलाई राखेको छ । मन्त्रालयले कोरोनाबाट अति संवेदनशील क्षेत्र घोषणा गरिएका क्षेत्रमा भीडभाड नगर्न निर्देशन गरेपछि जिल्ला संकट व्यवस्थापन समितिले यस्तो निर्णय गर्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

स्वास्थ्य मन्त्रालयले कोरोना प्रभावित जिल्लामा रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, जात्राहरु, सभा, सम्मेलन बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागी नहुन आग्रह गरेको छ ।

जमुना नाका बन्द गरिने

बाँके जिप्रकाका कोरोना फोकल पर्सन तेज वलीले पश्चिम क्षेत्रमा भारतसँगको मुख्य नाका मानिने बाँकेस्थित नेपाल-भारत जमुना नाका लगभग बन्द गर्ने निर्णय भएको बताएका छन् । यो नाकाबाट आउनेहरुमध्ये धेरै जनामा संक्रमण भेटिएपछि यस्तो निर्णय गरिएको हो ।

इमर्जेन्सीबाहेक सबैलाई आवतजावतमा रोक लगाउने निर्णय भएको वलीले जानकारी दिए । बैठकले सीमानाकामा स्वास्थ्य जाँचमा कडाइ गर्ने, भेरी अस्पताल नेपालगञ्जमा ६५ बाट आइसोलेसन वार्ड बढाएर १०० पुर्‍याउने, कोहलपुर मेडिकल कलेजमा तत्काल ५० वार्डको आइसोलेसन स्थापना गर्ने, नेपालगञ्ज उपमहानगरपालिकाले होटल ह्वाइट हाउसमा १२० बेडको आइसोलेसन वेड निर्माण गर्ने, नेपालगञ्ज मेडिकल कलेजमा कोभिडको सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

अस्पतालमा भरिए बिरामी

पछिल्लो एकसाता यता कोरोना सक्रमण तीब्र गतिमा बृद्धि हुँदा नेपालगञ्जको भेरी अस्पतालमा नयाँ विरामी भर्ना गर्नै नसक्ने अवस्था आएको छ । कोभिड-१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि भेरी अस्पताल थप कोरोना संक्रमितलाई उपचारको लागि आइसोलेुसनमा थेग्न नसक्ने अवस्थामा पुगेको हो ।

आइतबारदेखि एक्कासी लक्षणसहितका कोभिड-१९का विरामीको चाप बढेपछि अस्पतालमा रहेको जनशक्ति तथा अक्सिजन सुबिधा सहितको बेडको अभावमा थप बिरामी भर्ना गर्न असमर्थ हुनु परेको अस्पतालले जनाएको छ । अस्पतालमा बुधबारसम्म ८० जना विरामी भर्ना भएको र तीमध्ये ८० प्रतिशत विरामी गम्भीर प्रकृतिको भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

अस्पतालमा आएका बिरामी भर्ना लिन सक्ने अवस्था नहुँदा स्वास्थ्य कर्मचारीको असुरक्षा बढेको उनको भनाइ छ ।

कोरोनाले घरघरमा जोखिम बढाइसकेपछि भने नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो पुरानो आइसोलेसन केन्द्रलाई सक्रिय बनाउने भएको छ । १०० जना संक्रमितलाई राख्न सकिने गरी उपमहानगरको आइसोलेसन शुक्रबारबाट संचालनमा आउने उपमहानगरकी उपप्रमुख उमा थापाले जानकारी दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर