ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह – Nepal Press

ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन् ।

तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।

एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिनेक्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताए । टोकियो ओलम्पिक खेल हुन बुधबार १०० दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो ।

जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताए । ओलम्पिककै कारण कोभिड सङ्क्रमण फैलिने अवस्था देखिए ओलम्पिक आयोजनाको गर्नुको केही अर्थ रहँदैन, उनले भने । के खेल पूरै रद्द हुने सम्भावना छ भनी सोधिएको प्रश्नमा महासचिव निकाइले भने, ‘यो सम्भव छ ।’

उनले अगाडि भने, ‘जापानमा ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ । यो जापानका लागि ठूलो अवसर पनि हो । म पनि यो सफल होस् भन्ने चाहन्छु । हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्नु जरुरी छ, र हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौती छ ।’

टोकियो ओलम्पिक आयोजकको भनाईमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्ण रुपमा प्रतिबद्ध रहेका छन् । उनीहरुले प्रधानमन्त्री योशिहिडे सुगाले ओलम्पिक खेल आयोजना गर्न जापान प्रतिबद्ध रहेको पटकपटक बताएको जनाएका छन् ।

जापानमा पछिल्लो पटक कोभिड सङ्क्रमण तिब्र गतिमा फैलिएको छ । बुधबार मात्र जापानको दोस्रो ठूलो शहर ओशाकामा एक हजार १०० भन्दा बढी नयाँ रोगी भेटिएका थिए । यो गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो ।

जापानमा कोभिडको सङ्क्रमणबाट हालसम्म ९ हजार ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । जापानमा खोप अभियानको नेतृत्व गरिरहेका मन्त्री तारो कोनोले टोकियो ओलम्पिक हुने अवस्था सिर्जना भएपनि खेल मैदानमा कुनै पनि दर्शक नहुने स्पष्ट गरे । उनले ओलम्पिक खेलहरु खाली रङ्गशालामा खेलाइने बताए।

गत वर्ष पनि कोभिडको सङ्क्रमण तिब्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो । यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ । साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ । दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रतिबन्ध लगाइसकिएको छ । अब जापानी नागरिकले पनि खेल मैदानमा प्रवेश पाउने छैनन् ।

आयोजकहरुले टिकट बिक्रीबाट झण्डै ८० करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेका थिए । यो कूल आयको झण्डै तेस्रो ठूलो रकम हो । ओलम्पिक आयोजनाको कूल लागत करिब १५.४ अर्ब अमेरिकी डलर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *