माधव–प्रचण्डको सर्कुलर पछि झिकियो नेकपाको खाताबाट ३० लाख रकम – Nepal Press

माधव–प्रचण्डको सर्कुलर पछि झिकियो नेकपाको खाताबाट ३० लाख रकम

कैलाली । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद बढेपछि धनगढीस्थित कृषि विकास बैङ्कको खातामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ३० लाख रकम केन्द्रकै सर्कुलरपछि झिकिएको खुलेको छ ।

कृषि विकास बैंकको ८२२५०१२६५४७७०१४ नम्बरको खातामा रहेको ३० लाख रकम १३ पुसमा गोप्य रुपमा झिकिएको थियो ।

साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा, सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्था गरिएको थियो ।

पार्टीमा विवाद बढेपछि केन्द्रको निर्देशमा पार्टी सचिव चौधरी र कार्यालय सचिव सुबेदीले उक्त रकम झिकेका हुन् । १३ गते रकम झिकेर ७ दिन सम्म सम्म सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा राखेका थिए ।

नेकपामा विवाद बढेपछि तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले लिखित रूपमा सम्पत्तिको संरक्षण गर्न सर्कुलर गरेका थिए । उक्त सर्कुलर अनुसार रकम झिकिएको एमाले स्रोत बताउँछ ।

७ दिन सम्म उक्त रकम सुबेदीकै खातामा रह्यो । २० पौषमा सुबेदी र चौधरीको नाममा नेपाल बैङ्क लिमिटेडको बचत खाता नम्बर १३७०१००६९४६४०६०००००१ रकम जम्मा गरिएको थियो ।

अहिले सुबेदी र चौधरी सहित एमालेमा माधव समूहका प्रदेश अध्यक्ष भानुभक्त जोशी गरी ३ जनाको संयुक्त रूपमा खाता छ ।
१३ पौषमा कृषि विकास बैङ्कबाट रकम रकमान्तर गरेको र २० पौषमा नयाँ खातामा रकम जम्मा गरेको विषयलाई प्रदेश पदाधिकारीको बैठकले समेत अनुमोदन गरिसकेको छ ।

८ माघमा प्रदेश पार्टी कार्यालयमा बसेको बैठकले उक्त विषय अनुमोदन गरेको हो । बैठकमा तत्कालीन इन्चार्ज भीम रावल, सह इञ्चार्ज लक्ष्मण दत्त जोशी र सचिव नेप बहादुर चौधरी थिए ।

उक्त बैठकमा तत्कालीन सह इन्चार्ज भानुभक्त जोशी र अध्यक्ष कर्ण थापा भने थिएनन् ।‘८ गतेको बैठकले पार्टीको रकम व्यक्तिको खातामा हुँदै नयाँ खातामा राखेको विषय अनुमोदन गरेको हो’ एमाले स्रोतले भन्यो ‘सबै कुरा केन्द्रकै निर्देशनमा भएको थियो ।’

उक्त रकम एमाले र माओवादीका सांसद तथा मन्त्रीहरुबाट उठाइएको लेबी रहेको बताइएको छ ।‘सांसदबाट मासिक ८ हजार ५ सय र मन्त्रीहरूबाट मासिक १० हजार रकम उठाइँदै आएको थियो’ स्रोतले भन्यो ‘कसैले दिए कसैले दिएनन् ।’

रकमान्तर र नयाँ खाता निर्माणमा भीम रावलको कुनै भूमिका नरहेको पार्टी सचिव दिनेश चन्द्र सुबेदी बताउँछन् ।
‘उहाँको त हस्ताक्षर नै चल्दैन । कसरी उहाँको भूमिका हुन्छ’ उनले भने ‘पार्टीको निर्णय अनुसार पार्टीको सम्पत्ति सुरक्षित गर्न यसो गरिएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर