कर्णालीमा कांग्रेसले भन्यो- मुख्यमन्त्रीलाई साथ दिने कुरा निराधार – Nepal Press

कर्णालीमा कांग्रेसले भन्यो- मुख्यमन्त्रीलाई साथ दिने कुरा निराधार

सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोली संसदमा विश्वासको मत माग्दैछन् । उनले कांग्रेस र राप्रपाले आफूहरुलाई साथ दिने बताए पनि ती दलहरुको भने फरक भनाइ आएको छ ।

आफ्नो पक्षमा कांग्रेस र राप्रपा गरी १९ सांसद भएको बताउँदै शाहीले संसदमा विश्वासको मत पाउने दाबी गर्दै आएका थिए । तर, नेपालप्रेसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका सचेतक हिमबहादुर शाहीले माओवादीसँग अहिलेसम्म कुनै पनि छलफल र सहमति नभएको बताए ।

‘हामीसँग छलफल भएर विश्वासको मत माओवादीलाई दिने सहमति भएको भन्ने कुरा निराधार र कपोलकल्पित हो,’ उनले भने, ‘बजारमा कांग्रेसलाई जोडेर माओवादीसँग १९ सांसद कसले पु¥याएको हो थाहा छैन ।’ उनले अहिले सत्ता सहकार्य कोसँग गर्ने भन्ने बारेमा दलले कुनै पनि निर्णय नगरेको स्पष्ट पारे ।

राप्रपाका सांसद शोशिला शाहीले पनि माओवादीसँग सत्ता सहकार्यका बारेमा कुनै वार्ता र छलफल नभएको बताएकी छिन् ।
‘माओवादीसँग सत्ता सहकार्य हुने भनेर केही मिडियाले कुप्रचार गरिरहेका छन्,’ उनले नेपालप्रेसँग भनिन्, ‘यस्तो गलत हल्ला नफैलाईदिए हुन्थ्यो ।’

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सदनमा विश्वासको मत लिन चैत ३१ गते नै पत्र दर्ता गरिसकेका छन् । प्रदेश सभामा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक जना सांसद छन् । कर्णाली प्रदेशसभा भोली दिउँसो दुइ बजे बस्नेछ । मुख्यमन्त्री शाहीले यही वैठकबाट विश्वासको मत लिनुपर्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर