दुर्घटनामा मृत्यु भएका कर्मचारीको शोकमा गुल्मी प्रशासन पाँच दिन बन्द – Nepal Press

दुर्घटनामा मृत्यु भएका कर्मचारीको शोकमा गुल्मी प्रशासन पाँच दिन बन्द

रुपन्देही । बुधबार दुर्घटनामा परेर जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मी ५ दिनका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कर्मचारीसहितको टोली गुल्मीबाट नयाँ वर्ष मनाउन प्युठानको स्वर्गद्वारी जाने क्रममा स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा कार्यालयका अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले आज १ दिन प्रशासनका सम्पूर्ण कार्य बन्द गरिने र अन्य ४ दिन अत्यावश्यकबाहेकाका सबै काम बन्द गरिने निर्णय भएको जानकारी दिए ।

प्रशासनले शोकमा बैशाख ३ गतेदेखि बैशाख ६ गते सोमवारसम्म शान्ति सुरक्षा र मुद्दा सम्बन्धी काम कारवाही हुने र अन्य सेवा प्रवाह नहुने प्रशासकीय अधिकृत पन्थीले बताए ।

लु १ ज १६५५ नम्बरको जीप दुर्घटना परेर मृत्यु हुनेहरुमा जिल्ला गुल्मी मुसिकोट नगरपालिका वडानम्बर–३ बस्ने चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका वडानम्बर–७ का ३५ वर्षिय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ निवासी ३६ वर्षीय ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजा निवासी ३८ वर्षीय श्याम न्यौपाने, खरिदार मालिका गाउँपालिका वडानम्बर–७ निवासी ३५ निवासी यमलाल पन्थी रहेका छन् ।

जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए । घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगेर उचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते सन्दिप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया र अनिश बोहरालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।

दुर्घटनामा परेर घाइते ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली दुर्घटनामा परेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित सुरक्षा निकायका प्रमुखको टोली प्युठान पुगेर दुर्घटनास्थल र घाइतेहरुको अवस्था बुझेर गुल्मी फर्किएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर