चीनको विकासमा राष्ट्रपति सीले खोजे नेपालसहित मुलुकको साथ – Nepal Press

चीनको विकासमा राष्ट्रपति सीले खोजे नेपालसहित मुलुकको साथ

आठमहिनापछि राजदूत पाण्डेले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आयोजित समारोहमा पाण्डेसहित २९ मुलुकका राजदूतले प्रमाणपत्र बुझाए ।

नियुक्त भएको आठ महिनापछि राजदूत पाण्डेले चिनियाँ राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएका हुन् । प्रमाणपत्र बुझेपछि राष्ट्रपति सीले राजदूतहरुलाई सम्बोधन गरेका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ नियन्त्रणमा चीनले अग्रणी भूमिका खेलेको र सम्बन्धित मुलुकका सरकारले पनि महामारी नियन्त्रणमा राम्रो भूमिका खेलेको भन्दै राजदूतमार्फत सन्देश व्यक्त गरेका थिए ।

यसवर्ष कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको र चीनले समृद्धि हासिल गर्नको लागि सन् २०२५ सम्म चौंधौं पञ्चवर्षिय योजना घोषणा गरेको सीले बताए ।

चीनले नयाँ विकासको दर्शन र आयाम आत्मसात गर्ने र यसले नागरिकको हित गर्ने लक्ष्य राखेको बताउँदै राष्ट्रपति सीले यो दर्शनअन्तर्गत अनुसन्धान, समझदारी, ग्रीन अवधारणा र विकास समावेश गरिएको जानकारी राजदूतहरुलाई गराए ।

राष्ट्रपति सीले सम्बन्धित मुलुकका राजदूतहरुमार्फत त्यहाँका राज्य प्रमुखहरुलाई शुभकामना समेत पठाएका थिए । अर्को वर्ष बेइजिङमा आयोजना हुन लागेको विन्टर ओलम्पिक प्रतियोगिता सफल पार्न सम्बन्धित राजदूतका मुलुकलाई सीले आग्रह गरे ।

राष्ट्रपति सीले सम्बन्धित मुलुकलाई चीनसँगको द्धिपक्षीय सम्बन्धमा भूमिका खेल्न समेत आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर