एएफसी कपको छनोटबाटै आर्मी बाहिरियो – Nepal Press

एएफसी कपको छनोटबाटै आर्मी बाहिरियो

काठमाडौं । बुधबार राति भएको खेलमा भारतीय टोली बेङ्गलुरु फुटबल क्लबसँग ५-० को फराकिलो पराजय बेहोरेसँगै त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कपको प्रारम्भिक छनोटबाट बाहिरिएको छ ।

प्रारम्भिक छनोटको पहिलो खेलमा श्रीलंका पुलिसलाई घरेलु मैदानमा ५-१ को नतिजामा पराजित गरेको आर्मीले दोस्रो चरणमा इन्डियन सुपर लिगको बेङ्गलोरसँगको भेट सुनिश्चित गरेको थियो । कोरोना संक्रमणका कारण कप्तान भरत खवास, पहिलो रोजाइका गोलकिपर विकेश कुथु लगायतका खेलाडी बिना मैदानमा उत्रिएको आर्मीले पहिलो हाफमा भारतीय हेभिवेटलाई गोल गर्नबाट रोकेको थियो ।

तर, दोस्रो हाफमा थप आक्रामक बनेको बेङ्गलुरुले १५ मिनेटको फरकमा पाँच गोल गर्‍यो । राहुल भेकेको गोलबाट ५१औं मिनेटमा अग्रता लिएको बेङ्गलुरुका लागि कप्तान सुनिल क्षेत्रीले एक मिनेट नबित्दै दोस्रो गोल गरेका थिए ।

क्लेटियन सिल्भाले ६१औं मिनेटमा बेङ्गलुरुका लागि तेस्रो गोल गरेका थिए । तहसनहस बनेको आर्मीविरुद्ध बेङ्गलुरुका सिल्भा र भेकेले ६५औं मिनेटमा थप १/१ गोल गर्दै ५-० को जित सुनिश्चित गरे ।

जितसँगै तेस्रो चरणमा पुगेको बेङ्गलुरुले अहबानी ढाका र माल्दिभ्सको इगल्सबीचको विजेतासँग अप्रिल २८ मा खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *