कोहलीलाई उछिन्दै बाबर बने नम्बर-१ ओडीआई ब्याट्सम्यान – Nepal Press

कोहलीलाई उछिन्दै बाबर बने नम्बर-१ ओडीआई ब्याट्सम्यान

काठमाडौं । भारतीय कप्तान विराट कोहलीले १ हजार २ सय ५८ दिनपछि एकदिवसीय क्रिकेटको वरियताक्रममा नम्बर-१ स्थान गुमाएका छन् । उनको स्थान पाकिस्तानी कप्तान बाबर आजमले लिएका छन् ।

दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई जिताएपछि आजम नम्बर १ स्थानमा उक्लेका हुन् । उक्त सिरिजमा बाबरले एक शतकसहित २ सय २८ रन बनाएका थिए । सिरिजको निर्णायक म्याचमा उनले ८२ बलमा ९४ रन हान्दै टिमको जित सुनिश्चित गरेपछि उनको १३ रेटिङ प्वाइन्ट थपिएको थियो ।

बाबरले यसअघि लामो समय टी-२० वरियताक्रममा शीर्षस्थान कब्जा गरेका थिए । एकदिवसीयमा भने पहिलोपटक उनी नम्बर १ बनेका हुन् । भारतीय कप्तान कोहली दोस्रो स्थानमा झरेका छन् । बाबर र कोहलीको रेटिङ प्वाइन्ट क्रमशः ८ सय ५२ र ८ सय ६५ रहेको छ ।

सन् २०१७ को अक्टोबरमा दक्षिण अफ्रिकाका एबी डी भिलियर्सलाई पछि पार्दै कोहली नम्बर-१ एकदिवसीय ब्याट्यासम्यान बनेका थिए । त्यसयता उनलाई कसैले हल्लाउन सकेको थिएन ।

एक दिवसीय क्रिकेटको वरियता क्रममा उच्च स्थान हासिल गर्ने पाकिस्तानका चौथो ब्याट्सम्यान हुन् बाबर । यसअघि जबाहिर अब्बास, जाभेद मियादाद र मोहम्मद युसुफले मात्रै यो सफलता हासिल गरेका थिए । छोटो समयमै बाबर पाकिस्तानी लिजेन्डहरुको सूचीमा पर्न सफल भएका छन् ।

शीर्षस्थानमा पुगेपछि प्रतिक्रिया दिँदै बाबरले यसलाई आफ्नो करिअरका लागि कोसेढुंगाको रुपमा लिएको बताएका छन् ।
‘यो स्थानमा लामो समय कायम रहनका लागि मैले कडा मिहिनेत गर्नुपर्ने छ,’ उनले भने, ‘मेरो सबैभन्दा ठूलो लक्ष्य चाहिँ टेस्ट वरियता क्रममा अगाडि आउने हो ।’

टेस्ट वरियतामा पनि बाबर र कोहलीको कडा टक्कर छ । कोहली पाचौं र बाबर छैटौं स्थानमा छन् । टी-२० मा बाबर अहिले तेस्रो स्थानमा झरेका छन् । कोहली पाचौं स्थानमा छन् । सबै प्रकारका क्रिकेटमा टप ६ मा रहने दुई मात्र ब्याट्सम्यान बाबर र कोहली हुन् । उमेरमा बाबर कोहलीभन्दा ६ वर्ष कान्छा छन् ।

ओडीआई वरियतामा पाकिस्तानी ओपनर फखार जमानले पनि प्रगति गरेका छन् । दक्षिण अफ्रिकाविरुद्ध दुई शतक प्रहार गरेसँगै फकार वरियताक्रममा ११ बाट ७ औं स्थानमा उक्लेका छन् । उनले लगातार एक सय ९३ रन र एक सय १ रनको इनिङ खेलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर