किन लाग्छ डढेलो ? ९ वर्ष यताकै धेरै आगलागी यसपालि – Nepal Press

किन लाग्छ डढेलो ? ९ वर्ष यताकै धेरै आगलागी यसपालि

काठमाडौं । आइतबार नेपाली सेनाको सुरक्षा घेरा भित्र रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा डढेलो लाग्यो । ८ घण्टापछि हेलिकप्टरबाट पानी खन्याएर आगो नियन्त्रणमा लिइयो । तर डढेलो के कारणले लाग्यो ? अझै खुल्न सकेको छैन ।

गएको शुक्रबार बिहान चोभारको जंगलमा डढेलो लाग्यो । स्थानीयले देखेपछि दमकल बोलाएर आगो निभाइयो । दमकलले आगो निभाएर गएको केही समयमै पुनः सोही क्षेत्रमा आगलागी भयो । स्थानीय जुटेर आगो निभाए । चोभार जंगलमा कसरी बारम्बार आगलागी भयो ? अझैं खुल्न सकेको छैन ।

यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । देशका विभिन्न जिल्लामा अवस्थित वनहरुमा दैनिक जसो डढेला लाग्ने गर्छ । अहिले काठमाडौं लगायतका शहरमा बढेको प्रदूषणको मुख्य कारण डढेलो पनि हो । विगत ९ वर्षयताको तथ्यांक हेर्ने हो भने । हाल डढेलो चार गुणाले बढेको छ ।

राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगतका वर्षहरुमा नेपालमा वार्षिक सरदर २ हजार ५ सय डढेलोको घटना दर्ता हुने गर्थे । यो वर्ष एकैदिन ५ सय वटासम्म डढेलोको घटना दर्ता भएका छन् । डढेलोका कारण वार्षिक २ हनार हेक्टर वन क्षेत्र नोक्सान हुने गरेको प्राधिकरणको तथ्यांक छ ।

किन लाग्छ वनमा वर्षेनी डढेलो ?

एक अध्ययनका अनुसार नेपालमा हुने अधिकांश डढेलो ‘नियोजित’ हो । झण्डै ६४ प्रतिशत डढेलोका घटना कृत्रिम छन् । प्राकृति कारणले वनमा डढेलो लाग्ने घटना ज्यादै न्यून रहेको अध्ययनको प्रक्षेपण छ । विज्ञहरुका अनुसार मानवीय लापरवाही र वन पैदावरको अनुचित लाभ लिने उद्देश्यले नै धेरै डढेलो लाग्ने गरेका छन् । वनविज्ञ भोला भट्टराई विगतमा जस्तो प्राकृति डढेलोका घटनाहरु नगन्य रहेको बताउँछन् । ‘पहिले प्राकृतिक हिसाबले वनमा डढेलो लाग्थ्यो । अहिले मान्छेले कि त जानेर कि त लापरवाही गरेर डढेलो लाग्ने गरेको छ । वन पैदावरको चोरी शिकारी वा नयाँ पालुवाका लागि पनि डढेलो लगाइदिने क्रम बढेको छ’, भट्टराईले भने ।

उनका अनुसार वनजंगलमा डढेलो लाग्नुको मुख्य कारण ३ वटा छन् । पहिलो लापरवाही, दोस्रो नियोजित र तेस्रो जंगली जनावर भगाउने उपाय स्वरुप । उनी भन्छन्, ‘बाटो हिड्दा चुरोट विँडी खाएर ननिभाई फाल्दिने, गोठाला गएकाहरुले घासको लोभमा आगो लगाइदिने, तथा जगंली जनावरलाई भगाउन आगो लगाउने प्रवृति धेरै देखिएको छ ।’

सरकारले डढेलो नियन्त्रणमा प्रभावकारी कदम नचालेको उनी बताउँछन् । सरकारले जनतालाई डढेलो नियन्त्रणबारे पर्याप्त जानकारी गराउन नसकेको उनको भनाइ छ । ‘सरकार आफैंले सिकेको छैन , अरुलाई के सिकाउँला ? अहिलेको विल्कप भनेको नै सबैलाई जिम्मेवार हुन सिकाउनु हो । नियोजित रुपमा डढेलो लगाउनेलाई कारवाही गर्नुपर्ने हो तर कारबाही हुँदैन । कानून फितलो हुँदा दैनिक यस्ता घटना बढिरहेका छन्’, उनले भने ।

डढेलोका कारण प्रदूषण मात्र होइन तर विभिन्न लोपोन्मुख बोटबिरुवा र जनावरहरूको अस्तित्व समेत संकटमा पर्दै गएको छ ।

तर्साउने तथ्यांक

राष्ट्रिय विपत न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो केही दिनको तथ्यांक हेर्ने हो भने अवस्था गम्भीर छ । सोमबार मात्रै २ सय ३० ठाउँमा आगलागी हुँदा ४० जिल्ला प्रभावित भएका छन् भने आइतबार ३ सय ९७ ठाउँमा आगलागी हुँदा ४७ जिल्ला प्रभावित भए । गत शनिवार ४ सय ४० ठाउँमा आगो लागेको थियो भने ४६ जिल्लामा क्षति पुग्यो । गत शुक्रबार २ सय ७८ वटा वनमा डढेलो लाग्दा ४१ जिल्ला प्रभावित बन्न पुग्यो । बिहीबार १ सय ८५ वनमा आगो लाग्दा ३८ जिल्ला प्रभावित बन्यो ।

डढेलोबाट सबैभन्दा धेरै पश्चिम तराईका जिल्लाहरु प्रभावित भएका छन् । पहाडदेखि तराईसम्म जताततै डढेलो लागेको छ । गत चैत २२ गते एकैदिन सबैभन्दा धेरै ७ सय ९८ वनमा डढेलो लागेको थियो । जसबाट ६१ जिल्ला प्रभावित भएका थिए । यस्तो डढेलोको घटना जेठसम्म नै निरन्तर रहने विज्ञहरुको अनुमान छ ।

डढेलोबाट कसरी जोगिने ?

राष्ट्रिय विपद तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्मा डढेलोबाट बस्ती र वन्यजन्तु जोगाउन बढी संवेदनशील हुनुपर्ने बताउँछन् । डढेलो लागेको वनमा मान्छेहरुको आवतजावत रोक्नुपर्ने शर्माको सुझाव छ ।

आगो लागिहालेको अवस्थामा अग्निय रेखा बनाएर वन तथा बस्ती जोगाउन उनको सुझाव छ । ‘डढेलो नियन्त्रणमा स्थानीय समूदायको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । स्थानीयको सहयोग विना डढेलो नियन्त्रण गर्न गाह्रो पनि छ । सकभर डढेलो लाग्न नदिऔं, लागिहाले स्थानीय नै सचेत हुनुपर्छ’, शर्माले भने ।

चुरोटको ठुटा निभाएर मात्र फाल्ने, वनभोज खान जाँदा आगोलाई राम्रो सँग निभाउने, सकभर सलाई लाइटर लिएर वनमा नजाने, वनमा डढेलो लागेको देखे सबैभन्दा पहिला प्रहरी वा नगरपालिकालाई खबर गर्ने लगायतका काम गर्न शर्माको सुझाव छ ।

डढेलो नियन्त्रणमा साधनको अभाव

नेपालमा डढेलो नियन्त्रणका लागि भरपर्दो साधन र उपकरणकै अभाव रहेको विज्ञहरु स्वीकार्छन् । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयबाट टोली खटिने गरे पनि अत्याधुनिक प्र्रविधिको प्रयोग हुन सकेको छैन । त्यस्ता टोलीले स्याउलाकै भरमा डढेलो नियन्त्रणको प्रयास गर्दै आएका छन् । डढेलो नियन्त्रणका लागि सरकारले पर्याप्त बजेट र साधन उपलब्ध गराउनुपर्ने देखिन्छ ।

डढेलो लगाउनेलाई के कारबाही हुन्छ ?

वन जंगलमा लाग्ने डढेलो अधिकांश स्थानीयले नै लगाउने गरेको अध्ययनले देखाएको छ । वनजंगलमा आगो लगाउनेलाई सरकारले कारबाही गर्ने व्यवस्था पनि गरेको छ ।

वन ऐन २०७६का अनुसार राष्ट्रिय वनमा आगो लगाउने र आगलागी हुने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल गरी ३ वर्षसम्म कैद वा ६० हजार जरीवाना अथवा दुवै सजाय हुनसक्छ ।

सुराक दिने वा अपराधी पक्राउ गर्न सहयोग गर्ने संस्था वा व्यक्तिलाई कसुरदारले तिर्ने जरिवानाको दश प्रतिशत पुरस्कार स्वरुप दिने व्यवस्था रहेको छ । तर हालसम्म प्राधिकरणसँग कति कारबाहीमा परे भन्ने जानकारी छैन । वनजंगलमा आगो कसले लगायो ? भन्ने समेत पत्ता लाग्दैन ।

प्राधीकरणका उपसचिव सुन्दरप्रसाद शर्मा भन्छन्,‘डढेलो लगाउने व्यक्तिलाई पत्ता लगाउनु गाह्रो काम रहेछ । अब कहिलेकाहीँ लगाएको हुन्छ । पर्याप्त प्रमाणको अभावमा उनीहरुलाई छोड्नुपर्ने बाध्यता रहन्छ । अहिलेसम्म कति कारवाहीमा परे जानकारी छैन ।’

धेरै डढेलो यसपालि

विशेष गरी कात्तिक देखि जेठसम्म बढी डढेलोको घटना हुने गर्दछ । यसवर्ष डढेलोको मुख्य समय सुरु नहँुदै ३ हजार भन्दा बढी आगलागीका घटना भइसकेका छन् । पछिल्लो ९ वर्षको तथ्यांक हेर्ने हो भने यसपालि ४ गुणा बढी डढेलो लागेको छ ।

प्राधीकरणको तथ्यांकअनुसार २०६८ कात्तिकदेखि चैतसम्म ३ सय ७९ डढेलोको घटना भए जसमा ४० जिल्ला प्रभावित बन्यो । ०७० कात्तिकदेखि चैतसम्म २ सय ६९वटा डढेलोको घटना भएकोमा ४० जिल्ला डढेलोबाट प्रभावित भयो । ०७१ मा १ सय ९ डढेलोबाट ३१ जिल्लाको जंगलमा क्षति पुग्यो । त्यस्तै ०७२ सालमा मात्रै ६७ जिल्लामा ९ सय ८९ वटा डढेलोको घटना घट्यो । ०७३ मा ५२ जिल्लामा ३ सय २४ वटा डढेलोको घटना घट्यो । त्यसैगरी ०७४ मा ६ सय १७ वटा डढेलो घटनाबाट ६४ जिल्ला प्रभावित भएको थियो ।

यस्तै ०७५ मा ८ सय २९ वटा डढेलोको घटना भएको थियो । जसबाट ६३ जिल्लाको वनमा क्षति पुगेको थियो । गत वर्ष १ सय ८८ वटा आगलागीको घटना भयो जसबाट ४० जिल्ला प्रभावित भयो । यस वर्ष कात्तिकदेखि चैतको दोस्रोसातासम्म २ हजार ७ सय १३ घटना भइसकेका छन् । जसबाट ७३ वटा जिल्ला प्रभावित भएको तथ्थाङकले देखाएको छ ।

हेलिकप्टरबाट आगो निभाउन सम्भव छैन- प्राधीकरण

शिवपुरी राष्ट्रिय निकुञ्जको वनमा लागेको आगो हेलिकप्टरबाट पानी ओसारेर निभाइएको थियो । आगो निभाउन हेलिकप्टर उत्तम विकल्प भए पनि सबै स्थानमा सम्भव नहुने प्राधीकरणको भनाइ छ । डढेलो नियन्त्रणमा हेलिकप्टरको प्रयोग खर्चिलो र झन्झटिलो हुने गरेको छ ।

‘बस्ती र सांस्कृति धरोहर नजिकै ठूलो डढेलो लाग्यो भने आपतकालीन रुपमा हेलिकप्टरको प्रयोग हुनसक्छ तर जताततै हेलिकप्टरबाट डढेलो निभाउन सम्भव छैन’, प्राधीकरणका उपसचिव शर्माले भने । डढेलो नियन्त्रणका लागि अन्य प्राविधिक तयारीसँगै जनचेताना अभिवृद्धि नै महत्वपूर्ण माध्यम रहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

One thought on “किन लाग्छ डढेलो ? ९ वर्ष यताकै धेरै आगलागी यसपालि

  1. नेता हरुले लगाएको डढेलो को चाहिं खबरै छैन भाई l

Leave a Reply

Your email address will not be published. Required fields are marked *