आईपीओको अन्तिम तयारीमा सर्वोत्तम, के हो बुक विल्डिङ ? – Nepal Press

आईपीओको अन्तिम तयारीमा सर्वोत्तम, के हो बुक विल्डिङ ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङबाट प्राथमिक शेयर (आईपीओ) निष्कासनको अन्तिम तयारीमा जुटेको बताएको छ ।

सर्वोत्तम केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार कम्पनीले अर्को साता नै योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल गर्ने भएको छ । उनका अनुसार छलफलका लागि कम्पनीले संगठित संस्थाको प्रारम्भिक विवरणपत्र तयार गरिरहेको छ ।

यो तयारी लगभग सकिएकोले केही दिनमा नै योग्य संस्थागत लगानीकर्तासँग छलफल हुने कम्पनीको दाबी छ । ‘सायद यो हप्ता नै त्यस छलफलका लागि दैनिक पत्रिकामा सूचना प्रकाशित गर्छौं’, ती कर्मचारीले भने ।

कम्पनीले बुक बिल्डिङबाट प्राथमिक शेयर निष्कासन गर्ने हो भने यसका लागि छलफल गर्नु एक साता अघि नै राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । सो छलफलमा योग्य संस्थागत लगानीकर्ताबाट कम्पनीले आशय मूल्य प्राप्त गर्ने छ ।

सर्वोतमले कम्तीमा पाँच योग्य संस्थागत लगानीकर्ताबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ ।

सो आशय मूल्यपछि मात्र कम्पनीको विवरणसहित धितोपत्र बोर्डमा शेयर निष्काशन गर्न अनुमति माग्नु पर्ने कानूनी नियम छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार सर्वोतमले बुक विल्डिङबाट शेयर निष्कासन गर्ने जानकारी बोर्डलाई गराएको छ । तर, कम्पनी विवरण पत्रसहित बोर्डमा आएको छैन । उनका अनुसार अहिलेसम्म धितोपत्र बोर्डमा अन्य कुनै पनि कम्पनीले बुक विल्डिङबाट शेयर निष्काशन गर्न जानकारी गराएका छैनन् ।

के हो बुक विल्डिङ ?

बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताहरूको मागको आधारमा प्राथमिक बजारमा निष्कासन गरिने धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि हो ।

योग्य संस्थागत लगानीकर्ताले तोकेको मूल्यमा (अंकित वा प्रिमियम) प्राथमिक शेयर निष्कासन गरिन्छ । साथै यसमा बजारको माग अनुसार नै मूल्य निर्धारण गरेर सोही निर्धारित मूल्यमा शेयर निष्कासन गरिन्छ ।

कम्पनीले नै प्राइस रेञ्ज दिई आधारभूत विश्लेषणका आधारमा बिडिङ गरिन्छ ।

यसमा योग्य लगानीकर्ताले तोकिएको मूल्य सीमाभित्र रहेर वा न्यूनतम मूल्यभन्दा माथि धितोपत्र खरिदका लागि बोलकबोल गर्ने गरिन्छ । बुक विल्डिङमा तोकिएको मूल्य प्रिमियम मूल्यभन्दा पारदर्शी हुने गर्छ । यसमा सम्पूर्ण धितोपत्र बिक्री हुने मूल्यलाई कट अफ प्राइस मानेर उक्त मूल्य र सोभन्दा माथि आवेदन गर्नेलाई धितोपत्र बाँडफाँट गरिने गरिन्छ । कट अफ प्राइस नै धितोपत्र निष्कासनको निर्धारण भएको मूल्य हो ।

बुक विल्डिङमा मूल्य निर्धारण

बुक विल्डिङमा धितोपत्र निश्कासन गर्नु भनेको अलि झण्झटिलो प्रक्रिया पनि हो । बुक विल्डिङमा गएको कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल गरेपछि उक्त छलफलबाट निस्किएको वा खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या तथा मूल्याङकनको आधारसहित आशय मूल्य पेश गर्नेछन् । आशय मूल्य निर्धारणका लागि कम्तीमा पाँच योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त गर्नु पर्ने छ । यसमा बिक्री मूल्य निर्धारण गर्दा माथिल्लो सीमा संस्थागत लगानीकर्ताबाट औषत मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा संस्थागत लगानीकर्ताबाट प्रप्त औसत आशय मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ ।

योग्य कम्पनी

बुक विल्डिङ विधिबाट सार्वजनिक शेयर निष्काशन गर्नको लागि विगत तीन वर्षदेखि कम्पनी लगातार मुनफामा रहेको हुनुपर्छ । साथै कम्पनीको नेटवर्थ चुक्ता पूँजी (प्रतिशेयर) भन्दा कम्तीमा डेढ गुणा बढी रहेको र माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

कट अफ मूल्य निर्धारण

आवेदन दिने अन्तिम मितिको भोलिपल्ट योग्य संस्थागत लगानीकर्तालाई निष्कासित धितोपत्र पूर्णरूपमा बिक्री हुने गरी प्राप्त बोलकबोल कट अफ मूल्य निर्धारण गर्नुपर्ने छ ।

कटअफ मूल्य निर्धारण गरेपछि कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्नेछ ।

कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्नेछ ।

बोलकबोलकर्ताले कबोल गरेको मूल्य कट अफ मूल्यभन्दा कम भएमा त्यस्तो बोलकबोलकर्तालाई धितोपत्र बाँडफाँट गरिने छैन । बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन दिनभित्र फिर्ता गर्नुपर्नेछ ।

कसरी दिने आवेदन ?

सर्वसाधरणले बुक विल्डिङमार्फत आएको सार्वजानिक धितोपत्र खरिदका लागि न्यूनतम ५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । योग्य लगानीकर्ताले पनि यसको बाँडफाँट गर्दा प्रति आवेदक ५० कित्ता नै पाउने गरी बाँडफाँट गर्नु पर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर