सलहेश फूवारी मेला: अनौठो फूल हेर्न कोरोना विर्सिएर उर्लिए सर्वसाधारण – Nepal Press

सलहेश फूवारी मेला: अनौठो फूल हेर्न कोरोना विर्सिएर उर्लिए सर्वसाधारण

जनकपुरधाम । कोरोना भाइरस संक्रमणको जोखिमका विचमा पनि सिरहाको लहान नगरपालिकामा पर्ने सलहेश फूलबारीमा मेला लागेको छ ।  जिल्ला प्रशासन कार्यालय सिरहाले भीडभाड हुने मेला तथा भेला जस्ता कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएका बेला सलहेश मेला भने रोकिएन । भीडभाड गर्दा कोरोना फैलिन्छ भन्ने कुरा विर्सिएर टाढा- टाढाबाट सर्वसाधारण मेला भर्न आइपुगेका हुन् ।
भारतबाट भने यसवर्ष सर्वसधारण तथा श्रद्धालु भक्तजन आएका छैन्न । सिमाबाट गाडी भित्रिन नदिंदा भारतीय नागरिक मेलामा आउन नपाएका हुन् । विगतका वर्षमा भारतबाट मात्रै लाखौं मानिस उर्लिन्थे । गत वर्ष कोरोनाकै कारण मेला स्थगित भएकाे थियो ।
लहान बजारदेखि ४ किलोमिटर पश्चिम–दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको छ–सलहेस फूलबारी । १४ औं शताब्दीका राजा सलहेसको सम्झनामा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप यहाँ प्रत्येक वर्षकाे वैशाख १ गते परम्परागत मेला लाग्छ ।
फूलबारीको मध्येभागमा रहेको हारमको रुखमा अन्य वर्ष जस्तै यस वर्ष पनि माला आकारको सेतो फूल फुलेको छ । आश्चर्य त के छ भने मेलाको भोलिपल्ट अर्थात् वैशाख २ गते दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जान्छ । यही अनौठो फूल हेर्न पनि यस दिन टाढा टाढाबाट मानिस आउने गरेका छन् ।
फूलबारीमा राजा सलहेस र मालिनीको छुट्टा–छुट्टै गहबर (मन्दिर) छ । पूजारी नागेश्वर सिंह धामीका अनुसार मन्दिर पछाडी इनार र बालीगंगा नदी बग्ने गरेको छ । बालीगंगा नदी कहिल्यै सुक्दैन । आजको दिन यस नदीमा हजारौं श्रद्धालु स्नान गर्छन् ।
पुजारी सिंहका अनुसार सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे । राजा सलहेसले मानिकदहमा नुहाउने, फूलबारीमा फूल टिप्ने र सिलहट अखाडामा कुस्ती खेलेपछि कुलदेवीको पूजा गरी कञ्चनगढमा जनताको पीरमार्का सुन्ने गरेका थिए ।
मेला भर्न आउनेहरु सलहेस गहबरमा पूजापाठ गरेर भाकल गर्दा मनोकामना पुरा हुने गरेको पूजारी सिंह बताउँछन् ।  मनोकमना पुरा हुने गरेकै कारण टाढा टाढाबाट मानिसले भाकल गर्न यहाँ आउने गरेको पुजारीको भनाई छ ।
राजा सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरे । सलहेशलाई थुनामा राखेको खबर प्राप्त हुँदा सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् ।
सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष ‘तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखा पर्ने’ भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्ष माला आकारमा फूल बनेर मालिनी देखापर्ने गरेको किम्वदन्ती छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *