प्रचण्ड-माधवमाथि ओलीको आरोप : सरकार कब्जा गर्न नसकेपछि प्रतिगमनको हल्ला (फोटो/भिडियो) – Nepal Press

प्रचण्ड-माधवमाथि ओलीको आरोप : सरकार कब्जा गर्न नसकेपछि प्रतिगमनको हल्ला (फोटो/भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र एमालेबाट निलम्बित नेता माधवकुमार नेपाल पार्टी फुटाएर सरकार कब्जा गर्न खोज्दा असफल भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा लोकतान्त्रिक योद्धालाई सम्मान गर्न अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पार्टी फुटाएर सरकार कब्जा गर्ने महात्वाकांक्षा पूरा नभएपछि प्रचण्ड-माधवले प्रतिगमनको हल्ला चलाएको बताए ।

ओलीले भने- एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आगनमा निस्केर कराउन थाल्छन् । आफ्नै पार्टी फुटाएर, बहुमतको सरकार कब्जा गर्न हिडेकाहरुका कब्जा, काँटा किला सबै फुस्किएपछि प्रतिगमन भनेर हिडेका छन् ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले कहिल्यै केही कुटाई नखाएका, जेल नबसी क्रान्तिकारी कुरा गर्नेहरुले सहिद परिवारका दुःख, घाइतेहरुका दुःख नबुझ्ने बताए । दशकौं लामो समय जेल बस्दाको पीडा आफूले भोगेकोले पीडा कस्तो हुन्छ, आँसुको महत्व कस्तो हुन्छ, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा था भएकैले पीडितका माग सम्बोधन गर्न खोजिएको उनले बताए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले तत्कालिन समयमा माओवादीले हिंसात्मक आन्दोलन सञ्चालन गर्दा समेत आफूले विरोध गरेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनले कहिं पुगिदैन भन्ने कुरा अडानका साथ राखेको स्मरण गरे ।

ओलीले भने- माओवादीले जतिबेला हिंसात्मक आन्दोलन सञ्चालन गर्‍यो त्यस बेला पनि यो कहिं पुगिदैन भनेको हो । परिवर्तनको आकांक्षा जगाएर होमीदिने, उनीहरुको जिन्दगी बर्बाद हुने, उनीहरुको परिवार बर्बाद हुने, उनीहरु मारिने, उनीहरु सहिद हुने, कति अङ्गभङ्ग हुने अनि तिनिहरुका लास माथि टेकेर आफूचाहिं माथि जाने मात्रै काम बन्द गरौं मैले कडाईका साथ त्यस बेला पनि भनेको थिँए । यो आन्दोलन कहाँ पुग्छ भनेर मैले त्यसैबेला भनेको थिएँ । कुनै पूर्वाग्रहबस भनेको होइन ।

सरकारले २०६२/६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवार, घाइते तथा आपाङता भएका र बहिर्गमित पूर्व लडाकुहरुलाई ‘लोकतन्त्रका योद्धा’को रुपमा सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ८१ जना परिवारलाई प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर