कोरोनाले रुवाएको वर्ष निजी क्षेत्रका चहलपहल – Nepal Press

कोरोनाले रुवाएको वर्ष निजी क्षेत्रका चहलपहल

काठमाडौं । २०७७ सालमा कोरोनाले देशका हरेक अंग–प्रत्यङ्गमा हान्यो । त्यसमा पनि सबैभन्दा बढी निजी क्षेत्रका उद्योगी–व्यवसायी नै प्रताडित बने ।

गत वर्ष करिब ९ महिना लकडाउनमा नै बिते । सो समयमा अत्यावश्यक बाहेकका उद्योगधन्दाहरु बन्द जस्तै अवस्थामा रहेका थिए । अत्यावश्यक बस्तु आपूर्तिमा सरकार र निजी क्षेत्रको सहकार्य भएको थियो । सरकारी कम्पनीले समेत सर्वसाधारणको घरघरमा नै सामान पुर्याएका थिए ।

सरकारले कोरोनाको कारण समस्यामा परेका उद्योग र व्यवसायलाई राहत दिन २ खर्बको पुनकर्जा प्याकेज र ५ प्रतिशतमा सहुलीयतपूर्ण कर्जा दिने व्यवस्था गरेको थियो ।

१ प्रतिशत ब्याजमा निर्यातजन्य उद्योग र रुग्ण उद्योगलाई विशेष पुनरर्जा व्यवस्था गरिएको छ । २ प्रतिशत ब्याजमा लघु, घरेलु तथा साना उद्यम कर्जा र ३ प्रतिशत ब्याजमा साधारण पुनरकर्जा दिने व्यवस्थासमेत मिलाइएको छ ।

कोरोनाको कारण अझै पनि ४० प्रतिशत उद्योग बन्द रहेको उद्योग वाणिज्य महासंघको एक अध्ययनले बताएको छ । कोरोनाको कारणले समस्यामा परेको उद्योगधन्दाहरु विस्तारै लयमा आउने क्रममा छन् ।

कोभिड १९ ले तहसनहस बनाएको वर्ष निजी क्षेत्रमा के–कस्ता गतिविधि भए त ? आउनुस, संक्षेपमा चर्चा गरौं ।

महासंघ र चेम्बरमा नयाँ नेतृत्व

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पायो । २०७६ सालमा नै हुनुपर्ने महासंघको चुनाव कोरोनाको कारणले पटकपटक सरेको थियो ।

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बनेका छन् । वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित बनेका छन् । उपाध्यक्षमा दिनेश श्रेष्ठ, रामचन्द्र संघई र अन्जन श्रेष्ठले निर्वाचित भएका थिए ।

यस्तै, निजी क्षेत्रकै सबैभन्दा पुरानो संस्था नेपाल चेम्बर अफ कमर्शले पनि यसै वर्ष नयाँ नेतृत्व पाएको छ । ४ कार्यकाल चेम्बरको अध्यक्ष रहेका राजेशकाजी श्रेष्ठले वरिष्ठ उपाध्यक्षलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका छन् । केही दिनअघि मात्रै चेम्बरको अध्यक्ष, पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

सुलभ अग्रवाल पक्राउ

लकडाउनको समय थर्मल गनमा कालोबजारी गर्ने शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ परे । ३ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्ने थर्मल गनलाई अग्रवालले १५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा अग्रवाललाई पक्राउ गरिएको थियो । अग्रवालको साथबाट ६७ थान थर्मल गन पनि बरामद भएको छ । उनी कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका थिए ।

थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छुट्नासाथै सम्पत्ति शुद्धीकरण विभागबाट पक्राउ परेको थिए । हाल सम्पत्ति शुद्धीकरणले पनि उनलाई छोडिसकेको छ ।

कोरोना कोषमा निजी क्षेत्रको सहयोग

कोरोनाले आघात पुर्याए पनि देशको निजी क्षेत्रले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श र यि संस्थामा जोडिएका उद्योगी र व्यवसायीले केरोना नियन्त्रण कोषमा रकम योगदान गरेका थिए ।

प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्याङकअनुसार निजी र सरकारी संघ–संस्थाहरुले २ अर्ब ६७ करोड सहयोग गरेका छन् । निजी क्षेत्रले आफुहरुले कोषमा सहयोग गरेको रकम पारदर्शी हुनुपर्ने भनेर समेत कुरा उठाएका थिए ।

लकडाउनको ७३ दिनमा व्यापार खुल्ला

नेपाल राष्ट्रिय व्यवसायी महासंघले सरकारको अवज्ञा गर्दै ७३ औं दिनमा सबै प्रकारका व्यापार सञ्चालन गर्ने निर्णय गरेको थियो । बैंकको ऋण, व्याज, घरभाडा लगायतका विषयले व्यवसायीलाई समस्या पारेको भन्दै विहान ११ बजेसम्म पसल सञ्चालन गर्ने निर्णय थियो ।

४४ प्रकारका उद्योग सञ्चालनको अनुमति

सरकारले लकडाउनको दोस्रो महिनाबाट नै ४४ प्रकारका उद्योग सञ्चालनको अनुमति दिएको थियो । लकडाउनका कारण देशको अर्थतन्त्र नै समस्यामा पर्ने भन्दै बैशाख २६ गतेदेखि ४४ प्रकारका उद्योग सञ्चालन गर्न दिने र बिस्तारै बाँकी रहेका अन्य उद्योगहरु सञ्चालन गर्नेे निर्णय सरकारले गरेको थियो ।

निजी क्षेत्रलाई कर तिर्न दबाब

निजी क्षेत्रलाई सरकारले लकडाउनको बीचमा नै कर तिर्न दबाब दिएको थियो । आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर तिर्न सूचनासमेत जारी गरेको थियो ।

सबै घरभित्र बसेको र व्यापार व्यवसाय बन्द रहेको बेला सरकारले कर तिर्ने समय तोकेको भन्दै सामाजिक सञ्जालमा चर्काे विरोध भयो । पछि सरकारले कर तिर्ने समय थप गरेको थियो ।

व्यवसायी एमालेमा प्रवेश

गत चैत ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले २ सय ३५ जना उद्योगी र व्यवसायी प्रधानमन्त्रीको हातबाट खादा र टिका लगाएर पार्टीमा प्रवेश गरे ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघलगायत संस्थाका पदाधिकारीहरु उपस्थित रहेका थिए । कार्यक्रमको व्यवस्थापन प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडले गरेका थिए ।

५ वटा औद्योगीक क्षेत्रको शिलान्यास

सरकारले यस वर्ष ६ दिनमा ५ वटा औद्योगीक क्षेत्र शिलान्यास गरेको छ । फागुन १० देखि १६ गतेको समयमा औद्योगीक क्षेत्रको प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगम मन्त्रीले शिलान्यास गरेका थिए ।

सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको ‘दैजी–छेला औद्योगिक क्षेत्र’ र प्रदेश–१ झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रलाई समेटिएको ‘चीन–नेपाल औद्योगिक पार्क’ को शिलान्यास गरिएको थियो ।

लुम्बिनी प्रदेशको बाँकेस्थित ‘नौबस्ता औद्योगिक क्षेत्र’ र वागमती प्रदेशको मकवानपुरस्थित ‘मयूरधाप औद्योगिक क्षेत्र’ को पनि शिलान्यास गरियो । लुम्बिनी प्रदेशस्थित रूपन्देहीको ‘मोतिपुर औद्योगिक क्षेत्र’ शिलान्यास भयो ।

शिलान्यास भएका औद्योगिक क्षेत्रहरु ५ वर्ष भित्रमा सम्मन्न गर्ने र २५ अर्ब विदेशी लगानी रहने सरकारले बताएको छ ।

अनलाइन व्यापार वर्ष

लकडाउनको कारणले नेपालमा अनलाइन व्यापार वृद्धि भएको छ । अनलाइनबाट घरमा नै सामान पुग्ने र अनलाइनबाट नै पैसा भुक्तानी गर्न सहज बनाइएको वर्षको रुपमा २०७७ साललाई लिइएको छ ।

लकडाउन सुरु भएपछि कपडा, खाद्यान्‍न, फलफूल, तरकारी, औषधि, माछा र मासुसमेत अनलाइनबाट किन्‍न थालिएको छ । उपभोक्ताहरु समेत अनलाइन व्यापारमा आकर्षित भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर