कोरोना त्रासले भारतबाट रित्तो हात फर्किँदै नेपाली – Nepal Press

कोरोना त्रासले भारतबाट रित्तो हात फर्किँदै नेपाली

कैलाली । अछाम जयगढका दीर्घबहादुर साउद घर फर्कँदा पनि उत्साहित छैनन् । अघिल्ला वर्षमा भारतबाट मजदुरी गरेर फर्किँदा परिवारका सबै सदस्यका लागि कोसेली बोकेर पुग्ने उनको झोला यस वर्ष रित्तो छ ।

मजदुरीको लागि भारतको छत्तिसगढ गएका साउद कोरोना त्रासले ३ महिनामै रित्तो हात घर फर्किन बाध्य भए ।

‘लकडाउन हुने डरले रित्तो फर्किएँ’ उनले भने, ‘लकडाउनमा परियो भने अझै समस्या हुन्छ । त्यो भन्दा घरै पुग्न जाति भनेर आएको हुँ ।’

टीकापुरका रामलाल डगौराको झोलामा पनि आफूले प्रयोग गरेका लत्ताकपडा बाहेक केही छैन । उनी ७ महिनापछि घर फर्किएका हुन् । ७ महिना सम्म पनि कोरोना कहरले राम्रो आम्दानी नभएको उनी बताउँछन् ।

छत्तिसगढमा मम बेचेर गुजारा चलाइरहेका डगौराको व्यापार पहिलेको जस्तो छैन । ‘दैनिक ५/६ सयको मात्रै व्यापार हुन थाल्यो’ उनले भने ‘कमाउनै सकिएन घर फर्किएँ ।’

बाजुराका सगुनबहादुर विकलाई कोरोनाले सबै भन्दा बढी मार पारेको छ । २५ वर्षदेखि भारतको नयाँदिल्लीमा चौकीदारीको काम गरिरहेका उनी पहिलोपटक रित्तो हात घर फर्किएका छन् ।

‘केही महिना अघि गएको थिए । कोरोनाको डरले तुरुन्त फर्किएँ ’उनले भने ‘भारतका लकडाउन हुँदैछ । त्यहीँ अलपत्र परिन्छ भनेर हतार हतारमा घर फर्किए ।’

अहिले भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा एक हजार २६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

‘केही दिन बसेर तलब लिएर आएको भए हुने थियो । तर, कोरोनाको धेरै डर छ’ कैलाली मोहन्यायका घनश्याम बगालेले भने ‘सकुशल घर पुगिने आसाले पुरै पारिश्रमिक समेत नलिएर आएका हौँ ।’

भारतमा कोरोनाको संक्रमण बढिरहेको बेला नेपालमा नयाँ वर्ष सुरू हुँदा पनि घर फर्किने नेपालीहरूको संख्या बढी भएको हो ।

सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै बिसु पर्व मनाइने गरिन्छ । बिसु पर्वका कारण पनि घर फर्किनेहरू बढेको त्रिनगर हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले बताए ।

उनले पछिल्लो एक महिनामा मात्रै ३० हजार बढी नेपाली गौरिफन्टा नाका हुँदै घर फर्किएको जानकारी दिए । कञ्चनपुरको गड्डाचौकीबाट पनि त्यतिकै सङ्ख्यामा नेपालीहरू घर फर्किरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर