२०७७ का १० ‘न्यूज मेकर’: डाक्टरदेखि झाँक्रीसम्म ! – Nepal Press

२०७७ का १० ‘न्यूज मेकर’: डाक्टरदेखि झाँक्रीसम्म !

२०७७ साललाई बिदावारी गर्द आजबाट नेपाल नयाँ वर्ष २०७८ मा प्रवेश गरेको छ । बितेको वर्ष नेपाल र नेपालीका लागि खासै सम्झनलायक रहेन । एकातर्फ कोरोनाले देशका सबै अंग-प्रत्यङ्गहरूमा प्रहार भने अर्कोतर्फ देशभित्र राजनीतिक संकट उत्कर्षमा पुग्यो ।

यो वर्ष सञ्चारमाध्यमहरूलाई समाचारको कुनै कमी भएन । कोरोना र त्यसलाई रोक्न गरिएको लकडाउन लामै समयसम्म मिडियाका हेडलाइन बने । त्यसपछि सुरू भयो राजनीतिक उथलपुथल । प्रधानमन्त्रीले गरेको संसद विघटन, त्यसलाई उल्टाउने अदालतको फैसला र फेरि सत्तारुढ दल नेकपाको एकता भंग गर्ने अदालतको अर्को फैसलाको सेरोफेरोमा नेपाली राजनीति रुमल्लिइरहेको छ ।

पात्रहरूको कुरा गर्दा विगतमा जस्तै यो वर्ष पनि राजनीतिक व्यक्तिहरू नै मुख्यरूपमा समाचारमा छाए । प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा वर्षभरि भइरह्यो । अन्य दलका नेताहरू पनि हेडलाइन बनिरहे । यीबाहेक केही पटके घटनाहरू पनि चर्चामा आए, जसले नेपथ्यका केही पात्रहरूलाई छोटो समयका लागि न्यूजमेकर बनाइदिए ।

यहाँ देशका विभिन्न क्षेत्रबाट १० जना पात्रहरूको छनोट गरिएको छ, जो सकारात्मक वा नकारात्मक कारणबाट बितेको वर्ष ‘समाचार निर्माता’बने । यसपाली हाम्रो छनोटमा १० मध्ये ६ जना महिला परेका छन् ।

१०. दिपाश्री निरौला

अभिनेत्री दिपाश्री निरौला यस वर्ष तीब्र विवादमा आइन् । नायक राजेश हमालका विषयमा एक अन्तर्वार्तामा गरेको टिप्पणीलाई लिएर उनको व्यापक ट्रोल भएको थियो ।

अन्तर्वार्तामा दिपाश्रीले राजेश हमालको ‘महानायक’ उपाधिमाथि प्रश्न उठाएकी थिइन्, जुन हमालका फ्यानहरूले सहन सकेनन् । उनीमाथि नानाथरि गालीगलौजको वर्षा भयो । उनले माफी माग्दा पनि विवाद साम्य भएन । अन्त्यमा हमालले दिपाश्रीलाई ‘क्षमा गरिदिन’ आफ्ना फ्यानहरूलाई आग्रह गरेका थिए । त्यसपछि विस्तारै ‘महानायक’को विवाद सेलायो ।

यही विवादले गर्दा दिपाश्रीले एउटा टेलिभिजन कार्यक्रमसमेत गुमाइन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने एउटा कमेडी रियालिटी शोमा उनी जज थिइन् । तर, विवादपछि उनलाई कार्यक्रमबाट हटाइएको थियो ।

दिपाश्रीले सामाजिक सञ्जालमा भद्दा गालीगलौजको शिकार भइरहँदा केही कलाकारहरू उनको समर्थनमा उत्रिए । तर, समर्थन गर्नेलाई पनि हमालका फ्यानहरूले बाँकी राखेनन् ।

९. सपना रोकामगर

म्याग्दीकी चेली सपना रोका मगर यस वर्ष सञ्चारमाध्यमको हेडलाइन बनिन् । बीबीसीले ‘विश्वकै १०० जना प्रभावशाली महिलाहरूको सूचीमा स्थान दिएपछि उनको चर्चा चुलिएको थियो ।

१९ वर्षीया सपनाले आर्यघाटमा शव जलाउने काम गर्छिन् । बेवारिसे अवस्थामा भेटिएका शवहरूलाई दागवत्ती दिएर अन्तिम संस्कार गर्ने कामले उनलाई १०० प्रभावशाली महिलाको सूचीमा पुर्‍याएको हो । त्यस सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री अग्रस्थानमा थिइन् ।

बीबीसीको सूचीमा परेर वाहवाही कमाएकी सपना वर्षको अन्त्यताका भने अर्कैरूपले चर्चामा आइन् । जसले उनलाई आर्यघाटको शव व्यवस्थापनमा ‘गाइड’ गरिरहेका थिए, जसलाई उनी पितासमान भन्थिन्, तीनै व्यक्तिको ब्ल्याकमेलिङको शिकार बनिन् सपना । सपनाका आपत्तिजनक तस्वीरहरू सार्वजनिक गरिदिने भन्दै विनयजंग बस्नेतले उनलाई निरन्तर धम्क्याएपछि सपनाले प्रहरीको शरणमा जानुपरेको थियो ।

आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएको भन्दै सपनाले जाहेरी दिएपछि प्रहरीले विनयजंगलाई पक्राउ गर्‍यो । अहिले उनी ५० हजार धरौटीमा छुटेका छन् ।

८. शेरबहादुर पुन

कोरोनाको महामारीसँगै देशका स्वास्थ्य क्षेत्र सबैभन्दा बढी दबाबमा रह्यो । कोरोनाका सुरूआती दिनहरूमा अस्पताल र चिकित्सकहरू नै त्राहीमाम अवस्थामा थिए । तर, साहस र धैर्यका साथ काम गर्नेहरू कोरोनाकालमा नै हिरो पनि भए ।

कोरोनाले चर्चामा ल्याइदिएका एक स्वाथ्यकर्मी हुन् डा. शेरबहादुर पुन ।

सरुवा रोग विशेषज्ञ डा. पुनलाई सरकारले सञ्चारमाध्यममा बोलेका विषयलाई लिएर स्पष्टीकरण मागेको भन्दै तीब्र प्रतिक्रिया उत्पन्न भएको थियो ।

स्वास्थ्य मन्त्रालयले चाहिँ पुनलाई फोन गर्दा नउठाएपछि पत्र लेखेर अरु नै प्रयोजनका लागि मन्त्रालय बोलाइएको स्पष्टीकरण दिएको थियो । सञ्चारमाध्यमले भने पुनलाई टेकु अस्पतालबाट जबरजस्ती मन्त्रालय तान्न लागिएको दाबी गरेका थिए ।

पछि न सरकारले उनलाई कारवाही गर्‍यो, न पुनले सरकारको । उनी अहिले पनि टेकु अस्पतालमै सेवारत छन् । आफ्नो दैनिक ड्यूटीका अतिरिक्त उनले कोभिडबारे जनचेतना फैलाउने काम गर्दै आएका छन् । टेकु अस्पतालमा पुनले काम गर्न थालेको झण्डै दुई दशक भइसकेको छ ।

७. मनिषा कोइराला

अभिनेत्री मनिषा कोइराला पनि यस वर्षकी एक चर्चित पात्रमध्ये पर्छिन् । तर, उनलाई कलाकारिताले नभएर राजनीतिक/कुटनीतिक विषयले चर्चामा ल्याएको हो ।

मनिषाले भारतद्वारा कब्जा गरिएका भूभागहरूलाई समावेश गर्दै नेपालले सार्वजनिक गरेको नयाँ नक्शाको समर्थनमा ट्वीट गरेकी थिइन् । उक्त ट्वीटलाई लिएर भारतीय सञ्चारमाध्यमहरू मनिषामाथि खनिए । एउटा टेलिभिजनले ‘खाती भारतकी ओर गाती चाइनाकी’ भन्दै समाचार बजायो ।

मनिषाले लामो समय बलिउडमा काम गरेकी थिइन् । उनी एक समयकी चर्चित बलिउड नायिका हुन् । अहिले पनि फाट्टफुट्ट काम गरिरहेकी छन् । तर, यसको अर्थ उनले आफ्नो राष्ट्रियता बिक्री गरेकी होइनन् । भारतीय भारतमा काम गरेकै आधारमा नेपालभन्दा भारतप्रति बफादारिता देखाउनुपर्ने त्यहाँका सञ्चारमाध्यमको आशयमा नेपालीहरूले तीब्र आपत्ति जनाएका थिए ।

६. रामकुमारी झाँक्री

प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित एउटा सभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्या भण्डारी लक्षित टिप्पणीले युवा नेतृ रामकुमारी झाँक्री तीब्र विवादमा आइन् । दोस्रो जनआन्दोलनकी ‘पोस्टर गर्ल’ ले सामाजिक सञ्जलमा निकै ठूलो आलोचना सहनुपर्‍यो ।

अन्ततः प्रहरीले यसलाई कारवाहीको मामिला बनाउँदै झाँक्रीलाई घरबाटै पक्राउ गर्‍यो । तर, दिनभर हिरासतमा बसेर उनी बेलुका छुटिन् । टुँडिखेलको सभामा भाषण गर्दा उनको नाटकीय प्रस्तुतिको पनि चर्चा भयो । विभिन्न भाषण र अन्तरवार्तामा उनले प्रधानमन्त्री केपी ओलीमाथि निरन्तर प्रहार गरिरहिन् ।

तर, यति गर्दा पनि एमालेले कारवाही गर्ने नेताहरूको सूचीमा उनी परिनन् । एमाले बैठकले माधव नेपालसहित प्रमुख ४ नेताहरूलाई स्पस्ष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, झाँक्रीको भने ‘वजन नपुग्ने’ भन्दै ओलीले कारवाहीको लागि समेत योग्य ठहराएनन् । नेकपाबाट एमाले बनेपछि भने झाँक्रीले ओलीविरुद्ध बोलेको सुनिएको छैन ।

५. सरिता गिरी

यो वर्ष सर्वाधिक विवादित पात्रमध्ये पर्छिन् सरीता । जनता समाजवादी पार्टीकी नेतृ गिरीले नेपालको नयाँ नक्साविरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।

नेपालले भारतको कब्जामा रहेका आफ्नो भूभाग समावेश गर्दै नयाँ नक्शा प्रकाशित गर्दा गिरीले त्यसको एक्लै विरोध गरिन् । भारतसँग नसोधि नक्सा प्रकाशित गर्न नहुने अभिव्यक्ति उनले संसदमा समेत दिइन् । साथै, नयाँ नक्सासहितको लोगो परिवर्तनका लागि भएको संविधान संशोधन प्रस्तावमा समेत उनले असहमति राखिन् ।

भारतकी चेली भनेर चिनने गिरी राष्ट्रियताका मुद्दाहरूमा पहिल्यैदेखि सन्दिग्ध छिन् । उनले बारम्बार नेपालको राष्ट्रियताविरोधी अभिव्यक्ति र क्रियाकलाप गर्दै आएकी छन् । यसपालि भने उनले यसको कडै परिणाम भोग्नुपरेको छ । उनको पार्टी जसपाले उनलाई पार्टी र संसदबाट निस्काशन गरेको छ । त्यसयता उनको चुरीफुरी पनि सकिएको छ ।

४. होउ याङ्छी

नेपालको राजनीतिमा यस वर्षका चर्चित पात्रका कुरा गर्दा एक विदेशी नाम पनि छुटाउन सकिन्न । उनी हुन् नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी ।

नेपालको आन्तरिक राजनीतिमा दख्खल नदिने चिनिया राजदूतहरूको परम्परालाई चिर्दै याङ्छीले नेपालमा निकै राजनीतिक सक्रियता देखाइन् ।

खासगरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्पन्न हुँदा र विभाजनको सम्मुख पुग्दा उनको सक्रियता उत्कर्षमा पुगेको थियो । याङ्छीले दुवै पक्षका शीर्ष नेताहरूसँग लगातार भेट गरेर विभाजन रोक्न खुबै जोडबल लगाइन् ।

याङ्छीका भूमिकालाई लिएर नेपालमा दुईखाले मतहरू प्रकट भए । एकथरिले सत्तारुढ कम्युनिष्ट पार्टीको विभाजन रोक्न कम्युनिष्ट देशको प्रतिनिधिका रूपमा लिएको प्रयासलाई सकारात्मक रूपमा नै लिए । फुटाउन खोज्नेभन्दा जुटाउन खोज्नेहरू ठीक हुन् भन्ने खालका धारणा उनको पक्षमा आए । अर्कोतर्फ भारतले जस्तै चीनले पनि नेपालमा माइक्रो म्यानेजमेन्टको अभ्यास गर्न थालेको भनेर आलोचना भयो । जे भए पनि याङ्छीले नेपालमा अहिलेसम्म आएका राजदूततमध्ये सम्भवत: सर्वाधिक चर्चा पाएकी छन् । सामाजिक सञ्जालमा पनि उनी निकै सक्रिय छन् । सामाजिक सञ्जालमार्फत उनले नेपालीहरूको मन जित्ने प्रयास गरिरहेकी छन् ।

३. प्रचण्ड-माधव नेपाल

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले गरेको सडक-सहकार्य पनि यो वर्ष निकै चर्चित बन्यो । प्रदर्शनका क्रममा ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित माइतीघर मण्डलाको सकडमा प्रचण्ड, नेपाल, झलनाथ खनाललगायतका शीर्ष नेता पलेटी कसेर बनेको तस्बिरले खुब चर्चा पायो ।

‘हामी यहाँ छौं’ वाला तस्बिरलाई लिएर स्वयं प्रधानमन्त्री ओलीले पनि कयौं टिप्पणी गरे । ओली कदमविरुद्ध नेकपामा रहेर प्रचण्ड-माधवले देशभर गरेका सडक-सभा र भाषण चर्चामा छाइरहे । सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटनलाई खारेज गरिदिएपछि प्रचण्ड र नेपालले एक-अर्कालाई लड्डु खुवाइदिएको प्रसंगले पनि निक चर्चा पायो ।

प्रचण्ड र नेपालको ‘माया प्रेम’ उत्कर्षमा पुग्दा सर्वोच्च अदालतको अर्को फैसलाले उनीहरूलाई छुट्याइदिएको छ । भौतिकरूपमा उनीहरू अहिले अलग-अलग पार्टीमा भए पनि आत्मिकरूपमा नजिकै नै छन् । प्रचण्डले हालै एक भाषणमा माधव नेपालसँग आफ्नो लभ परेको तर सर्वोच्च अदालतले जबरजस्ती छुट्याइदिएको गुनासो गरेका थिए । भविष्यमा प्रचण्ड र नेपालबीच फेरि एकता हुन सक्ने आँकलन गरिएको छ ।

२. चोलेन्द्रशमशेर जबरा

जोखिम मोलेर साहासिक फैसला गर्ने छविलाई यसपटक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खण्डित हुन दिएनन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमले ध्रुवीकरण बढेर देशै मुठभेडमा गइरहेका बेला राणाले आफ्नो नेतृत्वको संवैधानिक इजलासबाट ११ फागुनमा फैसला गरेर ‘ब्रेक’लगाइदिए ।

पछिल्लो समयमा सर्वाधिक शक्तिशाली प्रधानमन्त्री ओलीले चालेको कदमलाई उनले असंवैधानिक भन्दै बदर गरिदिए । उनको यो देखाएको साहसको सर्वाधिक चर्चा पनि भयो ।

संसद विघटनको मुद्दा वृहत पूर्ण इजलासमा हेर्ने कि संवैधानिक इजलासमा भन्ने बहसलाई किनारा लगाएदेखि नै उनले निर्णायकत्वको छनक दिइसकेका थिए ।

पुस ५ देखि फागुन ११ को दुई महिना राणाका लागि सम्भवतः सबैभन्दा दबाबको समय थियो । किनभने, एकातिर आफ्नो फैसला सदर हुने भन्दै ओलीले अदालतलाई दबाब दिन्थे भने अर्कातिर विपक्षीहरू बदर हुनैपर्ने भन्दै सडकमा प्रदर्शन चर्काइरहेका थिए ।

संवैधानिक इजलासमा सुनुवाइका क्रममा राणाले वकिलहरूलाई सोधेको प्रश्नका आधारमा कतिपयले विघटन सदर गर्ने अनुमान गर्थे र कतिपयले सरकारसँग सेटिङ गरेका कारण फैसला विपक्षमा हुँदैन भनेर ठोकुवा गर्थे । तर, ती सबै अनुमान र आरोप खारेज गर्नेगरी राणाले फैसला सुनाए । एक महिनासम्म चलेको बहसपछि आफ्नो इजलासमा रहेका सबैलाई एकमत बनाएर राणाले गरेको फैसला नेपाली न्यायिक इतिहासमा कोसेढुंगा सावित भएको चर्चासमेत भयो ।

नेकपा एकतालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्धको न्यायिक पुनरावलोकनमा निस्सा नदिने फैसलाले पनि राणालाई चर्चित बनायो ।

१. केपी शर्मा ओली

वर्ष २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओली समाचारको शीर्षक नबनेको सायदै कुनै दिन होला । हास्यरससहितको भाषाण गर्ने कला र विपक्षीप्रतिको आक्रामकताका कारण उनी मिडियामा छाइरहेकै हुन्छन् । प्रतिनिधिसभा विघटन गरेको घटनाले यो वर्ष भने उनी मिडियामा चर्चाको चुलीमै पुगे ।

ओलीको चर्चा नकरात्मक र सकरात्मक दुवै किमिसले भए । नेपाल कम्युनिष्ट पार्टी छँदै उनले प्रतिनिसभा विघटन गरेका थिए । ओली कदमको विरोध गर्न नेकपाकै प्रचण्ड-माधव पक्ष सडकमा ओर्लिएको थियो । कांग्रेसलगायतका दलहरू समेत विरोधमा उत्रिएका थिए । नागरिक सदस्यहरूको नाममा ओलीविरुद्ध आन्दोलन भएको थियो ।

आफ्नो कदमको बचाउमा ओली पनि देशभर सडक-सभा गर्न ओली निस्किएका थिए । ती सभामा ओलीले गरेका भाषणका अंशहरू टिकटकमा समेत निकै चर्चित भएका थिए । विशेषगरी युवा ‘गैरराजनीतिक पुस्ता’ ले उनका भाषण निकै मन पराए । ‘केपी ओली आई लभ यू’ भन्ने नारा ‘ब्रान्डेड’ समेत भयो ।

संसद विघटनको कदमलाई लिएर ओलीको आलोचना र प्रतिरक्षाको शृंखला २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसलाबाट ‘ब्रेक’लाग्यो । यद्यपि ओली समाचार शीर्षक बनिरहेका छन् । अहिले पनि विपक्षीले उनको राजीनामा मागिरहेका छन् । तर, ओली राजीनामा दिन तयार छन्, न विपक्षीले उनलाई जबरजस्ती हटाउन सकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *