प्रधानमन्त्रीको सम्वोधनः कोभिडका बाबजुद २०७७ साललाई निरर्थक हुन दिएनौं – Nepal Press

प्रधानमन्त्रीको सम्वोधनः कोभिडका बाबजुद २०७७ साललाई निरर्थक हुन दिएनौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ को सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । टेलिभिजनबाट प्रत्यक्ष सम्वोधन गर्दै उनले कोभिड-१९ ले पूर्णरुपमा प्रभावित बनाए पनि २०७७ साललाई निरर्थक हुन नदिइएको दावी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीले कोभिड १९ को प्रतिकुल अवस्थामा पनि हामीले धेरै महत्वपूर्ण उपलब्धी हासिल गरेका छौं । यसलाई असफल होइन, सफल वर्ष नै मान्नुपर्छ ।’

उनले हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काइएको, मेलम्चीलाई काठमाडौंवासीका धारामा पुर्‍याइएको लगायत कुराहरुलाई सरकारको सफलताको रुपमा चर्चा गरे ।

सरकारले सही नीतिहरुको अवलम्बनबाट कोभिड १९ को क्षति न्यूनीकरण गर्न सफल भएको पनि उनले बताए ।

‘हामीले धेरै आशा जगाउने काम गरेका छौं । केही पनि भएन भनेर जनतामा असन्तुष्टि जगाउने प्रयास भए पनिसरकार विचलित भएन । सरकारका क्रियाकलापप्रति भरोसा जगाउने कामहरु लगातार गर्‍यौं,’ आलीले भने ।

कोभिडको महामारी न्यूनीकरण हुँदै गए पनि चैतबाट फेरि यसको प्रभाव बढ्न थालेको भन्दै प्रधानमन्त्रीले जनतालाई सजकता अपनाउन आग्रह गरे ।

‘७७ सालको पीडा यस वर्ष दोहोरिन नपाओस । तीव्र संक्रमण र जनधनको क्षति हुन नपाओस, अर्थतन्त्रलाई प्रतिकुल असर पार्न नपाओस भनेर हामी सजग हुनुपर्छ । त्यसैले सरकारले जारी गरेका मापदण्डहरुका पालना गर्न म सबैमा आग्रह गर्छु,’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर