बालकसँग इच्छाविपरित ‘यौन व्यवहार’ गर्ने महिलामाथि बलत्कार मुद्दा चल्ने – Nepal Press

बालकसँग इच्छाविपरित ‘यौन व्यवहार’ गर्ने महिलामाथि बलत्कार मुद्दा चल्ने

काठमाडौं । आफूभन्दा कम उमेरका बालकको ईच्छाविपरीत ‘यौन व्यवहार’ गर्ने वयस्क महिलाविरुद्ध अब उप्रान्त फौजदारी अभियोगमा सरकारवादी मुद्धा चल्ने भएको छ ।

महान्यायाधिवक्ता कार्यालय अन्तर्गतको व्यवस्थापन समितिले ‘वयस्क महिलाले नाबालकलाई यौन दुरुपयोग गरे गराएमा मुद्धा चल्ने’ निर्णय गर्दै सरकारी वकीलहरुलाई निर्देशन जारी गरेको छ ।

समितिको निर्देशनमा यौन दुव्र्यवहार सम्बन्धी कसूर बालिकाविरुद्ध मात्र नभएर बालकविरुद्ध पनि हुनसक्ने भएकाले वयस्क महिलाविरुद्ध पनि बलात्कार कसूरमा मुद्धा दर्ता गर्ने उल्लेख छ ।

समितिको निर्देशनको नवौं बुँदामा ‘मुलुकी अपराध संहिता,२०७४ को दफा २२५ को उपदफा (२) र बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा (२) र (३) मा उल्लेखित जुनसुकै कसूर कुनै वयस्क महिलाले बालक वा बालिका जोसुकै उपर गरेको भएपनि त्यसविरुद्ध उजूरी पर्न आएमा त्यस्ता महिला उपर उक्त कानूनी व्यवस्था अनुसारको कसूरमा अनुसन्धान तथा अभियोजन सम्बन्धी कारवाही गर्ने’, उल्लेख गरिएको छ ।

यसअघि बालकमाथि यौन दूराचारको मुद्धामा महिलाविरुद्ध मुद्धा दर्ता हुन कठीनाई पर्दै आएको थियो । समितिले उल्लेख गरेको बालबालिका सम्बन्धी ऐन, २०७५ को उपदफा २ र ३ मा बालबालिका विरुद्ध हुने कसूरहरुको सूची उल्लेख रहेको छ । समितिको यस्ते निर्देशनपश्चात अब उप्रान्त कम उमेरको बालक वा बालिकाको उजुरी आएमा वयस्क महिला विरुद्ध समेत बलात्कार मुद्धा दर्ता हुन बाटो खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर