खेलक्षेत्र ९ महिना सुनसान, त्यसपछि चलायमान – Nepal Press
वर्ष समिक्षाः खेलकुद

खेलक्षेत्र ९ महिना सुनसान, त्यसपछि चलायमान

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि ठप्प खेलकुद यो वर्षको पुसदेखि सुचारु भयो । करिब नौ महिना कुनै गतिविधि हुन नसकेको खेलकुद अहिले पुरानै लयमा फर्किँदैछ ।

कोरोनाका कारण बीचैमा रोकिएको फुटबलको बी डिभिजन लिग, थ्री नेसन्स कप, क्रिकेटको महिला-पुरुष प्रधानमन्त्री र मेयर कपसँगै मार्सल आर्ट्स, एथ्लेटिक्स र नेटगेम्सले खेल क्षेत्रलाई चलायमान बनाएका छन् ।

प्रतियोगिता त निरन्तर प्रक्रिया नै थिए । तर, यो वर्ष २०७७ मा नेपाली फुटबलमा एउटा नयाँ अभ्यासको सुरुआत भयो, फ्रेन्चाइज लिगका लागि अक्सन । क्रिकेटमा विगतका वर्षहरूदेखि नै अभ्यासमा रहेको अक्सनमार्फत् खेलाडी किनबेचको परम्परा वैशाखमा हुने नेपाल सुपर लिगले पनि अपनायो ।

त्यस्तै, नेपाली राष्ट्रिय फुटबल टोलीले पनि लामो समयपछि घरेलु मैदानमा उपाधि जित्यो । कोरोना भाइरसको महामारीपछि अन्य खेलका अन्तर्राष्ट्रिय प्रतियोगिता भएनन् । तर, राष्ट्रिय प्रतियोगिताले भने स्थान पाए । केही चर्चित प्रतियोगिता र खेलकुसँग सम्बन्धित गतिविधि यस्ता छन्ः

१. थ्री नेसन्स कपको आयोजना र च्याम्पियन

लगातार आठ अन्तर्राष्ट्रिय खेलमा गोलविहीन नेपालले गोलको खडेरीसँगै लामो समयदेखि उपाधि क्याबिनेटको सन्नाटा चिर्दै नेपालले थ्री नेसन्स कपको उपाधि घरेलु मैदानमै उचाल्यो । बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यु २३ टोली सम्मिलित प्रतियोगिताको उपाधि नेपालले जितेको हो । राष्ट्रिय टोलीले घरेलु मैदानमा च्याम्पियन बनेसँगै एन्फाबाट १ लाख र सरकारको पक्षबाट ४ लाख पनि प्राप्त गरेको छ ।

आइपिएलमा सन्दिप अनुपस्थि

नेपालीका लागि यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल)का तीन सिजनको चार्म यो वर्षको तुलनामा बेग्लै थियो, कारण सन्दीप लामिछाने । पछिल्लो तीन वर्षसम्म दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका सन्दीप लामिछाने यो वर्ष बिक्री भएनन् ।

दिल्लीसँगको तीन वर्षको सम्झौता टुङ्गिएसँगै अक्सनमा समावेश भएका सन्दीपलाई कुनै टोलीले भित्र्याएनन् । र, त्यो नेपाली क्रिकेट र समर्थकका लागि निराशाजनक खबर थियो । सन्दिप अन्य देशका लिगहरुमा भने खेलिरहेका छन् ।

महिला-पुरुष प्रधानमन्त्री कप र मेयर कप

कोरोना भाइरसको बन्देज हटेसँगै नेपाली क्रिकेटले पिकअप लियो । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितासँगै गतिविधि सुरु गरेको क्रिकेटले छोटो अवधिमा पुरुष–महिलाको प्रधानमन्त्री कप र मेयर कपको पनि सफल आयोजना गरेको थियो ।

आरबीबी-एनभीए भलिबल

नेपाल भलिबल संघको आयोजनामा आरबीबी-एनभीए लिग महिला तथा पुरुष लिग राष्ट्रिय भलिबल च्याम्पियनसिपको सफल आयोजना गर्यो । नेपाली राष्ट्रिय स्तरका प्रतियोगितामा विभागीय टोलीको दबदबा चिरेको यो भलिबलले हेल्प नेपाल र न्यु डायमन्डलाई च्याम्पियन बनाउँदै प्रतियोगिताको सफल आयोजना गर्यो ।

सावित्राको १२ गोल

नेपाली महिला फुटबलकी सर्वकालिन सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी सधैँ चर्चित नाम हो । विगतका वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कारणले चर्चा बटुल्दै आएकी सावित्राले यो वर्ष एकै खेलमा १२ गोल गरिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सम्पन्न राष्ट्रिय महिला लिगमा चौदण्डिगढी नगरपालिकाविरुद्ध एपीएफ क्लबले २२–० को जित निकाल्दा सावित्रा एक्लैले १२ गोल गरेकी थिइन् ।

यसबाहेक विभिन्न प्रतियोगिता आयोजना भए । तर, विगतका वर्षहरूमा बाह्रै महिना चलायमान हुने नेपाली खेलकुद यो वर्ष छिटपुट प्रतियोगितामा मात्रै सीमित रह्यो । तीनै सीमित गतिविधिबाट केही ‘इन्सिडेन्ट’ ले मात्रै चर्चा पाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर