सिँचाई पोखरी बन्दा स्थानीय खुशी, ७ लाख बजेटमै बनाइयो दुई पोखरी – Nepal Press

सिँचाई पोखरी बन्दा स्थानीय खुशी, ७ लाख बजेटमै बनाइयो दुई पोखरी

सुर्खेत । दैलेखको आठबीस नगरपालिका -६ राँतामा ७ लाख बजेटमा दुई पोखरी निर्माण गरिएको छ । पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रीनन्द खनालले बजेट अभावकै बीचमा दुई पोखरी निर्माण गरेर एक सय भन्दा धेरै घरधुरीलाई पुग्ने पानी जम्मा भएको हो ।

कृषि विकास कार्यालय दैलेखले चालु आर्थिक वर्षमा यो सिँचाईका लागि सात लाख विनियोजन गरेको थियो । त्यसभन्दा अघि आठबीस नगरपालिकाले सिचाई कुलो निर्माण गरिदिएको थियो । उक्त पाइपलाइनका लागि नगरपालिकाले नौ लाख भन्दा बढि बजेट खर्च गरेको थियो ।

‘सिँचाइ पोखरी निर्माण भएको छ । अब घेरबार लगाउने बजेट भएको भए हुने थियो । घेरबार नगरेको खण्डमा बालबालिका डुब्ने खतरा छ ।’ उनले भने, ‘त्यसकालागि पहल गर्न आग्रह गर्दछु । दैलेखको कृषि विकास कार्यालयले रकम थप गर्ने अपेक्षा गरेको छु ।’

स्थानीय बलबहादुर थापाले पोखरी निर्माण गजबको भएको नेपालप्रेससँग प्रतिक्रिया दिए ।

‘अब कम्तिमा पनि सिँचाई गरेर तरकारी खेतिमा आत्मनिर्भर भइन्छ । बजेट थोरै भएपनि काम असाध्यै राम्रो भएको छ ।’ उनले भने, ‘एक पोखरी निमार्णका लागि आएको बजेटमा हामीले दुइ वटा पोखरी निर्माण गरेका हौं ।’

गाउँमा नै दुई वटा सिँचाई पोखरी निर्माण भएपछि खेति राम्रो हुने अपेक्षा स्थानीय प्रेम विकको छ । ‘तरकारी सिचाई गर्न पानी नपाईदा समस्या भएको थियो । यहि पानीको सहयोगमा अब अन्न बालीको उत्पादन बढने अपेक्षा हाम्रो छ ।’

अन्यत्र दश लाख रुपैंयामा एक पोखरी निर्माण गर्ने गरिएको भएपनि सात लाखको बजेटमा दुइ ओटा पोखरी निर्माण हुनु खुशीको कुरा भएको स्थानीय नौले विकको भनाई छ । ‘काम राम्रो भएको छ । गुणस्तरीय पोखरी निर्माण भएका छन् । अब घेरबार भइदिएको भए राम्रो हुन्थ्यो ।’ उनी भन्छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर