नयाँ वर्षमा भारतबाट पूर्वराजाको सन्देश : मेची-महाकाली, देश बचाउने हाम्रो पाली – Nepal Press

नयाँ वर्षमा भारतबाट पूर्वराजाको सन्देश : मेची-महाकाली, देश बचाउने हाम्रो पाली

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नयाँ वर्षको अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश दिएका छन् । नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने उनको सन्देश छ ।

पूर्वराजाको शुभकामना सन्देशमा राजनीतिक विषयमा समावेश छैन । उनले देशमा एकता र समृद्धिको कामना गरेका छन् ।

‘एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ,’ पूर्वराजाको सन्देशमा भनिएको छ, ‘हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला होइन । सबैको एउटै उद्देश्य र एउटै कामना हुनुपर्छ ।’

पहिले देश, अनि मात्र आफू भन्न भावना हुनुपर्नेमा पूर्वराजाले जोड दिएका छन् । सन्देशमा थप भनिएको छ, ‘हामीले कर्तव्य पूरा गर्‍यौं भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रब्यूबाट बाहिर आउनैपर्छ । मेची महाकाली– देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो– सानतन हाम्रो संस्कार हो । न जाती न भाषा– सबै नेपालीको एउटै आशा ।’

हेर्नुहोस् पुर्णपाठ:
नेपाली दिदीवहिनी तथा दाजुभाइहरु,

आज हामी अर्को नयाँ वर्ष विक्रम सम्वत् २०७८ मा प्रवेश गर्दैछौं । सदाझैं हामी नेपालभित्र र विश्वका विभिन्न भुभागमा रहे बसेका समस्त नेपालीहरुमा सूख, शान्ति तथा समुन्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

हरेक तिथि, बार बित्दै जाँदा नयाँ वर्ष आउँदै जान्छ, स्वभावत हरेक नयाँ वर्षमा सुख, सम्मून्नति, शान्ति र सन्तूष्टिको अपेक्षा हाम्रो रहन्छ । तर समय बित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै जान्छन् । कालक्रममा यस्तो हुनु हुन्न र नेपाली जनताको आकांक्षा पुरा हुँदै जानु पर्दछ भन्ने हाम्रो कामना हो ।

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनु पर्दछ । यसका निम्ति आपसी भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त्य हुनुपर्छ, अनि समन्वय, सामञ्जस्य पनि रहनुपर्छ । हाम्रा पिता–पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझा वारी नेपाललाई सबै मिलेर स्याहारसुसार गर्नु र सजाउनु छ । यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विना भेदभाव र विना संकोच मिलेर जानु छ । अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता हो । टाठाबाठा मात्र सुखी, सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमूखा सर्व साधारणको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्दति पनि त्याग्नैपर्ने हुन्छ ।

नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण गरौं जूटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ । हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन । सबैको एउटै उद्देश्य हुनु पर्दछ । एउटै कामना हुनुपर्दछ । देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ ।

पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ । हामीले कर्तव्य पुरा गर्‍यौं भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ । मेची महाकाली–देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो– सनातन हाम्रो संस्कार हो । न जाती न भाषा ( सबै नेपालीको एउटै आशा । पहाडका गाउँ–गाउँमा आधुनिकताको लहर बिस्तार गरौं, तराईका फाँटहरुलाई भूलाउँ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔं, जडिबुटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौं ।

यिनै भावनाकासाथ नयाँ वर्ष साँच्चिकै नयाँ रहोस् (नयाँ वर्षले वास्तवमै हाम्रा सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याओस् ।

श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *