सीमामा कमजोर स्वास्थ्य सर्तकता, छैन प्रभावकारी चेकजाँच – Nepal Press

सीमामा कमजोर स्वास्थ्य सर्तकता, छैन प्रभावकारी चेकजाँच

रुपन्देही । भारतमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेपछि नेपाल आउनेको संख्या दिनहुँ बढिरहेको छ । रुपन्देहीको बेलहिया नाकाबाट नेपाल फर्कनेहरूको लाइन छ ।

तर नाकामा  स्वास्थ्य मापदण्डविनै आउजाउ बढ्दो छ । सुनौली-भैरहवा नाकामा स्थापना गरिएको हेल्थडेस्कमा आवश्यकता अनुसारको जनशक्तिसमेत छैन । हेल्थडेस्कमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीले कोरोना जोखिम नियन्त्रणका लागि अपनाइनुपर्ने सुरक्षाका मापदण्ड तथा अन्य व्यवस्थापनबारे नागरिकलाई सजग गराएका त छन् । तर त्यो पर्याप्त छैन ।

नाकाबाट नेपाल-भारत ओहोरदोहोर गर्ने यात्रुको चाप अत्यधिक छ, यसको तुलनामा जनशक्तिको अभावले स्वास्थ्य सुरक्षाका प्रभावकारी हुन सकेका छैनन् ।

बेलहिया नाकामा राखिएको हेल्थ डेस्कमा नेपालमा काम गर्न आउने भारतीय नागरिक र भारतमा रोजगारी गरी फर्कने नेपालीको तामक्रम नाप्ने गरिए पनि मालबाहक गाडी र दैनिक उपभोग्य सामान खरिदारीका लागि सुनौली बजार पुगेर फर्किने नेपालीको चेकजाँच भने हुन नसकेको स्वास्थ्यकर्मी अनिलकुमार यादवले बताए ।

बेलहिया नाकाबाट मात्रै दैनिक ५ सय बढी मालबाहक गाडी नेपाल भित्रिन्छन् । ती गाडीका चालक र सहचालकको तापक्रमसमेत जाँच हुँदैन । यस्तै, भारतीय बजार सुनौलीमा खरिद गर्ने नेपालीको संख्या नगन्य छ । उनीहरूको स्वास्थ्य चेकजाँच हुँदैन । न त कुनै स्वास्थ्य मापदण्ड नै अपनाउँछन् ।

यसले गर्दा नेपालमा कोरोनाका संक्रमण बढ्ने खतरा पैदा भएको छ । बेलहिया नाकामा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीले राखेको रेकर्डअनुसार पछिल्लो एक हप्तामा ४ हजार बढी रोजगारीका लागि भारत पुगेका नेपालीहरु फर्किएका छन् ।

आइबार र सोमबार मात्रै करिब ९ सय नेपाली स्वदेश फर्किएका छन् ।

नेपालमा भारतबाट काम गर्न आउनेहरू पनि उत्तिकै छन् । बेलहिया नाकामा सिद्धार्थनगर नगरपालिकाका समन्वयमा हेल्थडेस्क स्थापना गरी तीन जना स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य चेकजाँच गरिँदै आएको छ ।

दुई हप्ताअघि भारतबाट रोजगारीका लागि नेपाल आउँदै गरेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म तापक्रम बढी देखिएका ५० जनाको एन्टिजेन जाँच गरिएको छ ।

बढ्दो संक्रमणसँगै अस्पतालको तयारी
लुम्बिनी प्रदेश सरकारले रुपन्देहीमा दुई वटा कोरोना विशेष अस्पताल बनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पताल बुटवलस्थित धागो कारखानामा रहेको र भैरहवामा रहेको भीम अस्पताललाई पनि कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा राखिएको छ ।

बुटवलको कोरोना अस्पतालमा सोमबार एकैदिन तीन जना संक्रमितको मृत्यु भयो ।

रुपन्देही तिलोत्तमा नगरपालिका-१ कि महिला, अर्घाखाँची मालारानी गाउँपालिकाकी महिला र कपिलवस्तु बाणगंगाका पुरुषले ज्यान गुमाए । तीनै जनामा स्वासप्रश्वासमा समस्या, ज्वरो, निमोनिया जस्ता एकै प्रकारका लक्षण थिए । यससँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या एक सय २४ पुगेको छ ।

केही महिनायता सुनसान बनेका कोरोना विशेष अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । असोजअघि कोरोना संक्रमणबाट मृत्यु हुने दर तीव्र थियो । तर केही महिनायता कोरोना संक्रमणबाट मृत्यु हुने संख्या न्युन त भयो । अहिले पुनः बढ्न थालेको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार धागो कारखानाको कोरोना अस्पतालमा गत माघ तेस्रो साता मृत्यु हुनेको संख्या एक सय १५ थियो । त्यसको एक महिनाभन्दा बढी समयपछि फागुन २५ मा मात्र एक जना थपिए र एक सय १६ पुग्यो ।

२५ दिनको अवधिमा ४ जना थपिएर चैत्र २० गते मृत्यु हुनेको संख्या एक सय २० पुग्यो । त्यसयता आइतबार एक जना र सोमबार एकैपटक ३ जनाको मृत्यु भएको हो ।

कोरोना अस्पतालमा आइसियुमा भर्ना हुने विरामीको संख्या थपिएको अस्पतालका प्रवक्त डा विष्णु गौतमले बताए । बुटवलको कोरोना विशेष अस्पतालको आइसियुमा चैत २० गते २ जना मात्र भर्ना भएका थिए । केही महिना यता कहिले शुन्य र बढीमा ३/४ जना मात्र भर्ना भएको अवस्था थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले आइसियुमा बिरामी बढ्नसक्ने भएकाले प्रदेशका चार वटै कोरोना अस्पतालहरू त्यसको लागि तयार रहेको बताए ।

उनले भारतमा संक्रमण बढिरहेकाले अब सबै निकाय चनाखो र सक्रिय हुनुपर्ने बेला आएको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर