माओवादीले सरकारविरुद्ध नारा लगाउनुको औचित्य छैन : ऊर्जामन्त्री – Nepal Press

माओवादीले सरकारविरुद्ध नारा लगाउनुको औचित्य छैन : ऊर्जामन्त्री

रुपन्देही । ऊर्जामन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य टोपबहादुर रायमाझीले सरकारलाई दिएको समर्थन फिर्ता नलिइ माओवादी केन्द्रले सडकमा सरकारविरुद्ध नारा लगाउनुको कुनै औचित्य नभएको बताएका छन् ।

‘सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि सडकमा रोइ कराइ गर्नुको कुनै अर्थछैन,’ गृहजिल्ला अर्घाखाँचीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा रायमाझीले भने ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैंले प्रस्ताव गरेका प्रधानमन्त्री केपी ओलीको विरोध गर्नु प्रचण्डको राजनीतिक विचलन भएको मन्त्री रायमाझीको टिप्पणी थियो । उनले प्रचण्डलाई राजनीतिक विचलनमा आएर ओलीलाई गाली गर्न लागेको आरोप लगाए ।

माओवादी केन्द्रलगायतका अन्य दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म ओली सरकार रहिरहने बताउँदै मन्त्री रायमाझीले सरकार ५ वर्षसम्म रहिरहने बताए ।

प्रचण्डले देशलाई अस्थिरतातर्फ लैजानका लागि विभिन्न शक्ति केन्द्र धाएर विभिन्न चलखेल गरे पनि त्यो सपना पूरा गर्न नसक्ने बताउँदै उनले जनताको म्यानडेट लिन यही सरकारले चुनाव गराउने दाबी गरेका छन् ।

नेता रायमाझीले प्रचण्डले जनताले चुनेर दिएको आफ्नो पद खोसेर जनादेशको अपमान गरेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर