महामारीपछिको शिक्षण बहस- तीन दिन स्कुल र तीन दिन अनलाइन गरे के हुन्छ ? – Nepal Press

महामारीपछिको शिक्षण बहस- तीन दिन स्कुल र तीन दिन अनलाइन गरे के हुन्छ ?

इटहरी । अंग्रेजी भाषाका शिक्षकहरूको संगठन नेल्टा सुनसरी शाखाले इटहरीमा महामारीपछिको शिक्षणबारे बहस गरेको छ ।

इटहरीको बगान रेस्टुरेन्टमा आइतबार भएको गोलमेच बहसमा शिक्षकहरूले आफ्ना अनुभव सुनाए । तीन दर्जन शिक्षक, प्राध्यापकदेखि शैक्षिक क्षेत्रका अभियानकर्मीसमेत गोलमेचमा सहभागी भए ।

महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्राध्यापन गर्ने डा .रामजी तिमल्सिनाले कोरोनाअघिको पढाइ र अनलाइन पढाइमा फरक पाएको बताए । महामारीपछिको शिक्षण बहस अनलाइन कक्षापछिको बहस जस्तै भएको तुलना गर्दै डा. तिमल्सिनाले भने, ‘कक्षाकोठामा अराजक विद्यार्थी पनि अनलाइन कक्षामा भद्र देखिए । कक्षामा अरुसँग बसेर हलचल गर्ने उनीहरू अनलाइनमा एक्लै भएर बसे ।’

अनलाइन कक्षामा सहभागी कम देखिए पनि उपस्थित सबैले ध्यानपूर्वक पढाइमा रुचि देखाएको तिमल्सिनाले बताए । महेन्द्र क्याम्पस धरानमै प्राध्यापन गर्ने इन्दिरा मिश्रले पनि भर्चुअल र भौतिक कक्षाबीचको सिकाइ फरक भएको बताइन् ।

इटहरीको जनता बहुमुखी क्याम्पसका अध्यापक विष्णु कार्कीले अनलाइन कक्षाले हुनेखानेलाई मात्रै समेट्ने भन्दै हुँदा खाने र दुर दराजका विद्यार्थी नसमेटिएकाले सर्वमान्य कक्षा नभएको तर्क गरे ।

पूर्व शिक्षकसमेत रहेका सुनबर्सी नगरपालिका मोरङका शिक्षा अधिकृत हरि कट्टेलले आफ्ना गाँउका विद्यार्थीलाई रेडियो र टेलिभिजनमार्फत् पढाइएको बताए । आफ्नो कार्यक्षेत्रमा ५ प्रतिशतबाहेक कसैको घरमा इन्टरनेट नभएकोले महामारीको समयमा पनि प्रिन्ट सामग्री वितरण गरेको कट्टेलले सुनाए ।

बहसमा काठमाडौंबाट सहभागी हुन आएका पूर्व नेल्टा केन्द्रीय अध्यक्ष तथा हाल नेल्टा सल्लाहकार हेमन्तराज दाहालले अब पढाइको पद्धति फेरबदल हुनुपर्ने तर्क गरे । ‘हप्तामा छ दिनै विद्यालय गएर कक्षा लिनुपर्ने भन्ने के छ?’, दाहालले भने, ‘तीन दिन कक्षामा र तीन दिन अनलाइन कक्षा लिँदा हुँदैन?’

दुई तीन घण्टाको परीक्षाले विद्यार्थीहरूको सही मापन हुन नसक्ने दाहालले बताए । कोभिड-१९लाई अनपेक्षित संयोग भन्दै दाहालले यस्ता दुःखान्त अरु पनि आउन सक्ने भन्दै अबको शैक्षिक पूर्वाधार र शिक्षण प्रणाली सोही अनुसार धान्नसक्ने हुनुपर्ने बताए ।

उनले भने, ‘अबको शिक्षण, शैक्षिक पूर्वाधारदेखि परीक्षा प्रणाली सबै परिवर्तन हुनुपर्छ ।’ पाठ्यक्रममा भएको कुरा पढाउने र विद्यार्थीले सोधेका प्रश्न शिक्षकले तत्काल भनिदिएर विद्यार्थीमा खोज र छलफलको वातावरण नबन्ने खालको अहिलेको शिक्षण पद्धति भएको दाहालले बताए ।

उनले भने, ‘पढाउने पाठ्यक्रममा आधार भएर हो । तर, पाठ्यक्रम मात्रै पढाउने हैन । विद्यार्थीलाइ सिर्जनशील र खोजमूलक बनाउने हो ।’

साँझ पाँच बजेपछि सुरु भएको बहस गर्ने नेल्टा सुनसरी अध्यक्ष रवीन बरालले महामारीपछिको पहिलो कार्यक्रमनै गोलमेच भएको बताए । उनले भने, ‘हामीले अनलानइन कार्यक्रम त धेरै गर्यौं । तर अफलाइन भने यो महामारीपछिको पहिलो हो । अनुभव आदानप्रदानमा यो महत्वपूर्ण रह्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर