गण्डकीमा जनमोर्चा संसदीय दलका नेता भन्छन्ः पीएसलाई समर्थन कायम छ – Nepal Press
नेपाल टक

गण्डकीमा जनमोर्चा संसदीय दलका नेता भन्छन्ः पीएसलाई समर्थन कायम छ

पोखरा । नेकपा माओवादीले गण्डकी प्रदेश सरकारबाट आफ्ना २ मन्त्री फिर्ता बोलाउँदै सरकारबाट बाहिरिएको छ । १२ सदस्यीय सांसद रहेको माओवादी केन्द्र सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता लिएको छैन ।

माओवादीले समर्थन फिर्ता लियो भने पनि आफूसँग जनमोर्चाको साथ रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सुरक्षित महसुस गरेका थिए । तर, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ‘अब सरकारलाई साथ दिन नसकिने र विकल्पलाई साथ दिने’ अभिव्यक्ति दिएपछि भने अहिले सत्ता राजनीति ‘नयाँ मोड’मा पुगेको छ ।

यता सत्ताको साँचो हातमा बोकेको जनमोर्चा आफैं स्पष्ट हुन सकेको छैन । पार्टीकी सांसद पियारी थापा नयाँ सरकारका लागि पेश हुने अविश्वासको प्रस्तावलाई साथ दिने बताइरहेकी छिन् । तर, जनमोर्चाका संसदीय दलका नेता सांसद कृष्ण थापा भने आफू मुख्यमन्त्रीकै पक्षमा रहेको बताउँछन् । अन्य पार्टीलाई साथ दिएर सत्ता समीकरणमा नजाने उनको भनाइ छ । नेपाल प्रेससँग कुरा गर्दै सांसद थापाले भने, ‘हाम्रो नयाँ कुरा छैन । अहिलेको सरकारलाई नै समर्थन कायम छ ।’ थापासँगको संक्षिप्त कुराकानीः

प्रदेशबाट माओवादीले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएपछि अहिले प्रदेश सरकारमा नयाँ सत्ता समीकरण सुरु भएको छ । तपाईंहरुको निर्णय नै अन्तिम हुने देखियो । जनमोर्चाको खास रणनीति के हुन्छ अब ?

ए..माओवादीले समर्थन फिर्ता लिइसक्यो र ?

अहिलेसम्म त छैन । तर, अरु दलसँग साझेदारी सुरु भइसक्यो नि ?

हाम्रो नयाँ कुरा केही छैन ।

भनेपछि अहिलेकै सरकारलाई समर्थन कायम छ भन्न खोज्नु भएको हो ?

अहिलेसम्म अहिलेको सरकारलाई हाम्रो समर्थन कायम नै छ । अब नयाँ कुरो भनेको अहिले सरकारमा जाने कुरा छैन । अब नयाँ परिस्थिति प्रदेश सभामा देखियो भने एक सेकेन्डमा निर्णय गरिन्छ ।

भनेपछि अन्तिम अवस्था मात्रै निर्णय गर्ने तपाईंको रणनीति हो ?

हो ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले यो सरकारलाई साथ दिन सकिँदैन, विकल्प खोज्ने भनिसक्नुभयो नि ?

समर्थन गर्न सकिँदैन र फिर्ता लिइहाल्छौं भन्ने कुरा त फरक होला नि !

प्रदेशमा पनि तपाईंकै सांसदहरुले अविश्वासको प्रस्तावमा साथ दिन्छौं, हस्ताक्षर गर्छौं भन्नुभयो । खास पार्टीको कुरो चाहिँ के हो ?

कहाँ गर्ने रे हस्ताक्षर ? अविश्वास प्रस्ताव दर्ता गर्नका लागि १५ जना भए पुग्छ भन्ने उहाँलाई थाहा छैन रे ? तर, अविश्वासको प्रस्तावमा साथ दिने भन्ने कुरा मलाई थाहा छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर